लन्डन, २० कात्तिक । रोबिन भान पर्सीले आफ्नो पुरानो क्लब आर्सनलविरुद्ध गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियरसिप फुटबलको अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई २–१ ले पराजित गर्यो भने चेल्सी र स्वान्साबीच १–१ गोलको बराबरी भयो । म्यानचेस्टर सिटीलाई पनि वेस्टहामले गोलरहित बराबरीमा रोक्यो ।
आर्सनलसँगको खेलमा डच खेलाडी रोबिन भान पर्सीले सुरुआती गोल गरे भने दोस्रो हाफमा प्याट्रिक इभ्राले गोल गरे । चेल्सी भने अन्तिम तीन मिनेट सम्हालिन नसक्दा बराबरीमा रोकियो । भिक्टर मोसेसले चेल्सीलाई सुरुआती अग्रता दिलाएको खेलमा स्वानसाका पाब्लो हर्नान्डेजले गोल गरे । १० खेल सकिँदा युनाइटेडको २४ तथा चेल्सीको २३ अंक छ । सिटी २२ अंकसहित तेस्रो स्थानमा छ । मोसेलिन फोरलानीको दुई गोलमा फुलहामसँग २–२ गोलको बराबरी गरेको एभरटन १७ अंकसहित चौथो स्थानमा उक्लेको छ ।
बेन साटसनले गरेको गोलमा विगानले टोटनहाम हस्ट स्पर्सलाई १–० ले पराजित गर्यो । स्पर्स १७ अंकसहित पाँचौँ स्थानमा रहेको छ । म्यानचेस्टरको खेलमा भने बायर्न रुनीले पेनाल्टी खेर नफालेका भए गोलअन्तर अझ बढी पनि हुन सक्थ्यो । खेलको मध्यमा ज्याक विलसेयरले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित आर्सनलका लागि अन्तिम मिनेटमा सान्टी कार्जवोलाले गोल गरे । म्यानचेस्टरमा आबद्ध भएपछि आठौँ गोल गरेका भान पर्सीले खुसियाली भने पाएनन् । ‘मैले यस क्लबमा आठ वर्ष बिताएँ । म यहाँका समर्थक, खेलाडी र क्लब व्यवस्थापनलाई अझै सम्मान गर्छु,’ भान पर्सीले भने ।
मिलानका दुवै टोली विजयी
इटालियन सेरीमा युभेन्ट्सको अपराजित यात्रा ४ ९ खेलमा टुंगिएको छ । शनिबार राति भएको खेलमा इन्टरमिलानसँग घरेलु भूमिमा भएको खेलमा युभेन्ट्स ३–१ ले पराजित भयो । डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले १९ सेकेन्डमा अर्टुरो भिडालको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा इन्टरका लागि डिएगो मिलिटोले दुई गोल गरे भने रोड्रिगो पालासियोले एक गोल गरे । पराजयका बाबजुद युभेन्ट्स २८ अंकसहित शीर्षस्थानमा रहेको छ । इन्टरको २७ अंक छ ।
पछिल्लो सत्र अपराजित रहँदै उपाधि जितेको युभेन्ट्सले त्यसअघि पर्मासँग पराजित भएको थियो । सेरीमा १९९० को दशकको सुरुआतमा एसी मिलानले राखेको ५५ खेलको कीर्तिमान नै सबैभन्दा लामो समयको अपराजित यात्राको कीर्तिमान हो । खेलमा भिडाललाई गोल गर्नबाट रोक्दै इन्टरका गोलरक्षक हन्डानोभिकले टोलीलाई पहिलो हाफमा नै दुई गोलले पछि पर्नबाट रोके । दोस्रो हाफमा पालासियोले प्रत्याक्रमणको गोलको अवसर गुमाएपछि युभेन्ट्सको अग्रता केही समय टिकेको थियो । त्यसलगत्तै युटोनागामाटोको प्रहारलाई युभेन्ट्सका गोलरक्षक जियन लुइका बुफानेले बचाए ।
अर्को खेलमा एसी मिलानले किएभोलाई ५–१ ले पराजित गर्यो । अगस्टमा बार्सिलोना छाडेर मिलान पुगेका बोजान क्रिकिकले नयाँ क्लबका लागि पहिलो लिग गोल गरे । जितपछि १४ अंकसहित एसी मिलान अंकतालिकाको साताँै स्थानमा उक्लेको छ । मिलानले १६आँै मिनेटमा उर्बी एमानुएल्सनको गोलमा अग्रता लिएको थियो । एजेन्सी
रियल म्याड्रिड र बार्सिलोनाको जित
म्याड्रिड : स्पेनिस लिगको शनिबार राति भएको भ्यालेन्सिया, रियल म्याड्रिड र बार्सिलोनाले जित हात पारे । बार्सिलोनाले सेल्टाभिगोमाथि ३–१ को जित हात पारेको छ । बार्सिलोनाले १० खेलको समाप्तिमा सबैभन्दा राम्रो सुरुआतको बराबरी पनि गरेको छ । डेविड भिल्लाले आफैले एक गोल गरे भने जोर्डी अल्बाका लागि अर्को गोलको अवसर सृजना गरिदिए । बार्सिलोनाका आड्रियानोले एक गोल थपे । बार्सिलोनाको २८ अंक भएको छ । सुरुआती १० खेलमा २८ अंकको कीर्तिमान यसअघि रियल म्याड्रिडको नाममा रहेको थियो । भ्यालेन्सियासँग २–० ले पराजित भएपछि एथलेटिको म्याड्र्रिडको अपराजित यात्रा सकिएको छ ।
भ्यालेन्सियालाई जित दिलाउने क्रममा रोबर्टो साल्डाडोले पहिलो गोल गरे भने नेल्सन भाल्डेजले अतिरिक्त समयमा गोल गरे । भ्यालेन्सिया १४ अंकसहित सातौँ स्थानमा उक्लिएको छ । रियल जारगोजालाई ४–० ले हराउँदै तेस्रो स्थानमा उक्लियो । गोन्जालो हिगुइन, एन्जेल डिमारिया, माइकल इसेन र लुका मोड्रिकले रियलका लागि गोल गरे । रायो भल्कानोसँग २–१ ले पराजित मालागा चौथो स्थानमा झरेको छ । (एजेन्सी)
प्रतिक्रिया