स्वास्थ्यकर्मीद्वारा तालाबन्दी

धनकुटा, ७ मंसिर । क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा कर्मचारीको सरुवा पारदर्शी र नियमसंगत नभएको भन्दै स्वास्थ्यकर्मीका संगठनहरूले बुधबार अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
कर्मचारीको सरुवा व्यवस्थित र पारदर्शीरूपमा नगरी अनियमितता र ढाकछोप गर्ने काम भएको भन्दै विभिन्न ६ कर्मचारी संगठनले कार्यालयमा तालाबन्दी गरेका हुन् । अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संघ, स्वास्थ्यकर्मी संगठन, स्वास्थ्यकर्मी युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, स्वास्थ्य प्राविधिक संगठन र मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले संयुक्तरूपमा निर्देशनालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले स्वास्थ्य विभागका महानिर्देशकले राजीनामा दिनुपर्ने, अनियमितरूपमा भएको सरुवा बदर गरिनुपर्ने लगायतका १२ बुँदे माग अघि सारेका छन् । स्वास्थ्यकर्मी संगठनले आफूहरूले उठाएका माग सम्बोधन नभएसम्म तालाबन्दी जारी राखिने जनाएका छन् । यसैबीच तालाबन्दीका कारण क्षेत्रीय स्वास्थ्य निर्देशनालयले अस्थायी कर्मचारीका लागि बोलाएको अन्तरवार्तामा सहभागी हुन विभिन्न जिल्लाबाट आएका परीक्षार्थी मारमा परेका छन् । तालाबन्दीका कारण अन्तरवार्ता स्थगन भएपछि आक्रोशित परीक्षार्थीले तत्काल अन्तरवार्ता सुचारु नभए तालाबन्दी तोड्ने चेतावतीसमेत दिएका थिए । यता कर्मचारीहरूले भने माग पूरा नभए बिहीबारबाट पूर्वाञ्चलका सम्पूर्ण जिल्ला स्वास्थ्य कार्यालयसमेत बन्द गर्ने जनाएका छन् ।

प्रतिक्रिया