बजारका खाद्यपदार्थ : चिकित्सकका दृष्टिमा

नेपालको खाद्यबजारमा बासी, सडेगलेका, मिसावट गरिएका, विषादि लगाइएका, धूलो लागेका, झिगा भन्किरहेका, म्याद सकिए पनि लेबुलमा मात्र म्याद अद्यावधिक गरिएका खाद्य सामाग्री पाइनु सामान्य भइसकेको छ । बजारका सबै बस्तु खराबमात्र छन् र ब्यापारीहरू बेइमान मात्र छन् भन्ने मेरो भनाइ होइन । सच्चा ब्यापारी र सही बस्तु पहिल्याउन उपभोक्तालाई कठिनाइचाहिँ निश्चय नै परिरहेको छ । एउटा चिकित्सकका साथै उपभोक्ताका हैसियतले खाद्यबजारमा गइरहँदा आफूले देखेभोगेका, लामो सरकारी सेवामा रहँदा पाइएका सूचना र त्यस्ता अखाद्य पदार्थ खाएर बिमारी भई आफ्नो क्लिनिकमा आएका बिरामीसँग गरेको कुराकानीका आधारमा मैले यसबारे धेरथोर जानकारी हासिल गरेको छु । सहरी क्षेत्रका मानिसलाई हुने मुख्य साझा रोग ग्यास्ट्रिक तथा पेटका हुन् । आउँ, झाडा–पखाला, हैजा, टाइफाइड, जन्डिस, जुका, अम्लपित्त, वाकवाकी लाग्ने, खान अरूचि, खाना नपच्ने, पेट वा आन्द्रा फुल्ने, शरीर अत्यन्त तात्ने वा ज्वरांश हुने, आलस्य लाग्ने जस्ता धेरै समस्याहरू पानी तथा खाद्यपदार्थबाट उत्पन्न हुने रोग हामीकहाँ व्यापकरूपले भइरहन्छ । पेटका रोगनै अन्य रोगको शुरूवात हो भन्ने तथ्यलाई ध्यानमा राखेर हामी एकछिन् बजारका
(अ)खाद्यपदार्थमाथि दृष्टिपात गरौँ त, हेर्दा राम्रो र खाँदा मीठो वस्तुमा हामी के खाइरहेका छौँ ।
दूधमा पानी मिसाउनु त अब दूधब्यापारीको मानवअधिकार जस्तै भइसक्यो । उपभोक्ताले पानीमा दूध होइन दूधमा पानी मिसाउ तर खानेपानी मात्र हालिदेउ, नाली वा कुलोको पानी नमिसाइदेउ भनी अनुरोध गर्नुपर्ने अवस्था आएको छ । चामल वा आँटामा स–साना ढुंगा, दालमा खेसरी, कालो मरिचमा मेवाका दाना, महमा चिनीको चास्नी, खुर्सानीको धूलोमा इँटाको धूलो मिसाइएको, बेसारमा पहेँलो रंग मिसाइएको समाचार आइरहन्छ । काठमाडौँ उपत्यकाका घिउ ब्यापारीकहाँ ठुल्ठूला भाँडामा उसिनेको आलु राखेको तपाईं देख्न सक्नुहुन्छ । खारेको घिउमा उसिनेको आलुृ वा बनस्पति घिउ मिसाए त शरीरलाई त्यति हानी नगर्ला, तर जनावरको बोसो मिसाएको घिउ भनिने वस्तुले गर्ने हानी गम्भीर हुन्छ । त्यस्तो ‘घिउ’ बजारमा भरमार पाइन्छ । अधिकांश रेस्टुराँ वा म:म: पसलमा बेचिने म:म:मा के हालिन्छ ? कुखुराको छाला, आन्द्राभुँडी, कलेजो, फोक्सो, बिक्री नहुने मासु, पानीको चरम अभाव भएर नपखालिएको बन्दाकोभी, काउलीका डाँठ आदि हुन्छन् । सबभन्दा बूढा, रोगी र अस्वस्थ खसी–बाख्रा सस्तो मोलमा धेरै सेकुवापसलमा पुग्ने गर्छन् । चर्को मसला, स्वाद बनाइदिने रसायन (अजिनोमोटो आदि) र अस्वस्थकर तेलले त्यसलाई स्वादिलो बनाइदिएको भ्रम हुनसक्छ । राजमार्गको एउटा चमेनागृहमा अघिल्लो दिन बिक्री नभएको चना धारामा पखाली तताएर भोलीपल्ट फेरि बेच्न राखिएको पनि देखिएको छ । मिठाइहरूलाई आकर्षक बनाउन अखाद्य र विषालुृ रंङ लगाइदिने, कुहिनथालेका बेसन वा मैदा आदिबाट अत्यन्त घटिया मसला, रङ र चिल्लोपदार्थका साथ मिठाइ बनाएर बेच्ने, खाना बनाउने ठाउँ र भाँडाकुँडा अत्यन्त फोहोर हुनु सामान्य कुरा जस्तै भइसके ।
‘सरकारी दूध’मा पनि सिकायत बढेर आएको छ । दुग्ध विकास संस्थानको दूध प्रशोधन प्लान्ट अत्याधुनिक हो । त्यहाँ एक न्युजिल्यान्डर प्राविधिक कन्सल्टेन्ट कार्यरत रहँदासम्म संस्थानद्वारा उत्पादित चिसो दूध पनि मजाले पच्दथ्यो । जब ती बूढा न्युजिल्यान्डर कार्यकाल सकेर स्वदेश फर्किए, तब त्यही दूध हाम्रा पेट हुक्का भैँm गुडगुडाउने बन्नपुग्यो । आज छ्यास्छ्यास्ती खुलेका ‘डेरी’हरूमध्ये अधिकांशले कास्टिक सोडा, बोसो आदि पदार्थको चिल्लो र स्टार्च मिसाउने गरेको जानकारी सर्वत्र फैलिएको छ । संस्थानकै दूध नुनिलो हुनथालेको सिकायत आइरहन्छ । ‘मिनरल वाटर’ का नाममा बेचिने अधिकांश बोतलको पानी त्यति नै दूषित तथा असुरक्षित पाइएको छ । मिनरल वाटर भन्दैमा बोतलको पानी निस्फिक्री चलाउनु पेटसम्बन्धि अनेक समस्याको जोखिम बोक्नुमात्र हुन्छ । सहरी क्षेत्रका अधिकांश चियापसलहरूले ब्यापारीद्वारा घरमै ल्याइदिएको प्राय: सस्तो चियापत्ती चलाउने गर्दछन् । गुणस्तरका दृष्टिले यो अर्को समस्या हो । यसै त हामीले पिउने परम्परागत चियाले ग्यास्ट्रिक समस्या बढाइरहेको देखिन्छ । ललितपुरको लेले, काठमाडौंको साँखु र त्रिशुलीतिर एउटा वनस्पती पाइन्छ, जसका पातबाट पनि चियापत्तीजस्तै रातो रङ निस्कन्छ । कुरा दुईदशक अघिको हो, त्यस्तो पत्ताको ‘चिया’ खाने हुँदा काठमाडौंमा एउटा परिवारकै मृत्यु भएको थियो भन्ने सत्यकथा कतिपय स्थापित चियाब्यापारीहरू सुनाउने गर्दछन् । झाँस वा ‘एर्जिमोन मेक्सिकाना’ भनिने तोरीजस्तै विषालु तेलहन मिसाएको ‘तोरीको तेल’ बजारमा भरमार बिक्री भइरहेको हुन्छ । तोरीको तेलजस्तै गन्ध दिने रसायन हालेपछि सामान्य ग्राहकलाई ठगिएको थाहा नहुनसक्छ । एर्जिमोन मेक्सिकाना नेपालको तराईमा पनि पाइन्छ भनी वनस्पतिविद्हरू बताउँछन् । यस्तो विषालु तेलहनले ड्रप्सी नामक रोग लगाउँछ । एर्जिमोन मेक्सिकानाको विषाक्त तेल लगातार चलायो भने एक–दुईहप्तापछि ड्रप्सी रोग देखापर्न थाल्दछ । सुरूमा ज्वरो आउँने, वान्ता हुने, पखाला चल्ने, त्यसपछि क्रमश: हातखुट्टा सुनिन थाल्ने, मुटु पनि कमजोर हुने, सास फेर्न गाह्रो हुने, छाला फुस्रो हुनाको साथै फुल्ने, रक्तनलीमा स–साना रगतका फोका बन्ने र स–सानो ठक्करले गर्दा समेत रगत बग्नथाल्ने हुन्छ । आँखामा जलबिन्दुका लक्षण पनि देखापर्दछ । ड्रप्सी रोगको विशेष उपचार छैन, लक्षणका आधारमा उपचार गरिन्छ । यसमा बढी प्रोटिनयुक्त खानेकुरा दिने, नुन सकेसम्म कम गर्ने हुन्छ । काँक्रा, लौका, सिमी, बोडी, साग आदि सब्जीमा छर्किएको विषादिको मात्राले गर्दा खान हिचकिचाहट हुन्छ । फलफूलमा केरा, आँप, भारतीय मेवा, स्याउ आदिमा अनेक विषादि र रसायन लगाएको पाइन्छ ।
डिस्टिलरीका रक्सीहरूका नक्कली उत्पादन बजारमा छयास्छयास्ती बेचिन्छन् । युवाहरूले पिउने ‘इनर्जी ड्रिंक ‘रेड बुल’ कहाँ कहिले बनेको हो, उत्पत्तिको मुलुक र उत्पादन मिति छैन । यहाँ त बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूकै त्यही हालत छ । उपभोगको म्याद सकिएका अधिकांश उत्पादन नेपालमा पठाइन्छ भन्ने सूचनालाई गलत भन्न सकिन्न । त्यस्ता उत्पादनमा ‘नेपालमा मात्र बेच्नको लागि’ भनेर लेख्नुको नियत ठीक देखिन्न । औषधि व्यापारमा त्यही रोग छ । नक्कली औषधिहरूले बजारमा अतिक्रमण गरेका छन् । यस्ता औषधि उत्पादकहरूले बढीभन्दा बढी मुनाफा दिएर बिक्रेताहरूलाई आकर्षित गराइरहेका हुन्छन् । तयारी सामान, खासगरी खाद्यपदार्थमा उत्पादित मिति, उत्पादक मुलुक, कम्पनीको पूरा नाम र ठेगाना, सिकायत वा सुझावका लागि सम्पर्कको माध्यम, उत्पादित वस्तुमा हालिएका घटक तत्त्व, साकाहारी वा मांसाहारी आदि गुणभेद, उपभोगको म्याद, ब्याच नम्बर सही रूपमा जान्न पाउनु उपभोक्ताको अधिकार हो । खाद्यपदार्थमा अखाद्य पदार्थको मिसावटभन्दा जघन्य अपराध केही हुन्न भन्ने विकसित मुलुकका बजारको मान्यता मात्र होइन, कडा कानुनी प्रावधानबाट बजार सञ्चालित यथार्थ हो । दुईवर्ष अघि बच्चाको दूधमा मेलामाइन भन्ने तत्त्व मिसाउने चिनियाँ कम्पनीका मालिकलाई चीन सरकारले मृत्युदण्ड नै दिएको तथ्य सम्झौँ । हाल सरकारी निकायबाट चलिरहेको छापा मार्ने, अनुगमन गर्ने, त्यस्ता सामग्री नष्ट गर्ने र दोषी ब्यापारीलाई कारबाही गर्ने सह्राहनीय कार्यमा शिथिलता आएको उपभोक्ताको नाताले अनुभव हुनथालेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्राविधिकहरूले खाद्यपदार्थको विश्लेषण गरेर हानी वा हितकर छुट्याइदिन्छन्, तर कारबाही गर्नेले कहिलेकाहिँ सतही रूपमा लिइदिँदा अनुगमन तथा निरीक्षणलाई निरास बनाइदिन सक्छ ।

प्रतिक्रिया