पुलिस क्लबद्वारा जाउलाखेल पराजित

काठमाडौ, १८ असोज । नेपाल पुलिस क्लबले एनसेलकप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा सामसुङ जाउलाखेल युथ क्लबलाई
३–१ ले पराजित गर्‍यो । पुलिसलाई जित दिलाउने क्रममा जुमानु राई, रमेश कटुवाल र भरत शाहले गोल गरे । तुलनात्मक रूपमा पुलिस क्लबसँग राम्रो खेल्ने जाउलाखेलले बुधबारको खेलमा पनि सुरुआती अग्रता लिएको थियो । पहिलो मिनेटमै राज पौडेलको गोलमा जाउलाखेलले अग्रता लिएको थियो । तर त्यो अग्रता १० मिनेटभन्दा बढी टिक्न सकेन । कटुुवाल र शाहले दोस्रो हाफमा गोल गरे ।
मध्यभागबाट पाएको थ्रो–पासलाई उपयोग गर्ने क्रममा राजले प्रहार गरेको भली रीतेशले छेक्नै सकेका थिएनन् । जुमानुले जाउलाखेलको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै गोल गरेका थिए । जुमानु डी–बक्समा कसैको निगरानीमा थिएनन् । २१औँ मिनेटमा भरत शाहले त्यसैखाले क्रस गरे पनि जाउलाखेलका गोलरक्षक मीन बस्नेतले अघि बढेर यसलाई बचाएका थिए ।
दोस्रो हाफमा भने पुलिस क्लब केही लयमा देखिएको थियो । यसक्रममा पुलिसलाई रोक्ने क्रममा जाउलाखेलका गोलरक्षक बस्नतेले अलि बढी नै मिहिनेत गर्नुपर्‍यो । ४८औँ मिनेटमा भरतले जुमानुको पासमा राम्रो अवसर पाए पनि मीनले यसलाई बचाए । त्यसको पाँच मिनेटपछि भने जाउलाखेलका गोलरक्षकको केही जोर चलेन । भरतको पासमा रमेशले गोल गर्दै पुलिस क्लबलाई अग्रता दिलाए । ७०आँै मिनेटमा भने भरतले रिबाउन्डमा गोल गरे । जुमानुले नजिकैबाट गरेको प्रहार मीनले रोके पनि भरतले गोल गरे । जितपछि पुलिस क्लब समूहमा पहिलो भएको छ । समूहमा बौद्ध फुटबल क्लब दोस्रो हँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया