थ्री–स्टार र जावलाखेल स्तब्ध

काठमाडौं, ७ मंसिर । नेपाली फुटबलका स्टार खेलाडीको जमघट रहेको थ्री–स्टारले मंगलबारदेखि सुरु सहिद स्मारक ए–डिभिजन लिग फुटबल प्रतियोगितामा पनि कमजोर सुरुआत गरेको छ ।
मनाङ–मस्र्याङ्दीमा रहेका चार राष्ट्रिय खेलाडीलाई भित्र्याएपछि उपाधि दाबेदारका रूपमा यसपटक बलियो सम्भावना भएको टोलीका रूपमा हेरिएको थ्री–स्टारले बुधबार भएको आफ्नो पहिलो खेलमा सरस्वती क्लबविरुद्ध २–१ ले पराजय व्यहोर्‍यो । अघिल्लो दिन उपाधि दाबेदार मनाङ–मस्र्याङ्दी र नेपाल पुलिस बराबरीमा रोकिएको पृष्ठभूमिमा उदीयमान क्लबका रूपमा प्रस्तुत मच्छिन्द्रले भने बुधबार जावलाखेलविरुद्ध ५–१ ले जित हात पार्दै ठूला क्लबविरुद्ध धावा बोलेको छ ।
अधिकांश कम परिचित खेलाडीको प्रभाव रहेको सरस्वतीका लागि चार विदेशी खेलाडीको बलमा सानदार सुरुआत गर्ने क्रममा कप्तान कृष्णगोपाल श्रेष्ठले ६०आँै मिनेटमा निर्णायक गोल गरेका थिए । राष्ट्रिय टिममा पहिलो रोजाइका डिफेन्डरद्वय सन्दीप राई र विराज महर्जनसहितको रक्षापंक्तिले गरेको फितलो प्रदर्शनका बीच कृष्णगोपालको गोलमा सरस्वतीले दोस्रोपटक खेलमा अग्रता मात्र लिएन, जित पनि सुनिश्चित गर्‍यो ।
मनाङ–मस्र्याङ्दीमा गएका सन्दीप, विराजसहित सन्तोष साहुखल, विजय गुरुङलाई यसै वर्ष टिममा फर्काए पनि थ्री–स्टारले घरेलु फुटबलमा कमजोर प्रदर्शन गरिरहेको छ । केही महिनाअघि राजधानीमा सम्पन्न एनसेल कपमा थ्री–स्टार समूह चरणमै सीमित भएको थियो ।
कम अनुभवी प्रदीप हुमागार्इंको प्रशिक्षणमा रहेको थ्री–स्टारले दोस्रो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि पूर्वविजेता टोलीको फिनिसिङ कमजोर रह्यो । ८२आँै मिनेटमा अफ्रिकन स्ट्राइकर भिक्टरले खाली पोस्टमा गोल गर्न सकेनन् । सरस्वती गोलकिपर अशोक बराललाई विट गरेर अगाडि बढेका भिक्टरको प्रहारले गोलपोस्टको फ्रेम समात्न सकेन ।
अनुभवी ध्रुव केसीको प्रशिक्षणमा केही साताअघि मात्र आएको सरस्वतीले सुरुआतदेखि नै विपक्षीलाई रोक्न सफल भयो । ४३औँ मिनेटमा रमेश घिसिङले सानदार क्रसमा हेडमार्फत गोल गर्दै थ्री–स्टारलाई स्तब्ध बनाएका थिए । बायाँ फ्लान्कबाट अनिल थापामगरले गरेको क्रसमा सेकेन्ड बारमा अनमार्क रहेका रमेशले हेडमार्फत आकर्षक गोल गरेका थिए । दोस्रो हाफको सुरुआतदेखि सुधारिएको प्रदर्शन गरेको थ्री–स्टार खेलमा फर्कन प्रयासरत रहे पनि रमेश डंगोलले आत्मघाती गोल गरेपछि थ्री–स्टार ५०आँै मिनेटमा बराबरीमा पुगेको थियो । विदेशी खेलाडी लोक्तान र एलिआसको प्रदर्शन सरस्वतीको जितमा निकै प्रेरणादायी रह्यो ।

मछिन्द्रको सानदार जित
बुधबारको दोस्रो खेलमा आफ्ना पूर्वखेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि जावलाखेल पराजित भएको हो । गत संस्करणमा जावलाखेलले उत्कृष्ट प्रदर्शन गरेपछि यस वर्ष मछिन्द्रले त्यस क्लबबाट नौ खेलाडी भित्र्याएको थियो । मछिन्द्रलाई जित दिलाउन जावलाखेलबाट आएका विशाल राई ए र हिमालयन शेर्पाबाट भित्रिएका दीपक राईले समान दुई गोल गरे । जावलाखेलले १३औँ मिनेटमा व्यहोरेको दोस्रो गोल भने विवेक बस्नेतबाट आत्मघाती रहेको थियो । दोस्रो हाफमा मछिन्द्र केही अवसरमा चुके पनि त्यसले टोलीको सानदार जितमा भने कुनै फरक पारेन ।

प्रतिक्रिया