काठमाडौं : नेपाल चीनमा जारी एसियन क्रिकेट काउन्सिल महिला ट्वान्टी–ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार नेपाल आयोजक चीनद्वारा ४५ रन रनको भारी अन्तरले पराजित भएको हो । यससँगै नेपालले स्थानीय ग्वाङगङ इन्टरनेसनल क्रिकेट स्टेडियममा भइरहेको प्रतियागिताको समूह बीमा आफूले खेलेका तीनवटै म्याच हारेको छ । यसअघि नेपाल दुई टेस्ट देश श्रीलंका र बंगलादेशद्वारा नराम्ररी पराजित भएको थियो ।
टस जितेर फिल्डङ रोजेको नेपालले जितका लागि निर्धारित २० ओभरमा ९३ रनको लक्ष्य पाएको थियो । तर, सिंगो नेपाली टोली १९ ओभरमा केवल ४७ रनमै अलआउट हुन पुग्यो र ४५ रनको ठूलो अन्तरले पराजित भयो ।
नेपालका लागि सीता रानामगर एकजनाबाहेक अन्य कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक छुन सकेनन् । ओपनर सीता १८ बलमा १० रन बनाएर खेल्दै गर्दा रनआउट भएकी थिइन् । शोभा आले ४ रन, सरिता मगर ०, रोशनी बोहरा २, सोनु खड्का ८, ममता चौधरी १, नीरा राजोपाध्याय ४, कप्तान रुबिना क्षेत्री ३, तृष्णा सिंह २ र विकेटकिपर ममता थापा १ रनमा आउट भए । अलराउन्डर नेरी थापा ७ रनमा नटआउट रहिन् । नेपालले १ लेगबाइ, ३ वाइड १ नोबल गरी ५ अतिरिक्त रन पाएको थियो ।
चीनका लागि झाओ हेइयी र हान लिलीले २–२ तथा वु जुआनले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको चीनका ब्याट्सवुमनहरूले नेपाली बलरहरूलाई सहज ढंगले खेले । पहिलो विकेटको रूपमा ओपनर सुन मेङ याओ (७) टिम स्कोर १४ हुँदा रुबिनाद्वारा बोल्ड भए पनि अर्की ओपनर झाङ मेईले सुन हुआन (११) सित मिलेर दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरिन् । हुआनलाई राजोपाध्यायले बोल्ड गरिन् । तर, चौथो नम्बरमा ब्याटिङ गर्न आएकी हुआङ झाओले मेईसित मिलेर टोलीको स्कोर २० ओभरको समाप्तिमा २ विकेट क्षतिमा ९२ पुर्याइन् । मेई ४४ र हुआङ २२ रनमा नटआउट रहे । नेपालले ५ वाइड र १ नोबलसहित अतिरिक्त ८ रन दिएको थियो । विकेट छिटो ढाल्ने प्रयासमा नेपालको तर्फबाट सातजनाले बलिङ गरेका थिए जसमा रुबिना, सरिता र नीराले मात्र चार ओभर कोटा पूरा गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया