अभियुक्त छुटाउन पैसा लिएको आरोप

वीरगन्ज : लागुऔषधको कारोबारमा संलग्न अभियुक्तलाई छुटाइदिने बताउँदै वीरगन्जका एक अधिवक्ताले रकम लिएको परिवारले गुनासो गरेका छन् । अधिवक्ता सुधीर कर्णले अभियुक्तलाई छुटाइदिने भन्दै सात लाख रुपियाँ लिएको तर अभियुक्त जेलचलान भएपछि रकम फिर्ता नदिएको गुनासो परिवारले गरेका हुन् ।
पर्सा निचुटा–१ बाट लागुऔषध अफिमबाट ब्राउनसुगर बनाउने मेसिनसहित पक्राउ परेका भारतीय नागरिक देवेश गुप्ता, सुवास चन्द, अनिलकुमार सिंह र उमेश मुखियासमेत चारलाई मुक्त गर्ने सर्तमा अधिवक्ता कर्णले सात लाख रुपियाँ लिएको परिवारजनको गुनासो छ । पक्राउ परेका चार जना जेल गएपछि अधिवक्ता कर्णले घुसबापत लिएको रकम फिर्ता नगरेको देवेशका आफन्तले बताए ।
देवेश गुप्ताका भाइ सन्नीका अनुसार, सरकारी वकिल, एसपी, डिआइजी र साक्षी बस्ने व्यक्तिलाई रकम दिनुपर्छ भनेर अधिवक्ता कर्णले सात लाख रुपियाँ लिएका थिए । रकम लिएको दुई वर्ष चार महिना बितिसक्दा पनि पैसा फिर्ता नपाएको गुप्ताले बताए ।
चार जनालाई १९ जेठ ०६७ मा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको थियो । तत्कालीन एसपी राजेन्द्रमान श्रेष्ठलाई पनि चार अभियुक्तलाई छाड्न ३० लाख रुपियाँको अफर आएको बताइएको थियो ।
‘अधिवक्ता कर्णले दलाली गरी भिनाजुलाई छुटाइदिने सर्तसहित सात लाख रुपियाँ लिएका थिए,’ देवेशका भाइ सन्नीले भने, ‘रकम फिर्ता नदिए पत्रकार सम्मेलन गरी आन्दोलनमा उत्रनेछाँै ।’ लागुऔषधको कारोबारमा संलग्न चार जना वीरगन्ज कारागारमा छन् ।
यता, अधिवक्ता कर्णले भने आफ्नो चरित्रहत्याको प्रयास भएको प्रतिक्रिया दिए । उनले दुई वर्ष पुरानो मुद्दालाई उचालेर चरित्रहत्याको प्रयासमा वीरगन्जका केही सञ्चारकर्मी लागेको बताउँदै भने, ‘मैले पैसा लिएको भन्नेहरू सामुन्ने आएर गुनासो गरून्, म वकालत पेसा नै छाडिदिन्छु ।’ (सौस)

प्रतिक्रिया