थ्री–स्टार गुनमुनेलाई उपाधि

एकतप्पा (इलाम), २७ कात्तिक । युनाइटेड थ्री–स्टार गुनमुने चिसापानीले इलामको एकतप्पामा सम्पन्न खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सिकारी भञ्ज्याङको खेलमैदानमा भएको फाइनल खेलमा गुुनमुनेले रेडहर्स फुटबल क्लब इलामलाई २–० ले पराजित गर्‍यो ।
प्रतिस्पर्धात्मक रूपमा भएको खेलमा मध्याह्नपछि विजेता टोलीले दुवै गोल गरेको हो । ४७औँ मिनेटमा गुनमुनेका मुन्ना सुब्बाको पासमा हेडमार्फत सन्दीप मगरले व्यक्तिगत गोल मात्र गरेनन्, गुनमुनेलाई सुरुआती अग्रता पनि दिलाए । त्यसको १५ मिनेट पनि बित्न नपाउँदै खेलको ६२औँ मिनेटमा गुनमुनेकै जीवन राईको पासमा विकास लिम्बूले गोल थपे ।
उपाधिसँगै गुनमुनेले नगद ७० हजार रुपियाँ हात पार्‍यो भने उपविजेतामा सीमित रेडहर्सलाई ३५ हजार रुपियाँ मिल्यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी उपविजेता रेडहर्सका मनोज सुब्बाले नगद एक हजार रुपियाँ पाए भने उत्कृष्ट गोलरक्षक विजेता गुनुमनेका तीर्थ रिजाल, अनुशासित टिम आगे सुब्बा युवा क्लब सालबारी झापा र प्रतियोगिता अवधिभर ५ गोल गरेका विजेता गुनमुनेका सन्दीप मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे । उनीहरू प्रत्येकले एक हजार रुपियाँ हात पारे ।
राष्ट्रिय ए डिभिजनका क्लबमा खेल्ने खेलाडीहरूको बाहुल्यता रहेको युनाइटेड थ्री–स्टारले प्रतियोगितामा आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएको थियो । खेल अहिलेसम्मकै उत्कृष्ट र रोमाञ्चक भएको दर्शकले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया