नयाँ आइजिपीको यस्तो छ नयाँ योजना

काठमाडौं, ११ असोज । नवनियुक्त प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले प्रहरी संगठनलाई समायानुकूल आधुनिकीकरण गरेर प्रहरी संगठनको सेवालाई चुस्तदुरुस्त बनाउने बताएका छन् । प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाउन समायानुकूल आधुनिकीकरण गर्न अनुसन्धान, निगरानी, सूचना संकलन तथा कारबाही प्रक्रियामा अत्याधुनिक प्रविधि प्रयोगमा ल्याउने उनको योजना छ ।

आफ्ना पूर्वप्रतिस्पर्धी एआइजी नवराज ढकाल र भीष्म प्रसाईंसहित बुधबार पत्रकारसामु प्रस्तुत भएका महानिरीक्षक रानाले प्रहरी संगठनको आन्तरिक व्यवस्थापन, जनशक्ति विकास र अपराध अनुसन्धानदेखि मुलुकको ट्राफिक व्यवस्थापनमा विज्ञान र प्रविधिको प्रयोग गरिने योजना सुनाए । संगठित अपराध र गुन्डागर्दी मुलुकका लागि चुनौती बन्दै गएको उल्लेख गदै उनले त्यस्ता अपराधविरुद्ध सशक्त कारबाहीमा उत्रिने बताए । उनले भने, ‘यसका लागि संगठित रूपमा हुने गुन्डागर्दी, तस्करी र अन्य संगठित अपराधविरुद्ध मात्र होइन, अपराधमा सान्निध्य राख्ने प्रहरीलाई समेत छाडिनेछैन ।’ उनको योजनाअनुसार प्रहरीलाई चुस्तदुरुस्त, नागरिकमैत्री र जनमुखी बनाउन प्रहरी सेवाको विस्तारमा जोड, प्रहरी व्यवहार तथा आचरणमा सुधार तथा हँसिलो प्रहरी सेवा प्रदान गरिनेछ । महानिरीक्षक रानाले सहभागितामूलक प्रहरी सेवाका लागि नागरिकसँग नियमित अन्तरक्रिया, नागरिकसँग सम्बन्ध सरल तथा सहज पहुँचका लागि नागरिक सहायता कक्षको विस्तार गरिने बताए । यस्तै, उनले सेवाविस्तार तथा ग्रामीण गस्ती, नागरिकका लागि द्रुत सेवा प्रदान गर्न प्रविधिमार्फत सेवा प्रदान गर्ने पद्धतिको विकास, ट्राफिक व्यवस्थापनमा वैज्ञानिकीकरण, मानवअधिकार संरक्षण र प्रवद्र्धनले गर्ने योजना अघि सारे ।
महानिरीक्षक रानाको योजनाअनुसार प्रहरीको आन्तरिक व्यवस्थापन सुधारतर्फ विशेष जोड दिइनेछ । विशेषगरी सरुवा, बढुवामा हुने राजनीतिक हस्तक्षेत रोक्नेतर्फ उनको योजना केन्द्रित छ । उनले भने, ‘प्रहरी कार्मचारीको सरुवा, बढुवा तथा अन्य अवसरमा वस्तुपरक नीति अवलम्बन गरिनेछ ।’ संगठनको संरचनामा सुधार, जनशक्ति व्यवस्थापन, आन्तरिक प्रशासनको पारदर्शिता र प्रभावकारिता, चेन अफ कमान्डको पूर्णपालना, प्रहरी ऐन तथा नियम पुनर्लेखन, वैज्ञानिक पर्फमेन्स मेनेजमेन्ट प्रणालीको संस्थागत थालनी योजना रहेको उनले बताए ।
महानिरीक्षकले आफ्नो योजनामा प्रहरी कारबाहीमा वैज्ञानिकीकरणलाई जोड दिएका छन् । उनको योजनामा ‘आइपी बेस सेन्टर मोनिटरिङ सिम्टेम’ र इन्टेलिजेन्स सिसिटिभीको माध्यमबाट निगरानी प्रणालीको विकास, पेपरलेस व्यवस्थापनलाई सबै क्षेत्रमा विस्तार र ई–बैंकिङबाट ट्राफिक जरिवाना संकलन प्रणालीको विस्तार गर्ने रहेको छ । यस्तै, दस्तावेजहरूलाई डिजिटाइज गरी केन्द्रीय अभिलेख प्रणालीको विकास गर्ने, मुख्य नाकामा ‘अन्डर भेइकल सर्भिलेन्स सिस्टेम’ जडान गरिनेजस्ता प्रविधिजन्य योजना पनि उल्लेख छ ।
उनको योजना प्रहरी कार्यालयको भौतिक विकासतर्फ पनि केन्द्रित छ । योजनाअनुसार ब्यारेक तथा शौचालय लैंगिक मैत्री बनाउने तथा प्राप्त स्रोतसाधनको उचित व्यवस्थापन भए/नभएको मूल्यांकन गर्ने उल्लेख छ । यसैगरी, प्रणालीको विकास, प्रहरीको भौतिक संरचना निर्माणमा क्यापिटल मास्टर प्लानको खाका तयार गर्ने, नेपाल प्रहरीको पाँच वर्षीय वृत्तिविकास योजना तयार गर्न प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा बोर्ड गठन गरिने योजना छ ।

प्रतिक्रिया