अजारेन्का र सारापोभा अगाडि

टोकियो : शीर्ष वरीयताकी भिक्टोरिया अजारेन्का पान प्यासिफिक टेनिसमा तेस्रो चरणमा प्रवेश गरेकी छन् । बेलारुसकी यी स्टार खेलाडीले अस्ट्रियाकी तामिरा पास्जेकलाई सोझो सेटमा पराजित गरिन् । पहिलो खेल ६–१ र ६–१ ले जितेर अजारेन्काले आफूलाई बलियो दाबेदारको रूपमा प्रस्तुत गरिन् । दुईपटककी पूर्वविजेता मारिया सारापोभाले तेस्रो चरण यात्रा तय गरे पनि निकै कठिन चुनौती सामना गर्नुपर्‍यो । बेलायती हिदर वाट्सनलाई ६–७, ६–३ र ६–४ ले पराजित गरी रसियन सुन्दरी सारापोभाको यात्रा अगाडि बढेको हो ।

सन् २०११ को विम्बल्डन च्याम्पियन पेट्रा केभिटोभाले भने दोस्रो चरणमै पराजय व्यहोर्नुपर्‍यो । उनी क्रोएसियाकी पेट्रा मार्टिकविरुद्धको खेलमा ६–४ र ६–४ ले विजयी भइन् । ली ना र समन्था स्टसर पनि अगाडि बढेका छन् । चिनियाँ खेलाडी ना रुसकी अनास्टासिया पेभ्ल्युचेन्कोभा र अस्ट्रेलियन स्टसरले फ्रान्सेस्का सिआभोनेलाई पराजित गरिन् । जर्मनीकी एन्जेलिक कर्बर, इटालीकी सारा एरानी, फ्रान्सकी मारियन बार्तोली र रुसकी नाडिया पेट्रोभाको यात्रा पनि तेस्रो चरण पुगेको छ । (एजेन्सी)

प्रतिक्रिया