संकटालाई पछार्दै पुलिस सेमिमा

काठमाडौं, २४ असोज । कमजोर प्रदर्शनका बाबजुद नेपाल पुलिस क्लब एनसेलकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौं मल संकटा क्लबसँग मंगलबार भएको खेलमा रमेश कटुवालको निर्णायक गोलमा पुलिस क्लब १–० ले विजयी भयो । ७८औँ मिनेटमा रविन श्रेष्ठले गरेको क्रसमा संकटाका गोलरक्षक र रक्षक झुक्किएपछि रमेशले बल पाएका थिए । राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका नौ खेलाडी पुलिसको जर्सीमा मैदानमा उपस्थित भए पनि रमेश र रविनबाहेक अन्य सबैको प्रदर्शन कमजोर रहयो ।
खेलमा प्रहरीका थुप्रै आक्रमणलाई संकटाका गोलरक्षक पियरले बचाएका थिए । खेलमा सुरुआतदेखि नै आक्रमणमा उत्रेका पुलिसका योगेश श्रेष्ठले चौथो मिनेटमा क्रस गरेको बल क्रसबारमा लागेको थियो । तर, १०आँै मिनेटमा रक्षक माम्बोले प्रत्याक्रमणमा राम्रो मौका पाए पनि चुकाएका थिए । उनले प्रहार गरेको बल अस्वाभाविक ढंगले बाहिरिएको थियो । २५आँै मिनेटमा माम्बोले ओभरहेड किक प्रयास गरे पनि सम्भव भएन । मैदानमा पुलिस क्लब हाबी भए पनि प्रत्याक्रमणलाई मुख्य आधार बनाएको संकटाले नै प्रभावकारी मुभ बनाएको थियो ।
दोस्रो हाफमा भने पुलिस क्लब फरक ढंगले प्रस्तुत भएको थियो । ४८आँै मिनेटमा भरत साहले वानभर्सेस वानको अवसर पाए पनि पियरले यसलाई राम्रोसँग बचाए । ६८ मिनेटसम्ममा पियरले तीनवटा राम्रो अवसरबाट पुलिसलाई विमुख बनाएका थिए । खेलको अन्तिम समयमा चेतन घिमिरेको पासमा जुमानुले राम्रो अवसर पाए पनि गोल गर्न सकेनन् ।

प्रतिक्रिया