जीवित रहेछन् गंगालालहरु

पछिल्लो समयमा नेपालको राजनीतिक वृत्तमा शृंखलाबद्ध बन्दै गएको छ– बाघेझापड । विजयादशमी तथा दीपावलीपछिका दिनमा छठको आगमनकै मुखमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा फेरि एक बाघेझापड प्रचण्डको सुकोमल मुखाकृतिमा बज्रन पुग्यो । झापड प्रवृत्ति कानुनी र सभ्यताका हिसाबले अति खराब प्रवृत्ति हो । यो प्रबृत्ति रोकिनुपर्छ । यसले निरन्तरता पाउनु हुँदैन ।
जंगलको राजा सिंहलाई हुँडारहरूले घेरेर संकटको फन्दामा पारेको हामीले विभिन्न टिभी च्यानलमा देखेका थियौँ । महान् दार्शनिक तथा समाजवादी संघर्षका नायक लेनिनलाई सन् १९२१ मा एउटी महिलाले गोली वर्षाएको पनि थाहा थियो । तिनै गोलीको रापले लेनिनको सन् १९२४ मा देहान्त भएको थियो । भारतका राष्ट्रपिता तथा अहिंसावादी नेता महात्मा गान्धीलाई गोड्से भन्ने एउटा व्यक्तिले छद्म भेषमा गोली हानी हत्या गरेका थिए । अमेरिकी राष्ट्रपति निक्सन केनेडीलाई पनि गोली हानी हत्या गरिएको थियो । यस्ता घटना विश्व राजनीतिक वृत्तमा धेरैपटक भए । श्रीलंकाको गृहयुद्धमा राष्ट्रपतिसमेत सिकार भएका थिए । अन्य देशमा पनि अनेकौँ प्रकृति र प्रकारका घटना राष्ट्रप्रमुख, राष्ट्रपिता तथा राष्ट्रिय नेताहरूमाथि भएका छन् । अझ मुस्लिम देशहरूमा यस्ता घटना धेरै हुने गरेका छन् । अफ्रिकी मुलुकमा यसअगाडि धेरैपटक यस्ता घटना भइसकेका छन् ।
पाकिस्तानमा कयौँपटक आत्मघाती आक्रमणबाट राष्ट्रप्रमुख तथा सरकार प्रमुखको हत्या भएको इतिहास छ । बंगलादेशका प्रथम राष्ट्रपति तथा मुजिबर रहमानको पनि यसरी नै हत्या गरिएको थियो । त्यसपछिका राष्ट्रपति तथा सार्कका संस्थापक जिहाउ रहमानलाई बंगलादेशको चटगाउँमा हत्या गरिएको थियो । भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी तथा उनका छोरा राजीव गान्धीको पनि यस्तै आपराधिक तबरबाट हत्या गरिएको इतिहास छ । राज्य तथा सत्ता प्राप्तिका लागि परापूर्वकालदेखि सत्ता आरोहण र सत्ता अवरोहण प्राय: हिंस्रक बाटोबाट नै प्राप्ति भएको पाइन्छ । नेपालमा जंगबहादुरले हिंसाको माध्यमबाट नै सत्ता प्राप्ति हुन्छ भन्ने मान्यता लिएर एक सय चार वर्ष शासन गर्ने वातावरण बनाए । सुख, सयल र मोजमस्तीमा आफू र आफ्नो सत्ता जोगाउन निहत्था धेरैलाई बली चढाएका थिए । कुन षड्यन्त्रबाट कसको सत्ता कतिखेर समाप्त हुन्छ भन्ने ख्याल गर्नुभन्दा अगावै सत्ता आरोहण गर्नेहरू हिंसाद्वारा सत्ताच्युत हुने बाटो रोजेर सत्तामा आसीन बनेका हुन्थे । सोही बाटोबाट उनीहरूको सत्ता अन्त्यष्टि भइरहेको थियो । हिंसाको माध्यमबाट प्राप्त सत्ता टिकाउन हिंसाकै साहरा लिनुपर्छ । साथै उक्त सत्ता फाल्नका लागि अर्को समूहले पनि हिंसालाई साधन बनाउनै पर्ने हुन्थ्यो । त्यहाँ आदर्श, विचार, सिद्धान्त सबै मरेका हुन्थे । सबै विचार र सिद्धान्तको हत्या भएको हुन्थ्यो । त्यो समयमा लोककल्याणकारी राज्यको परिकल्पना केवल दिवासपना मात्र सावित हुने गर्थे ।
नेपालको वर्तमान राजनीतिमा हिंसाको राजनीतिले प्रश्रय पाउन थालेको छ । यदि हिंसालाई राजनीतिक सिद्धान्तमा व्याख्या विश्लेषण गर्ने हो भने महानतम दार्शनिकहरूको मानमर्दन गरेको हुनेछ । लहड र सनक कदापि सिद्धान्त हुन सक्दैन । खुसमा एउटा अभिव्यक्ति र नाखुसमा अर्को अभिव्यक्ति दिने व्यक्ति पनि कदापि राजनीतिमा आउन हुँदैनथ्यो । यस्ता अभिव्यक्तिले प्रश्रय पाउने गर्छ भने त्यो राजनीतिले हिंसाको बाटो समात्ने मौका पाउँछ । जनतालाई भन्दा असल दर्शनको साहरा लिने तर सत्ताचाहिँ खराब विचारबाट सञ्चालन भयो भने पनि हिंस्रक राजनीतिको जन्म हुन्छ । त्यसमा राजनीतिलाई बुझ्ने र त्यसलाई व्यवहारमा उतार्ने समूह नेतृत्व व्यक्ति आदिले भूमिका खेलेको हुन्छ । वर्गसंघर्षको नाममा दिइएको बलिदानी संघर्षको समयमा देखाइएका मीठा सपना भाँचिएपछि चिरिएका घाउमा झनै पीडा थपिन्छ । त्यही घाउ चहर्‍याउँदै गर्दाको अवस्थामा आफ्नै नेताले ठीक विपरीत राजनीतिक बाटो लिएर गयो र विपरीत सत्तामा आसीन हुन पुग्यो भने अनर्थ हुनजान्छ । आफ्नो नीति जतिसुकै राम्रो छ भनेर बिगुल फुक्न लगाए पनि, यो संविधान लोककल्याणकारी छ भनेर अलापे पनि, थुप्रै भ्रमको जादु देखाउन कोसिस गरे पनि, जनहितकारी संविधान छैन र जनताको आवश्यकता सम्बोधन भएन भने निरन्तर जनसंघर्ष चलिरहन्छ । त्यसको ख्याल नगरी सत्तामा लिप्त विश्वका त्यस्ता सत्तालिप्साधारीलाई जनताले गलहत्याएकै छन् । नेपालको बर्तमान सत्ताधारी पार्टी र सत्ता पाइन्छ कि भन्दै अलापविलाप गरी हिँडेका सत्ता बाहिरका पार्टीले अब जनतालाई निरास बनाइसके । उनीहरू फेरि जनता उठ्नेछैनन् भन्ने आसय लिएर सत्ता भागबन्डाको राजनीतिलाई अगाडि सारिरहेका छन् । तिनीहरूले यो पनि सोच्न जरुरी छ कि जबजब जनआवश्यकताको सम्बोधन हुँदैन जस्तोसुकै अवस्थामा रहेका जनता भए पनि सुतेको बाघझैँ उठेर जाइलाग्नेछन् । संसद् भवनमा सभामुखले पाएको जुत्ताको आक्रमण, पूर्वमा देवी रेग्मीले पार्टी प्रमुखलाई दिएको झापड, पार्टी प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका सभापतिलाई मेच झापड र हालै पदम कुँवरले पार्टी अध्यक्षलाई दिएको बाघेझापडमा धेरै भिन्नता देखिन्छ । ती झापडका मर्म र मान्यता पनि फरकफरक पाइन्छ । उनीहरूले दिएका झापडका उद्देश्य पनि नितान्त फरक हुन सक्छन् तर आक्रमणको प्रकृति भने एउटै छ । त्यो हो जनताको आवश्यकतालाई सम्बोधन नगरी कुर्सीमा लिप्त नेताहरूलाई गरिने दण्ड । अब राजनीतिमा यो पुष्टि हुन्छ कि भ्रम र भ्रमको खेती कहिले सफल हुनेछैन । र, हुन दिनु पनि हुँदैन ।
नेताजीहरूले सबैभन्दा बढी समय भ्रम दिनमा खर्चेका छन् । यस्तो बानीलाई नेताले छोड्नैपर्छ । यही नछोडेका कारणले झापडको शृंखला नरोकिएको हो । गोल्छे, रेग्मी र बस्नेतले गरेको बाघे आक्रमण र कुँवरले गरेका आक्रमण फरक फरक छन् । देवीले गरेको आक्रमणमा थुनिएका देवीलाई झलनाथले सहृदय माफी दिएका थिए । त्यसको कारण थियो आक्रमणपछि देवीलाई जनताले अभिनन्दन गरिदिए । पछि, बाध्यकारी परिस्थिति पैदा भएकै कारणले माफी दिई जेलबाट छोड्न झलनाथ बाध्य भएका थिए । सुशीललाई मेच उठाउने बस्नेत निर्घात पिटाइमा परे । तर, त्यो घटनामा कुनै प्रतिक्रियाले धेरै समय लिन पाएन । त्यसलाई सुशीलले सामान्य रूपमा लिए । त्यो घटना एउटा लाखे र ख्यालीको जस्तो मात्र देखियो । यो कांग्रेसको राजनीति गान्धीवादी चरित्र पनि हो र त्यसैले ठूलो रूप लिएन । तर, आफूलाई जंगलको सिंहजस्तो ठान्नेलाई जंगलकै हुँडारले दिएको ताजनको ताजचाहिँ त्यो सिंहले सहन गर्ला जस्तो छैन । उसको पार्टीको वक्तव्य, प्रवक्ताको भनाइको आसय र त्यसपछि नेता तथा कार्यकर्ताको भनाइको आसयले किटानी गरिरहेको छ । यो झापड जनताको निराशा र विद्रोहको अभिव्यक्ति हो भन्नेमा उनीहरू विश्वास गरिरहेका छैनन् । त्यो पार्टीका नेताहरू अझै आफ्नो पार्टीमात्र जनताको पार्टी हो भन्न रुचाउँछन् । अब उसले जनविश्वास प्राप्त छ भन्ने भ्रम नपालेमा उसकै राजनीति राम्रो हुने थियो । विश्लेषण गर्नुपर्ने के छ भने उसले लिएको गलत राजनीतिलाई सहयोद्धाहरूले मान्नैपर्छ भन्ने हुँदैन । असल आदर्शवादी चिन्तनले मात्र समाजलाई परिवर्तन गर्न सकिन्छ । नीतिच्युत भएकाहरूले असल जमातलाई एकाएक काल्पनिक बिल्ला भिराई कारबाही गर्‍यौँ भन्दै आजसम्म भ्रम दिन सफल भए । अहिले ती कारबाहीमा परेका विचारकहरूको जमात ठूलो छ । देशलाई बदल्न तमाम समस्यालाई थाँती राखी आफ्ना सबै आर्थिक र सामाजिक जीवनलाई समाप्त पारेकाहरूलाई पाखा लगाउन सफल त्यो मण्डलीले विदेशी कूटनीतिज्ञ र मित्र राष्ट्रहरूलाई दिएको भ्रम अब कसरी छोप्न सक्ला र ? धेरै असल व्यक्तिलाई यातनै–यातना दिएर दानवीय तबरले जिउँदै तड्पाएर हत्या गर्दा त्यो प्राणी हो, त्यसलाई दुख्छ भन्नेसमेत थाहा पाएनन् । यी महान् नेताले पाएको झापडको उपहारले यातनामा पीडा हुन्छ भन्ने बोध भएमा नेपालमा अर्को असल राजनीतिको सुरुआत अवश्य हुनेछ । यहाँ झापड खानेप्रति सहानुभूतिभन्दा पनि झापड हान्ने पदम कुँवरप्रति जनताले सहानुभूति देखाए । यसको बलियो प्रमाणका रूपमा फेसबुकमा २६ हजार लाइक पदम कुँवरले पाएकाले पनि घामजतिकै छर्लंग हुन्छ । जे होस्, धर्मभक्त, दशरथ चन्द, गंगालाल, शुक्रराज शास्त्री र लखन थापालाई सम्झाउने जुन प्रयास जो–कसैले गर्‍यो, त्यसलाई वर्तमान राजनीतिमा एउटा साहसिक र अभिनन्दन गर्न योग्य बनेको चाँहि सही सत्य हो । तर, असल नेतालाई झापड हानियो भने त्योचाहिँ अपराध हुनेछ ।

प्रतिक्रिया