एचआइभी संक्रमितलाई माओवादीको धम्की

म्याग्दी, १५ असोज । म्याग्दी जिल्लामा नेकपा–माओवादीका कार्यकर्ताले एचआइभी संक्रमितहरु बसेको घरका आधारभूत सुविधा काटेर ज्यादती गरेका छन् ।
संक्रमितहरुले प्रयोग गर्दै आएका कोठामा नेकपा–माओवादीका कार्यकर्ताले बिजुली र केबुल टिभीको लाइन काटिदिनुका साथै पानी र शौचालय प्रयोग गर्न नदिएको पीडितहरुको गुनासो छ ।
म्याग्दी ज्याम्रुककोट खबराका प्रदीप सापकोटाको स्वामित्वमा रहेको बेनीस्थित गोदाम घरको एउटा कोठामा डेढ वर्षदेखि एचआइभी संक्रमित होमबहादुर पुर्जा, उनकी पत्नी सन्तु पुर्जा र उनीहरुका छोरा बस्दै आएका छन् ।
पछिल्लो समय बजारमा कोठा भाडामा बस्ने टीका पुन, राजेन्द्र परियार र बिजुली परियार पनि संक्रमित हुन् । विभेद र लाञ्छना लगाउन थालेपछि सोही कोठामा सबै एचआईभी संक्रमितहरु सामूहिक रुपमा बस्न थालेका थिए ।
पानी, शौचालय, बिजुली र सञ्चारको सुविधाबाट बञ्चित भएपछि उनीहरु समस्यामा परेको पीडित होमबहादुर पुर्जाले गुनासो गरे ।
नेकपा–माओवादीले कोठा नजिकै रहेको शौचालय र खानेपानीसमेत प्रयोग गर्न नदिएपछि छिमेकीको सहारा ल्याउनु परेको छ ।
एक हप्ताअघि नेकपा–माओवादी म्याग्दीका सेक्रेटरी लालु किसानले कोठा तत्काल खाली गर्न र बिजुली पानीको महशुल तिर्न पीडितहरुलाई धम्की दिएका थिए । नकपा–माओवादीले सो गोदामघर आफूले भाडामा लिएको भन्दै खाली गर्न पटक पटक चेतावनी दिदै आएको छ ।
भवनका मालिक सापकोटाले नेकपा–माओवादीले अहिलेसम्म भवन प्रयोग गरेवापत भाडा नतिरेको गुनासो गर्छन् ।

प्रतिक्रिया