राष्ट्रपतिले नाम मागे

काठमाडौ, ९  मंसिर । राष्ट्रपति डा. रामवरण यादवले १४ मंसिरभित्र सहमतिका आधारमा प्रधानमन्त्रीको नाम सिफारिस गर्न राजनीतिक दललाई आह्वान गरेका छन् । शुक्रबार राष्ट्रपति यादवले ‘संवैधानिक प्रावधानको कर्तव्यसमेत बोध गर्दै अन्तरिम संविधानको धारा ३८(१) अनुरूप’ सहमतिको सरकारको प्रधानमन्त्री र मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।
जनचाहनाअनुरूप संविधानसभाद्वारा संविधान निर्माण गर्ने सर्वाेच्च अदालतको आदेशलाई समेत ध्यानमा राखी आफूले राजनीतिक र संवैधानिक निकासका लागि पटक–पटक गरेका प्रयासका बाबजुद पनि राजनीतिक सहमति नभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘राजनीतिक दलका नेता तथा प्रतिनिधिसँग सामूहिक एवं व्यक्तिगत रूपमा पटक–पटक छलफल गर्दा पनि राजनीतिक तथा संवैधानिक निकास निस्कन र प्रधानमन्त्रीको चयन हुन नसकेकाले नेपालको अन्तरिम संविधान ०६३ को धारा ३६–‘क’को संवैधानिक प्रावधानको कर्तव्यसमेत बोध गर्दै नेपालको अन्तरिम संविधान ०६३ को मर्मलाई दृष्टिगत गरी धारा ३८ को उपधारा १ बमोजिम संबत् ०६९ साल मंसिर १४ गते बिहीबारका दिन दिनको १६.०० बजेसम्म राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफरिस गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नु भएकाले यो विज्ञप्ति प्रकाशित गरिएको छ’ राष्ट्रपति कार्यालयका तर्फबाट प्रवक्ता हरिकुमार श्रेष्ठले जारी गरेका केवल एक वाक्यको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति यादवले संविधानसभाको कार्यकाल समाप्त भई व्यवस्थापिका संसद्समेत नरहेका अवस्थामा अर्काे मन्त्रिपरिषद् गठन नहुन्जेलसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेबारे गत जेठमै यो सरकारलाई जानकारी गराइसकिएको स्मरण गरेका छन् ।

प्रतिक्रिया