काठमाडौं, १९ कात्तिक । विद्यार्थीलाई लगनशील र अनुशासित बनाउने शैक्षिक कार्यक्रमका रूपमा लिइएको स्काउट सामुदायिक विद्यालयबाट लोप हुन थालेको छ ।
सरकारी बजेट अभाव, अभिभावकको आर्थिक स्थिति कमजोर हुनु तथा तत्कालीन माओवादीले चलाएको सशस्त्र युद्धका कारण स्काउट सामुदायिक विद्यालयले स्काउट कार्यक्रम राख्न छाडेका हुन् । शिक्षकले सेवा–सुविधा नपाएका कारण स्काउट हराउँदै गएको नेपाल स्काउटका निर्देशक गौतम अधिकारी बताउँछन् । ‘स्काउट शिक्षकलाई कुनै भत्ता हुँदैन,’ निर्देशक गौतम भन्छन्, ‘हामीले पनि लगानी गर्न नसकेका कारण स्काउटलाई निरन्तरता दिन नसकिएको हो ।’
काठमाडौं, पोखरा, विराटनगरलगायत केही ठूला सहरमा मात्र स्काउटका विद्यार्थी छन् । विगतमा स्काउटका डेढ लाख विद्यार्थी हुने गरेकामा अहिले ५० हजार पनि छैनन् । सामुदायिक विद्यालयले स्काउट राख्न छाडेपछि उक्त संख्या घटेको हो । विगतमा सबै जिल्लामा सञ्चालित स्काउट ५५ जिल्लामा सीमित छ । काठमाडौंका प्राय: विद्यालयमा स्काउट भएकामा अहिले सात सरकारी विद्यालयले मात्र राखेका छन् । सामुदायिकमा प्रत्येक शुक्रबार विद्यार्थी स्काउट शिक्षा सिकाइन्थ्यो । स्काउटले विद्यार्थीमा अनुशासन, स्वयंसेवाको भावना उत्पन्न गराउनुका साथै प्राथमिक उपचार गर्ने, आपतमा उद्धार गर्नेजस्ता कार्य सिकाउने गरेको थियो ।
पहिले स्वयंसेवी भावना भएका कारण सामुदायिक विद्यालयमा स्काउट रहेको नेपाल स्काउटका स्काउटर आनन्द खतिवडाको भनाइ छ । ‘अहिले त्यस्तो भावना नभएका कारण स्काउट पनि लोप हुन थालेको छ,’ खतिवडाले भने ।
सरकारले बजेट नछुट्टयाएका कारण स्काउट शिक्षकले विद्यालयमा काम गर्न छाडेको खतिवडाले बताए । उनका अनुसार माओवादीको सशस्त्र युद्धका कारण स्काउट बढी प्रभावित भएको थियो । भर्खरै विस्तारका क्रममा माओवादीले स्काउटरलाई राजवादीको आरोप लगाएर विद्यालयबाट हटाएको उनको भनाइ छ ।
निजीमा आकर्षण
सामुदायिक विद्यालयबाट लोप हुँदै गए पनि निजीमा भने स्काउटप्रति आकर्षण बढेको छ । निजीले भने विद्यार्थीलाई आकर्षण गर्न छुट्टै शिक्षक राखेर स्काउट शिक्षा दिने गरेका छन् । राजधानीका निजी विद्यालयले अरूले भन्दा बढी स्काउटर राखेका छन् ।
शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डे बजेट अभावमा स्काउट प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको बताउँछन् । खेलकुदसँगै अतिरिक्त क्रियाकलापमा स्काउटलाई राखिए पनि बजेट नभएपछि विद्यालयले राख्न छाडेको सहप्रवक्ता पाण्डेको भनाइ छ । ‘विद्यार्थीलाई शिक्षासँगै स्काउट अनिवार्य थियो,’ पाण्डेले भने, ‘तर बजेट नभएपछि सेलाउँदै गयो ।’
०५४ सम्म स्काउट प्रत्येक विद्यालयमा थियो । गत वर्ष २० हजार १ सय २५ छात्रा र १९ हजार ८ सय २५ छात्र नेपाल स्काउटमा आबद्ध भएका छन् । स्काउट विद्यार्थीले विभिन्न कार्यक्रममा स्वयंसेवकको काम गर्दै आएका थिए । २००९ सालमा विद्यालयबाट सुरु गरिएको स्काउट ०३२ सालमा पञ्चवर्षीय योजनामा स्काउट सुदृढीकरण अभियानका रूपमा अगाडि बढाएपछि विद्यालयले सञ्चालन गर्दै आइरहेका थिए ।
प्रतिक्रिया