इस्लाम, फोमिनी र राजनको संयुक्त अग्रता

इलाम, १२ असोज । रामप्रसाद स्मृति बुद्धिचाल प्रतियोगिताको ६ चरणको समाप्तिमा रुसी ग्रान्डमास्टर अलेक्जेन्डर फोमिनी, बंगलादेशका फिडेमास्टर इस्लाम खान अमिनुल र ललितपुरका राजन पुरी ५.५ अंकसहित शीर्षस्थानमा छन् । सहभागी नेपाली खेलाडीको अन्य प्रतियोगिताको तुलनामा राम्रो प्रदर्शन रहेको यो प्रतियोगिताको तेस्रो दिन पुरीका लागि उपयुक्त रहयो । कुनै सनसनीपूर्ण जित हात नपारे पनि स्थिर प्रदर्शन गर्ने खेलाडीको रूपमा राजन रहे ।
पाँचाँै चरणमा कृष्ण थापासँगको कठिन खेलमा जित हात पारेका इस्लामले छैटाँै चरणमा बद्रीलाल नेपालीलाई हराउँदै अग्रता कायम गरेका हुन् । पाँच चरणको समाप्तिमा बद्रीले एकल अग्रता कायम  गरेका थिए । २७औँ चालमा बद्रीले ‘रुक नाइट एक्सचेन्ज’ ख्वाएका थिए । फोमिनीले पाँचाँै चरणमा दिलिप दास तथा छैटौँ चरणमा मनीष हमाललाई सहजै हराए । राजनले पाँचाँै चरणमा गणेशमान दुवाल तथा छैटाँै चरणमा प्रचण्ड मालाकारलाई हराए ।
प्रतियोगितामा बद्रीसहित आइएम अलेक्जन्डर बल, निलाद्रीशेखर भट्टाचार्य, निरज निरौला, अनिल राजवाहक, मदनकृष्ण कायस्थ ,सौरभ आनन्द र  आशुतोष कुमार उपाधिको दौडमा कायम नै रहेका छन् । बलले राजेन्द्रप्रसाद रिजाल र देवजित कविराजलाई पराजित गरे । पाँचौँ चरणमा पुरुषोत्तम चौलागाईंसँग बराबरी गरेका भट्टाचार्यले छैटाँै चरणमा श्यामसुन्दर श्रेष्ठलाई हराए । निरजले विपिन अमात्य र राजेन्द्र राईलाई हराए । अनिलले राहुलदेव दास र विकासकुमार द्विवेदीलाई पराजित गरे । मदनकृष्णले राहुलराज र पुरुषोत्तम चौलागाईंलाई पराजित गरे ।  एक दिनअघि अग्रस्थानमा रहेका सौरभ आनन्द पाँचाँै चरणमा बद्रीलालसँग पराजित भए भने छैटौँ चरणमा सुजेन्द्र श्रेष्ठलाई पराजित गरे ।
मनीष, प्रचण्ड, कृष्ण थापा, सोनकलाल भारती र राजेन्द्रप्रसाद श्रेष्ठको ४.५ अंक छ । मनीष र प्रचण्डबिच पाँचाँै चरणमा बराबरी भएको थियो । कृष्णले छैटाँै चरणमा चूडामणि राईलाई हराए । सोनकलालले छैटाँै चरणमा गणेशमान दुवाललाई हराए । राजेन्द्र श्रेष्ठले छैटाँै चरणमा सीताराम अग्रवाललाई हराए । एक दिनअघि सनसनीपूर्ण नतिजा हात पारेका राजन सुवेदी लगातार दोस्रो खेलमा पराजित हुने क्रममा पाँचाँै चरणमा आशुतोष कुमारसँग पराजित भए । छैटौँ चरणमा उनले नीलकुमार देन्लेखुसँग जित हात पारे । उनको चार अंक छ । १० चरणको प्रतियोगिताको अन्तिम चरणबाट मात्र शीर्षस्थानको टुंगो लाग्ने लगभग निश्चितझँै भएको छ ।

प्रतिक्रिया