भर्खरै नेकपा (एमाले)का जनजाति नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । एमालेमै रहेर अन्तरसंघर्ष गर्दै आफूले उठाएका मुद्दाहरू स्थापित गर्ने कि पार्टीबाट अलग भएर नयाँ पार्टी खोल्ने खिचातानी उनीहरूबीच लामो समयदेखि नै चल्दै आएको थियो । केही जनजाति नेता तथा कार्यकर्ता पार्टी मै रहेर अन्तरसंघर्ष गर्ने पक्षमा खडा भएका छन् भने कोही अशोक राईसँगै पार्टी परित्याग गर्दै नयाँ पार्टी निर्माणमा जुटेका छन् । अब, केही दिनमै जातियताका आधारमा नयाँ पार्टीको जन्म हुने निश्चित भएको छ । नयाँ पार्टीको सैद्धान्तिक र वैचारिक आधार के हुने भन्ने मात्र होइन आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक लक्षहरू के हुने अझै सार्वजनिक हुन सकेको छैन । यस विषयमा नयाँ पार्टीका नेताहरू बीच नै समान दृष्टिकोण रहेको पाइँदैन । मुलुकको आवश्यकता र जनताको चाहना अनुसार पार्टीहरू जन्मनु कुनै अस्वभाविक कुरा होइन । स्थापित पार्टीहरू असफल हँदै गएको पृष्ठभूमीमा नयाँ पार्टीको लागि उपयुक्त अवसर पनि नभएको होइन ।
जनजाति नेताहरूले खोल्न लागेको पार्टीको भविष्य छ, छैन ? यो प्रश्न जनजाति समुदायमा मात्र होइन समग्र राजनीतिक क्षेत्रमा पनि उठ्न थालेको छ । कुनै पनि पार्टीको मूल जग भनेको उसले अवलम्बन गर्ने सैद्धान्तिक र वैचारीक आधार हो । मूल जग नै त्रुटिपूर्ण र भ्रमपूर्ण रह्यो भने पुराना मात्र होइन नयाँ पार्टीहरू पनि दीर्घजीवी हुन सक्दैनन् । बरु, यस्ता पुराना पार्टीहरू घिसेपिटेरूपमा केही समय चल्न सक्छन् तर त्यस्ता भर्खर जन्मिएका पार्टीहरूको मृत्यु हुन केही बेर लाग्दैन । घोषणापत्र र कार्यक्रमहरू सार्वजनिक हुन बाँकी नै रहेकोले नयाँ पार्टीको सैद्धान्तिक र वैचारीक आधार के हुने हो अहिले नै भन्न सकिँदैन । तर, नयाँ पार्टी निर्माणमा लागेका नेता तथा कार्यकर्ताहरूका अभिव्यक्तिहरूबाट यो पार्टी के का लागि कुन आधारमा बन्दैछ भन्ने संकेतहरू सतहमा देखिएका छन् । एमाले परित्याग गर्ने जनजाति नेता तथा कार्यकर्ताले एकल जातीय पहिचानसहितको संघीयताको लागि नै नयाँ पार्टी निर्माण गर्नु परेको तर्कलाई विशेष जोडका साथ उठाउने गरेका छन् । नयाँ पार्टीको निर्माणको लागि आवश्यक पर्ने महत्त्वपूर्ण पक्षहरू उनीहरूले अझैसम्म उठाउन सकेका छैनन् । एकल जातीय पहिचानको प्रश्न एउटा मुद्दा मात्र हो पार्टीको समग्र नीति हुन सक्दैन । यो मात्र मुद्दाका आधारमा नयाँ पार्टी निर्माण गर्ने कुरा रहर र आत्मरती मात्र सावित हुनेछ । यो कुरा झन्डै चार दशक कम्युनिस्ट आन्दोलनमा हिँडेका अशोक राईजस्ता परिपक्व नेताहरूलाई जानकारी नहोला भनी अनुमान गर्नु गलत हुन्छ । यसबाट यी जनजाती नेता अनिश्चित र खतरापूर्ण राजनीतिक यात्रा गर्नुपर्ने बाध्यात्मक स्थितिमा त छैनन् भन्ने प्रश्न उठ्छ । अरूको निर्देशन र दबाबमा पार्टी विभाजन गर्ने र नयाँ पार्टी खोल्ने घटनाहरू नेपाली राजनीतिमा धेरै भएका छन् । त्यसको पछिल्लो शृंखलाको रूपमा अशोक राईको पार्टी खुल्न लागेको प्रष्ट छ ।
नेपालको राजनीतिमा जातीय मुद्दा चर्को रूपमा उठेको संविधानसभाद्वारा नयाँ संविधान निर्माण गर्ने क्रममा हो । यही मुद्दामा पार्टीहरूबीच रहेको मत भिन्नताले नयाँ संविधान नबनेको मात्र होइन सिंगो मूलुक नै संकटग्रस्त भएको सर्वविदितै छ । यो मुद्दामा मूलुकको राजनीतिक शक्तिहरू मात्र होइन नेपाली राजनीतिमा खेलिरहेका वाह्य शक्तिहरू पनि विभाजित रहँदै आएका छन् । मूलुकका राजनीतिक शक्तिहरू राष्ट्रको आवश्यकता र जनताको चाहना अनुसार भन्दा वाह्य शक्तिको निर्देशन र दबाब अनुसार भूमिका निभाउँदै आएका छन् । एकल जातीय पहिचानसहितको संघीयताका पक्षमा पश्चिमा र त्यसको विरोधमा छिमेकी मुलुक रहेका अब कसैबाट छिपेको छैन । यी बाह्य शक्तिले पनि यो मुद्दालाई आ–आफ्नो स्वार्थ र प्रभाव विस्तारका लागि उठाउँदै आएका छन् । नेपालको एकल जातीय सहितको संघीयतामा टेकेर पश्चिमा राष्ट्रहरू महाशक्ति हुँदै गएका चीन र भारतलाई आफ्नो नियन्त्रणमा राखिराख्न मात्र होइन ध्वंस गर्न पनि चाहन्छन् भने यसबाट आफ्नो सुरक्षामा खतरा पर्ने सोचाई चीन र भारतले राख्छन् । यी घटनाक्रमलाई हेर्दा नयाँ पार्टी जनजातिको लागि भन्दा पश्चिमाको स्वार्थ स्थापित गर्न खोलिन लागेको सहज रूपमा बुझिन्छ । पश्चिमाको बौद्धिक र आर्थिक सहयोगमा खोलिने यो पार्टीले सबै पहाडिया जनजातिहरूलाई आकर्षित गर्न सक्यो भने यसको प्रभाव र भूमिका निकै हुन सक्ने संभावना नभएको होइन । मधेसी राजनीतिलाई उदाहरणको रूपमा प्रस्तुत गरेर नयाँ जनजाती पार्टी पनि निकै सशक्त हुने आँकलन गर्ने बुद्धिजीवीहरू पनि कम छैनन् । भारतीयहरूको सहयोगमा मधेसी राजनीतिले सिंगो नेपालको राजनीतिलाई नियन्त्रण गर्न र प्रभुत्व कायम गर्न सक्यो भने सम्पूर्ण पश्चिमाहरूको सहयोगमा खोलिने नयाँ जनजाीत पार्टीको किन भविष्य छैन भन्ने उनीहरूको तर्क पनि त्यति कमजोर छैन । धर्म र राजनीतिक हथकन्डा प्रयोग गरेर पश्चिमाहरूले हिमाली र पहाडी क्षेत्रमा विस्तार गरेको प्रभाव कम छैन । धार्मिक र जातीय द्वन्द्व चर्काएर आफ्नो स्वार्थ पूरा गर्न गरेको लगानी अनुसारको परिणाम भने उनीहरूले प्राप्त गर्न सकेका छैनन् । मधेसी राजनीतिमा लगानी गरेर भारतीयले जति लाभ लिएका छन्, त्यति लाभ पश्चिमाले अझै लिन सकेका छैनन् ।
ठूलो लगानीको बाबजुद पनि पश्चिमाहरूले भारतीय झँै नेपालमा आफ्नो प्रभाव विस्तार गर्न नसकेको वस्तुगत कारण छन् । नेपालको मधेस र भारतको सिमाना जोडिएको मात्र छैन आर्थिक, सामाजिक र सांस्कृतिक निकट सम्बन्ध पनि छ । अधिकांश मधेसीहरू भारतीय मूलका छन् र उनीहरूको आस्था र विश्वास काठमाडौंमा भन्दा दिल्ली तिरै बढी छ । यो स्थिति र मनोविज्ञानमा भारतीयले मधेसीलाई कठ्पुतलीको रूपमा प्रयोग गर्दै आएका छन् । यस्तो स्थिति र मनोविज्ञान पहाडी जनजातिको छैन । नेपालको पहाडी भू–भाग र पश्चिमाहरूको देश निकै दुरीमा मात्र छैन अन्य सामाजिक सम्बन्ध पनि पहाडी जनजाति र उनीहरूबीच छैन । पहाडी जनजातिलाई प्रभावमा पार्ने पश्चिमाहरूको एकमात्र आधार आर्थिक प्रलोभन मात्र हो । त्यसैगरी मधेसी र पहाडियाहरूको सम्बन्धमा तिक्तता छ भने पहाडिया जनजाति र त्यहाँका अन्य जातिहरू बीचको सम्बन्ध सुमधुर छ । स्पष्टरूपमा भन्दा पहाडिया जनजाति र अन्य जातीहरू बीचको आर्थिक, सामाजिक, सांस्कृतिक संबन्ध घुलनशील अवस्थामा छ । यसबाट नयाँ जनजाति पार्टीको नेतृत्वमा पहाडी जनजातिका बीच जातीय द्वन्द गराउने पश्चिमाहरूको मनोकांक्षा पूरा हुन त्यति सहज छैन ।
पश्चिमाहरूले पहाडिया जनजातिलाई प्रयोग गरेर आफ्नो प्रभाव विस्तार गर्ने कसरत अहिले मात्र गरेको होइन । त्यस्तो कसरत पञ्चायतकालमा पनि गरिएको थियो । भारत रुसको प्रभावमा रहेको, दरबार र भारतीय सत्ताको सम्बन्ध बिग्रिएको बेला पश्चिमाहरूले राजावादीहरूलाई प्रयोग गरेर खगेन्द्र जंग गुरुङ, गोरे बहादुर खपांगी, एम.एस. थापालगायतका जनजातिको नेतृत्वमा त्यो रणनीति प्रयोग गरिएको हो । यो कसरत पूर्णत: असफल भएको कसैबाट छिपेको छैन । यो कसरतको सुधारिएको र परिस्कृत गरिएको नयाँ संस्करण नै खोलिन लागेको नयाँ जनजाति पार्टी हो भन्ने कुरा क्रमश: पुष्टि हुँदैछ । अहिलेसम्म पनि पहाडिया जनजातीको चीनप्रतिको दृष्टिकोण सकारात्मक रहँदै आएको छ । उनीहरूमा चीनलाई प्रहार गरेर पश्चिमाहरूलाई गुन लगाउने मनोविज्ञान पाइँदैन । जुनबेला पश्चिमाहरूको डिजाइनमा नयाँ पार्टी खुलेको हो भन्ने तथ्य पर्दाफास हुनेछ, त्यो बेला जनजातिको समर्थन यो पार्टीले प्राप्त गर्न गाह्रो हुनेछ । पश्चिमाहरूको नेपालमा अत्यधिक मात्रामा बढेको घुसपैठलाई हेर्दा भने यो नयाँ पार्टी प्रभावशाली हुन नसके पनि मुलुकलाई क्षति पुर्याउन सक्ने सम्भावना रहन्छ ।
प्रतिक्रिया