एमालेका पाँच असन्तुष्ट नेता काममा फर्किए

काठमाडौं, १२ असोज । एमालेका असन्तुष्ट पाँच नेता चार महिनापछि पार्टी काममा फर्किएका छन् । बिहीबार एमाले मुख्यालय बल्खुमा पार्टी नेतृत्व र असन्तुष्ट नेताहरूबीच भएको चारबुँदे निष्कर्षपछि असन्तुष्ट नेताहरूले काममा फर्केको घोषणा गरेका हुन् ।
केन्द्रीय कमिटीका १० असन्तुष्ट नेतामध्ये पाँचजना पार्टीमै रहने भएका छन् । उपाध्यक्ष अशोक राईको नेतृत्वमा १० असन्तुष्ट नेताले ‘अग्रगामी विचार समूह’ बनाएर अन्तरसंषर्घ गरिरहेका थिए । उनीहरूमध्ये पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, रामचन्द्र झा, केन्द्रीय सदस्य किरण गुरुङ, वीरबहादुर लामा र दलबहादुर राना पार्टी काममा फर्किएका हुन् ।
बिहीबार भएको छलफलमा पूर्ववत् जिम्मेवारीसहित पार्टी काममा फर्किएर क्रियाशील हुने निर्णय भएको नेता पृथ्वीसुब्बा गुरुङले बताए । पार्टीको काममा फर्किए पनि अन्तरसंघर्ष भने जारी रहने उनको भनाइ छ । ‘अन्तरसंघर्ष सकिएको होइन, व्यवस्थित भएको छ,’ नेता गुरुङले भने, ‘फरक मतलाई केन्द्रीय कमिटीबाट निर्धारण गरिने विधिअनुरूप स्वस्थ र मर्यादित ढंगले अन्तरपार्टी छलफल सञ्चालन गर्ने निर्णय भएको छ ।’
यस्तै, पार्टीबाट संस्थागत रूपमा राज्य पुन:संरचनाको विषयमा फरक मतका सम्बन्धमा अन्तरपार्टी छलफलको विधि निर्धारण गर्ने पनि सहमति भएको छ । ‘पार्टीबाट संस्थागत रूपमा राज्य पुन:संरचनाका विषयमा विद्यमान फरक मतका सम्बन्धमा अन्तरपार्टी छलफलको विधि निर्धारण गर्ने निष्कर्षमा पुगिएको छ,’ छलफलपछि सचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फरक मतका सन्दर्भमा सहमतिमा पुग्ने अपेक्षा एवं विश्वासका साथ केन्द्रीय कमिटीबाट निर्धारण गरिने विधिअनुरूप स्वस्थ एवं मर्यादित ढंगले अन्तरपार्टी छलफल सञ्चालन गरिनेछ ।’
यस्तै, फरक मत राखेकै आधारमा कसैप्रति भेदभाव र पक्षपात नगर्ने पनि सहमति भएको छ । ‘पार्टीका तर्फबाट फरक मत राखेको आधारमा कसैप्रति भेदभाव वा पक्षपात हुनेछैन । सबै नेता तथा कार्यकर्ता कमरेडहरूलाई सम्मान र स्वाभिमानका साथ पार्टी काममा लाग्नका लागि अनुकूल परिस्थिति निर्माण गरिनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
छलफलमा पार्टी नेतृत्वका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सचिवहरू युवराज ज्ञवाली र विष्ण्ुा पौडेल सहभागी थिए । यस्तै, असन्तुष्ट समूहका पृथ्वीसुब्बा गुरुङ, रामचन्द्र झा, किरण गुरुङ, दलबहादुर राना र वीरबहादुर लामा थिए । पार्टीले जातीय पहिचानलाई अस्वीकार गरेको भन्दै उनीहरू पार्टी नेतृत्वसँग असन्तुष्ट थिए । उनीहरूले १८ असारमा उपाध्यक्ष राईको नेतृत्वमा विचार समूह बनाएपछि पार्टीको बैठक र कार्यक्रम बहिष्कार गर्दै आएका थिए ।
असन्तुष्ट नेताहरूले निरन्तर पार्टीको बैठक बहिष्कार गरेपछि ०६९ श्रावण ३ मा बसेको स्थायी कमिटीको बैठकले जिम्मेवारीबाट मुक्त गरेको थियो । बिहीबारदेखि पार्टी काममा फर्किएका पाँच नेतामध्ये तीन नेता पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र दलबहादुर रानाले यसअघि नै पार्टीमै बसेर अन्तरसंघर्ष गर्ने बताइसकेका थिए । तर, उपाध्यक्ष राईको नेतृत्वमा बन्न लागेको पार्टीको काममा क्रियाशील झा अन्तिम अवस्थामा पार्टी काममा फर्किएका छन् । झाको निर्णयलाई राई पक्षधर नेताहरूले अप्रत्याशित भनेका छन् । ‘अन्तिम अवस्थामा उहाँको अप्रत्याशित निर्णय सुनियो,’ राई समूहका नेताले भने, ‘उहाँको रहरभन्दा बढी बाध्यता हो भन्ने हामीलाई लागेको छ ।’ यता उपाध्यक्ष राईसहित अन्य पाँच केन्द्रीय नेताले भने १८ असोजमा पार्टी छाड्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया