चितवनमा चन्दा आतंक

चितवन, २१ असोज । चाडबाड नजिकिँदै जिल्लामा चन्दा आतंक सुरु भएको छ । राजनीतिक दल र तिनका भ्रातृ संघ/संगठनले आयोजना गर्ने विभिन्न कार्यक्रमका नाममा माग्ने चन्दाका कारण व्यवसायी आतंकित छन् ।

दुई महिनायता चितवनका व्यवसायीसँग विभिन्न संघसंगठनले धम्कीपूर्ण तरिकाले चन्दा माग्दै आएका छन् । नेकपा–माओवादी र एमाओवादीनिकट विद्यार्थी संघ/संगठनले निजी शिक्षण संस्थासँग तोकेरै चन्दा मागिरहेको व्यवसायीको गुनासो छ । जिल्लास्तर र केन्द्रीय कार्यक्रम गर्न भन्दै उनीहरूले चन्दा मागेको एक निजी विद्यालयका प्राचार्यले बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष बेलबहादुर गुरुङले विद्यार्थी संघ/संगठन र पार्टी सबैले तोकेरै चन्दा माग्दा अप्ठ्यारो परेको बताए । सबैले सहयोग गर्नुपर्‍यो भन्दै चन्दा माग्ने गरेको उनको गुनासो छ । कांग्रेसनिकट स्वाथ्यकर्मीहरूको हालै भरतपुरमा सम्पन्न केन्द्रीय भेलाका लागि पनि शिक्षण संस्थाबाट मोटो रकम माग गरिएको थियो । त्यसअघि एमाले चितवनको अधिवेशनका लागि भन्दै चन्दा उठाइएको थियो ।
चितवन अस्पतालका अध्यक्ष डा. विजय पौडेलले पार्टीको अधिवेशनका लागि रकम नदिए बिरामी नजाँच्ने भन्दै धम्क्याएपछि पैसा छैन भनेर आफू उम्किएर भागेको एक व्यवसायीले बताए । पार्टी र संघ/संगठनले बजार क्षेत्रमा पनि दबाबपूर्ण ढंगबाट चन्दा माग्दै आएको व्यवसायीको गुनासो छ । चाडबाडको बेला स्थानीय संघसंस्थाले समेत रकम माग गर्ने हुँदा व्यवसायी अप्ठ्यारोमा पर्ने गरेका छन् ।
पर्यटकीय क्षेत्र सौराहामा पनि यतिबेला चन्दा माग्ने क्रम बढेको व्यवसायीको भनाइ छ । क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष गिरिधारी चौधरीले भूमिगतकालको झझल्को दिनेगरी नेकपा–माओवादीले सहयोग गर्नुपर्छ भन्दै हिँडेपछि व्यवसायी अप्ठ्यारोमा परेको बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई संघ/संगठनले तोकेरै चन्दा मागेपछि व्यवसायी मर्कामा परेको बताउँछन् ।
वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले चितवनमा आएर दल र व्यवसायीसँग अन्तरक्रिया गरेपछि दबाबपूर्ण ढंगबाट चन्दा माग्ने क्रम घटेको बताइएको छ । स्थानीय प्रहरी प्रशासनले गुण्डागर्दी र चन्दा आतंकलाई निर्मूल पार्ने भन्दै अभियान थालेपछि चन्दा आतंकमा केही कमी आउन थालेको व्यवसायीको भनाइ छ । निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सुरक्षा समितिको बैठकले जबर्जस्ती रकम माग गर्नेलाई कडा कारबाही गर्न रणनीति तयार पारेको बताउँछन् ।

प्रतिक्रिया