प्रधान सेनापति जबरा अष्ट्रेलिया प्रस्थान

काठमाडौं, १८ कात्तिक । प्रधान सेनापति गौरब शम्शेर जबरा आज अष्ट्रेलियाको सिड्नी प्रस्थान गरेका छन् ।
अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्ड र अष्ट्रेलियन डिफेन्स फोर्सले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रधान सेनापतिहरुको सुरक्षा सम्बन्धी १५ औं साधारण सभामा सहभागी हुन जबरा त्यस तर्फ प्रस्थान गरेका हुन् । सम्मेलन कात्तिक २० देखि २३ गते सम्म हुने छ ।
प्रधानसेनापति जबरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी नेपाल भूषण चन्दले बिदाई गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । बिदाई समारोहमा नेपालका लागि अमेरिकी राजदूत, नेपालस्थित विदेशी सैनिक सहचारी, रक्षा सह–सचिवलगायत नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिति रहेको थियो ।
प्रधानसेनापति जबराको भ्रमण दलमा पत्नी रोहिणी राणा र स्टाफ अधिकृतको सहभागिता छ । जबरा कात्तिक–२५ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया