भवानीको उपासना

धूमावत्यै प्रबल प्रकटां
पूर्णे रोग वतंसं
ज्ञानोदेव भवत भगतां
पूर्ण चित्या व चित्यं
पूर्णं सदा वै वद:
दीर्घो मसय मनोवांछित सदं
सिद्धि सर्वा प्रसन्नं ।।
शक्तिका दुई रूप छन्, दुई स्वरूप छन्, दुई प्रकारका प्रयोग छन् । शक्तिको सर्वोच्च स्वरूप महाविद्या हुन् । अर्थात् संसारमा जति पनि देवी–देवता छन्, तिनमा दस देवी महत्त्वपूर्ण मानिएका छन् । शक्ति त्रिगुणात्मक छन्– महाकाली, महालक्ष्मी र महासरस्वती । यी तीन शक्तिलाई दस रूपमा विभक्त गरिएको छ । र, संसारको श्रेष्ठतम् साधना अथवा विद्याहरू यिनै दस महाविद्यामा समाहित छन् ।
यदि दस महाविद्या सिद्ध गर्ने हो भने जीवनमा कुनै अरू साधना गर्नु जरुरत नै हुँदैन । शक्तिको दुई भाग छ– एक भाग शत्रुलाई परास्त गर्न, हराउन, शत्रुदमन गर्न धूमावती महाकाली, त्रिपुरभैरवी, छिन्नमस्ता र बंगलामुखीको प्रयोग गरिन्छ । जीवनका सारा इच्छापूर्ति गर्न, धन, यश, मान, सम्मान, सौन्दर्य, सम्मोहन प्राप्तिका लागि तारा, त्रिपुरसुन्दरी, भुवनेश्वरी, कमला र मातंगीको साधना गरिन्छ । जीवनमा पूर्णताका लागि, सफलताका लागि हामी जे चाहान्छौँ, त्यसलाई प्राप्त गर्न महाविद्या साधना सम्पन्न गरिन्छ । तिनै महाविद्यामध्ये एक हुन् धूमावती, जसको प्रारम्भमा मैले श्लोक उल्लेख गरेंँ ती धुमावतीको पनि दुई स्वरूप छन्– एक स्वरूपद्वारा शत्रुमाथि बज्रजस्तै प्रहार गर्न सकिन्छ । शत्रु जो कोही होस् ऊ पूर्ण रूपले परास्त होस्– मन र चिन्तनबाट उसले साधकको कुनै अहित गर्न नपाओस् । त्यो शत्रु जसले हामीमाथि अत्याचार गरेको छ, दु:ख दिएको छ, अप्ठ्यारो पारेको छ त्यसको पूर्ण दमनका लागि धूमावती साधना श्रेष्ठ हो । अर्को स्वरुप धूमावतीको रचनात्मक छ, जो धन प्रदान गर्ने, यश प्रदान गर्ने, सम्मान प्रदान गर्ने, स्वास्थ्य प्रदान गर्ने अनि जीवनमा सबै दृष्टिबाट पूर्णता प्रदान गर्ने महाविद्या हुन् । यी जीवनमा जो हाम्रो आकांक्षा, अभिलाषा छ त्यो सब पूरा गर्ने महाविद्या हुन् ।
यदि विशेष दिनहरूमा यी दस महाविद्या साधना सम्पन्न गर्ने हो भने अरू तीव्रतासाथ सफलता मिल्छ । कुनै शुभमुहूर्त या महाविद्या जयन्ती, नवरात्री, चैत्र नवरात्री होस् या शारदीय नवरात्री, यदि महाविद्या साधना सम्पन्न गर्ने हो भने अवश्य नै पूर्ण सफलता मिल्छ । यी नवरात्रीलाई स्वयंमा पूर्ण चैतन्यतायुक्त दिवस भनिन्छ । यतिबेला यदि शक्ति साधना गर्ने हो भने अद्भूत लाभ प्राप्त हुन सक्दछ ।
इन्द्र स्वयंले महाविद्या सिद्ध गरेका थिए । उनले छिन्नमस्ताको ध्यान गरेर मन्त्र प्रयोग गरेपछि युद्धमा राक्षसलाई जिते, स्वर्गको सिंहसानमा बसे । त्यसपछि उनलाई कुनै समस्या नै आएन । यदि, श्रीमद्भागवात, इन्द्रपुराण पढ्यो भने त्यसमा प्रष्टरूपमा यस्तो वर्णन पाइन्छ ।
दस महाविद्याका मन्त्रहरू अत्यन्त ओजस्वी, तेजस्वी अदभूत र अनिर्वचनीय छन् । छिन्नमस्ता जस्तै त्रिपुरभैरवी पनि एक महाविद्या हुन् तर छिन्नमस्ता भन्दा पनि महत्वपूर्ण । त्रिपुरभैरवी सिद्ध गर्ने क्रममा मलाई चार पल्ट असफलता मिल्यो । सुरु–सुरुमा मलाई लाग्यो– छोडिदिउँ सन्यासी जीवन, यो सिद्धि–विद्धि केही हुँदैन । गुरुलाई भने, सच्चितानन्दजी होइन, उहाँसँग त पछि भेट भएको हो, जो गुरु थिए उनलाई भनँे– त्रिपुरभैरवी भन्ने कुनै छँदै छैन । उनले सम्झाउँदै भने– यसको गोपनीय विधि बताउँछु, केबल आठ दिन मन्त्र जप्न बस, अनि हेर तिमीमा कत्तिको तागत आउँछ । हनुमान, रावण या वाणसुरले जुन साधना गरेका थिए त्यही साधना, त्यही गोपनीय विधि, त्यही, रहस्य गुरुले मलाई सिकाउनु भयो ।
मलाई लाग्यो, एकपल्ट प्रयोग गरेर हेरौं, मन मारेर बसेको थिएँ, यत्ति ताप शरीरमा आयो म रोज ६ घण्टा नदीमा बसेपछि मात्र गर्मी शान्त हुन्थ्यो । यस्तो मनमा आउँथ्यो भित्तामा, ढु्ंगामा मुक्का हानूँ † आठ दिन त्यस्तै रह्यो ।
त्यस्तै अद्भूत अर्को साधना छ महाकालीको । महाकालीको अर्थ हो कालमाथि विजय प्राप्त गर्ने देवी, जीवनमा पूर्णता दिने, सर्वत्र, विजय प्रदान गर्ने देवी † हिम्मत, साहस, बल, सौर्य, तेज, क्षमता र पौरुष प्रदान गर्ने देवी । ‘कलौ चण्डी विनायकौ’ कलियुगमा चण्डी अर्थात् काली सिद्ध गर्नु सबभन्दा उत्तम हो । भुवनेश्वर महाविद्या छिन्, जसले पूर्ण सम्पन्नता प्रदान गर्छिन् । अनि बंगलामुखी छिन्– शत्रु संहार गर्न सहायक, मुद्दा मामिलामा सहायक । दश महाविद्यामा तारा पनि श्रेष्ठ मानिएकी छन्, जो आर्थिक उन्नति र आकस्मिक धन प्राप्तिमा सहायक हुन् । कुनै पनि ऋण तपाईंको टाउकोमा होस् त्यो समाप्त हुन्छ ।
पैँतालीस वर्ष अघि मैले तारा महाविद्याको साधना प्रयोग गरेको थिएँ । सन्यासी जीवन थियो, म यो महाविद्या साधना गर्न इच्छुक थिएँ । सन्यासीको अर्थ यो होइन कि धनको आवश्यकता नै हुँदैन । म सन्यासी हुँदा साथमा बाह्र सय शिष्य थिए । विहान बेलुका तिनलाई खाना खुवाउनु एउटा सन्यासीको लागि कठीन काम हो । म भीख माग्दिनथँे, शिष्यहरूलाई पनि भीख माग्न दिन्नथँे । सन्यासीले यदि आफैँ भीख माग्छ भने उसले मानिसलाई दिन्छ के ? मैले तारा सिद्ध गरेँ, कुनै कमी अनुभव नै भएन । कसैको सामु हात पसार्नु परेन । पछि मैले आफ्ना सन्यासी शिष्यहरूलाई पनि कतै हात सपार्न दिइनँ ।

–अनुवाद : शिव ढकाल
(तन्त्र, मन्त्र, यन्त्र विज्ञान पत्रिकाबाट)

प्रतिक्रिया