महिला टी–ट्वान्टीमा रुविना कप्तान

काठमाडौं, २ कात्तिक । आसन्न एसिसी महिला टी–ट्वान्टी एसियाकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीको कप्तानी रुविना क्षत्रीले गर्ने भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार घोषणा गरेको १५ सदस्यीय राष्ट्रिय टोलीमा यसअघि सिनियर टोलीमा कप्तान रहेकी नेरी थापा र नीरा राजोध्यायलाई छाडेर यु–१९ राष्ट्रिय टोलीकी कप्तान रुविनालाई कप्तानको जिम्मेवारी दिएको हो । झापाको काँकडभिट्टा स्थायी घर भएकी रुविनाको कप्तानीमा यसै वर्ष नेपालले एसिसी यु–१९ महिला क्रिकेटको उपाधि जितेको थियो ।
सिनियर महिला टोलीमा कप्तानीको विषयमा निकै उतारचढाव रहँदै आएको छ । सन् २००७ मा भएको एसिसी महिला च्याम्पियनसिपमा कप्तानी गरेकी नेरीले गत वर्ष आयोजित एसिसी महिला टी–ट्वान्टी प्रतियोगितामा मात्र सो जिम्मेवारी पाइन् । यसबीचमा उनी उमेरसमूहमा भने कप्तान रहँदै आइन् । नेपाली सिनियर महिला क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय सहभागिता सन् २००९ मा आयोजित एसिसी महिला टी–ट्वान्टीमा रितु कनौजियाले नेपालको कप्तानी गरेकी थिइन् । सन् २०१० मा चीनको ग्वान्झाउमा भएको एसियन गेम्समा नेपाली टोलीको कप्तानी नीराले गरेकी थिइन् । त्यसपछि उमेरसमूहमा खेल्न अयोग्य भएपछि नेरीले सन् २०११ मा सिनियर टोलीमा कप्तानी गर्ने अवसर पुन: पाइन् । खासगरी दुई सिनियर खेलाडी नेरी र नीराबीचको अहं र टसलका कारण युवाखेलाडी रुविनालाई कप्तानी गर्ने अवसर दिएको स्रोतले जनाएको छ । यद्यपि प्रशिक्षणको जिम्मेवारी पाएका श्यामसनजंग थापा युवाखेलाडीको प्रभाव रहने प्रतियोगिता भएका कारण रुविनाले यो अवसर पाएको बताउँछन् ।
२२ अक्टोबरदेखि १ नोभेम्बरसम्म चीनको ग्वान्झाउमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाली टोलीमा अनुभवी खेलाडीको प्रभाव रहेको छ । करुणा भण्डारी, इन्दु वर्मा, ममताकुमारी चौधरी, सीता रानामगर, सोनु खड्का, रेखा रावल, तृष्णा सिंह, सरिता मगर, रश्मी शर्मा चौलागार्इं, ममता थापा, रोशनी बोहरा, शोभा आले पनि टोलीमा छन् । ममता र शोभा पहिलोपटक सिनियर टोलीमा परेका हुन् । क्षेत्र नम्बर–७ जनकपुरधामकी होनहार अलराउन्डर ममताले यसै वर्ष भएको एसिसी यु–१९ कपमार्फत राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । भरखरै सम्पन्न राष्ट्रिय टी–ट्वान्टीमा राम्रो प्रदर्शन गरेपछि जनकपुरकै शोभाले एकैपटक सिनियर टोलीमा डेब्यु गर्ने अवसर पाएकी हुन् । बन्द प्रशिक्षणमा रहेका गीता चुडाल, शिलु रिजाल र संगीता गौचन भने अन्तिम टोलीमा अटाउन सकेनन् । टेस्ट मान्यताप्राप्त पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकालाई समेटेर एसिसीले पहिलोपटक यस प्रतियोगिताको आयोजना गर्न लागेको हो । एसिसी टी–ट्वान्टी प्रतियोगितामा नेपालले गत संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाली टोलीले समूहचरणमा बंगलादेश, श्रीलंका र चीनको सामना गर्नेछ ।

प्रतिक्रिया