बेपत्ताका परिवार झन् आहत

नेपालगन्ज, २२ कात्तिक । सशस्त्र द्वन्द्वकालमा माओवादी र सरकार पक्षले बेपत्ता बनाएका नागरिकका आफन्तमा बदलाको भावना बढ्दै गएको छ । द्वन्द्व सकिएको लामो समय बित्दासमेत बेपत्ता आफन्तको अवस्था अज्ञात हुनु र बेपत्ता पार्नेहरू खुलेआम हिँडडुल गर्दासमेत उनीहरूमाथि कुनै कारबाही नभएपछि बेपत्ता आफन्तमा यस्तो भावना बढ्दै गएको हो ।

प्रचलित कानुनअनुसार बेपत्ता पार्ने कार्यमा सहभागीलाई कारबाही हुने आस मर्दै गएपछि बेपत्ताका आफन्त आफँै मिलेर कारबाही गर्नुपर्ने बताउन थालेका छन् । ‘बेपत्ता पार्नेलाई बेपत्ता बनाउनुपर्ने’ आवाज उनीहरूले उठाइरहेका छन् ।
एक्लो छोरालाई द्वन्द्वकालमा माओवादी आरोपमा सेनाले बेपत्ता पारेपछि बेसहारा बनेकी बाँके वनकटुवाकी पूर्णादेवी गिरीलाई अझै छोरा फर्काइदिन्छन् कि भन्ने आस छ । गिरीले ‘छोरा मरेको छ कि बाँचेको छ’ बताइदिन सरकारसँग माग गरिन् ।
‘मलाई छोराको कि लास कि सास देऊ,’ गिरीले भनिन्, ‘नत्र म पनि मेरो छोरा बेपत्ता बनाउनेलाई बेपत्ता बनाइछाड्छु ।’ एक्लो छोरालाई विनाकारण बेपत्ता बनाएपछि आमा बेसहारा बनेकी छन् । उनले भनिन्, ‘सरकारदेखि आइसिआरसीसम्मले केही गरेनन् । उल्टो बेपत्ता पार्ने पुरस्कृत भइरहेका छन् ।’ न्याय पाउने कुरामा सबैले धोका दिएको भन्दै उनले भनिन्, ‘अब कि आपँैmले त्यस्ता अपराधीलाई कारबाही गर्नुपर्‍यो कि त भगवान्ले दण्ड दिऊन् भनेर हात जोड्नुपर्‍यो ।’
सुर्खेत साटाखानीकी देवीकला पौडेल पनि सरकारसँग आक्रोशित छन् । ‘बेपत्ता आफन्त मरेका छन् कि बाँचेका छन् भनेर रुन–कराउन थालेको ११ वर्ष भयो, खोइ † हामीले न्याय पाएको,’ पौडेलले भनिन्, ‘बेपत्ता पार्ने अपराधीहरू रमाइरहेका छन् । कि त तिनीहरूलाई सरकारले कारबाही गर्नुपर्‍यो होइन भने हामीलाई जिम्मा दिनुपर्‍यो ।’
सरकारले ल्याउन लागेको बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग अध्यादेशले पीडितलाई न्याय दिलाउने भन्दा झन् रुवाउने खालको भएको पीडितहरूले बताए । अध्यादेश पीडक पोस्ने भएको भन्दै अध्यादेश जारी हुन नहुनेसमेत उनीहरूले बताए ।
‘द्वन्द्वको एउटा पक्षले मात्र ल्याएको अध्यादेशले सबैलाई न्याय गर्न सक्छ ?’ द्वन्द्वपीडित बाँके वनकटुवाकी उषा दाहालले भनिन्, ‘सबै मिलेर मात्र अध्यादेश ल्याउनुपर्छ ।’ उनले अध्यादेशले पीडकलाई कारबाही गर्नुको साटो बचाइरहेको बताइन् । एडभोकेसी फोरमका क्षेत्रीय प्रमुख वसन्त गौतमले न्याय नपाउँदा द्वन्द्वपीडितमा निराशा र बदलाको भावना जाग्नु स्वाभाविक भएको बताए ।

प्रतिक्रिया