सरकार बनाउन एमाओवादी गम्भीर भएन

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसले असोज महिना भित्रै राष्ट्रिय सहमतिको सरकार बनाउन एकीकृत माओवादी इमान्दार नदेखिएको ठहर गरेको छ ।
महाराजगञ्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा आज बसेको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकले एमाओवादीलाई तत्काल विश्वास गर्न नसकिने निष्र्कष निकालेको हो ।
असोज मसान्तभित्रै संविधानका विवादित विषयमा सहमति जुटाएर राष्ट्रिय सरकार बनाउन कांग्रेस र एमाओवादीसहितका दलले सहमति गरेका थिए ।
राष्ट्रिय सरकार बनाउने विषयमा पूर्व सहमति कार्यान्वयनलाई लिएर एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसंग परामर्श गर्ने निर्णय पनि कांग्रेसले गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
‘एमाओवादीले सत्ता लब्याउने खेल गरेको आशंका गरेका छौं,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘सहमतिको सरकार बनाउन एमाओवादी तयार नभए कर्तिक महिनाबाट आन्दोलन गर्छौं ।’
कांग्रेस बैठकले मुलुकको समास्यालाई थाँती राखेर एमाओवादी अध्यक्ष दाहाल असोज–२५ गते बेल्जीयम जान लागेकोमा पनि आपत्ति जनाएको छ । उसले सहमति गरेर मुलुकलाई राजनीतिक निकास दिनुपर्ने माग गरेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापति पौडेलले मुलुकलाई निकास दिने विषयमा समेत गम्भीर छलफल भएको बताए । उनले भने, ‘मुलुकलाई निकास दिन दलहरुका बीच पछिल्लो पटक भएका सहमति कार्यान्वयन गर्नु पर्छ ।’
विपक्षी दल कांग्रेस–एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईको सहज बहिर्गमनको माग गर्दै आएका छन् । एमाओवादी र मधेसी मोर्चाले विपक्षी दलहरुको सो मागलाई वेवास्ता गरिरहेका छन् ।

प्रतिक्रिया