चौबीस खेलपछि स्पेन बराबरीमै रोकियो

म्याड्रिड, २ कात्तिक । विश्व च्याम्पियन स्पेनको विश्वकप छनोट खेलमा जारी विजय अभियान २४औँ खेलमा टुंगिएको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले स्पेनलाई १–१ गोलको बराबरीमा रोक्यो । चार गोलले अग्रता लिएको जर्मनी स्वीडेनसँगको खेलमा ४–४ गोलको बराबरीमा रोकिएको छ । समूह ‘आई’ को खेलमा सर्जियो रामोसको गोलमा २५औँ मिनेटमा अग्रता लिएको स्पेनका सेस फाब्रिगासले ४३औँ मिनेटमा पेनाल्टी खेर फालेका थिए । दोस्रो हाफमा फ्रान्क रिबेरीको क्रसमा गिराउडले गोल गरे । समूहमा गोल अन्तरले स्पेन पहिलो स्थानमा रहेको छ ।
बर्लिनमा भएको खेलमा ८औँ र १५औँ मिनेटमा मिरोस्लाभ क्लोजले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । ३९औँ मिनेटमा मीर मरटेस्कार र ५५औँ मिनेटमा मेसुट ओजिलले गोल गरे । जर्मनीको विजययात्रा १३ खेलमा टुंग्याउने क्रममा स्विडेनमा ग्लाटन इब्राहमोभिकले ६२आँै, जस्टिन ल्यास्टिङले ६४औँ, जाने इल्मान्डरले ७६औँ र रसमस एल्मले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे । समूह ‘सी’ मा स्विडनेलाई तीन अंकले पछि पारेर जर्मनी शीर्षस्थानमा छ । वार्सामा परेको पानीका कारण इंग्ल्यान्ड र पोल्यान्डबीचको खेल सम्पन्न हुन सकेन ।
पोर्चुगलका लागि १००औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका क्रिस्टियानो रोनाल्डोका लागि पनि मंगलबारको रात सुखद् रहेन । पोर्चुगल र उत्तरी आयरल्यान्डबीचको खेल १–१ गोलले बराबरी भयो । दोस्रो हाफको १६औँ सेकेन्डमा पाब्लो ओस्भाल्डोले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित इटालीले डेनमार्कलाई ३–१ ले पराजित गर्‍यो । इटालीका लागि रिकार्डो मोन्टेलिभो, डानिय डी रोसी र मारियो बालाटोलीले गोल गरे । डेनमार्कका विलियम किभिसिटले गोल गरे । छनोटचरणमा शतप्रतिशत विजय अभियान कायम राख्ने क्रममा नेदरल्यान्डले रोमानियालाई ४–१ ले पराजित गरेको छ । जर्मेन लेन्स, ब्रुनो मार्टिन्स, राफले भान डेर भाट र रोबिन भान पर्सीले गोल गरे ।

अर्जेन्टिनाको जित
दक्षिण अमेरिकी समूहमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको छ । अर्जेन्टिनाका लागि गोन्जालो हिगुइन र लियोनल मेसीले गोल गरे । अर्को खेलमा लापाजको सुस्त हावामा भएको खेलमा बोलिभियाले उरुग्वेलाई
४–१ ले हरायो । बोलिभियाका लागि कार्लोस सुसेजाले हयाट्रिक गरे भने गुल्बर्टो मुजिकाले थप गोल गरे । उरुग्वेका लुइस सुवारेजले गोल गरे । एसियामा समूह ‘ए’ मा इरानले घरेलु भूमिमा भएको खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्‍यो । उज्वेकिस्तानले कतारलाई त्यसै गोल अन्तरमा हरायो भने ओमानले जोर्डनसँगको खेलमा २–१ को जित हात पार्‍यो ।

अमेरिका अगाडि
कन्काकाफ समूहमा अमेरिकाले मंगलबार भएको खेलमा ग्वाटेमालालाई ३–१ ले पराजित गरेको छ । जितपछि अमेरिकाले अन्तिम चरणको छनोट खेल्ने अवसर पाएको छ । कन्काकाफ समूहको अन्तिम चरणको छनोट खेल्ने अन्य टोलीमा मेक्सिको, कोस्टारिका, होन्डुरास, पानामा र जमैका रहेका छन् ।
समूह ‘ए’ को खेलमा जमैकाले एन्टिगुवा एन्ड बर्बुडालाई ४–१ ले हराउँदै अमेरिकासँगै अघि बढयो । समूह ‘बी’ मा मेक्सिकोले एल साल्भाडोरलाई २–० ले हराउँदै पहिलो स्थान पायो भने कोस्टारिकाले गायनालाई ७–० ले हराउँदै दोस्रो स्थान पायो । समूह ‘सी’ मा होन्डुराससँग ८–१ ले पराजित भएपछि क्यानाडा बाहिरियो । पानामाले क्युबासँग १–१ को बराबरी गर्‍यो । एजेन्सी

प्रतिक्रिया