फाल्काओको सानदार प्रदर्शन जारी

म्याड्रिड : कोलम्बियाली स्ट्राइकर राडामेल फाल्काओले आफ्नो लयलाई कायमै राखेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस लिगमा आइतबार राति भाल्ला डोलिडलाई २–१ ले पराजित गरेको छ । डिएगो गोडिनको गोलमार्फत ३१औँ मिनेटमा सुरुआती अग्रता लिएको एट्लेटिकोका लागि पहिलो हाफको अन्तिम मिनेटमा फाल्काओले पेनाल्टीमार्फत गोल गरेपछि भाल्ला डोलिड २–० ले पछि परेको थियो । अल्बर्टो बुएनोले ५५औँ मिनेटमा गोल गरी गोलअन्तर कम गरे पनि त्यसपछि भाल्ला डोलिडले थप गोल गर्न सकेन । चार खेल खेल्ने क्रममा तीन जित र एक बराबरी खेलेको एट्लेटिको १० अंकसहित लिगको अंकतालिकामा चौथो स्थानमा छ । पाँच खेलबाट १५ अंक जोड्दै बार्सिलोना शीर्षस्थानमा छ । फाल्काओ लिगको सर्वाधिक गोलकर्ताको सूचीमा पाँच गोलसहित दोस्रो स्थानमा छन् । ६ गोल गरेका बार्सिलोनाका मेसी मात्र उनीभन्दा अगाडि छन् । आइतबार राति भएका अन्य खेलमा मालागा एथलेटिको बिल्वाओसँग गोलरहित बराबरीमा रोकियो भने लेभान्टेले रियल सोसाइडयाडलाई २–१ ले पराजित गर्‍यो ।
सिटी र आर्सनल बराबरीमा
लण्डन : म्यानचेस्टर सिटी र आर्सनलले आइतबार रातिको इंग्लिस प्रिमियर लिग भिडन्तमा १–१ ले बराबरी खेलेका छन् । चालु लिगमा पाँच/पाँच खेल खेल्ने क्रममा अपराजित रहेका आर्सनल र म्यान सिटीको यो समान तेस्रो बराबरी हो । दुवै टोलीले दुई/दुई जित हात पारेका छन् । खेलमा सुरुआती अग्रता लिए पनि साविक विजेता म्यानचेस्टर सिटीले विपक्षीलाई गोल गर्नबाट रोक्न सकेन । जोलेओन लेस्कोटले ४०आँै मिनेटमा म्यान सिटीलाई अग्रता दिलाएका थिए । डेभिड सिल्भा र सान्टिआगो काजोर्लाको पासमा लेस्कोटले गोल गरेका थिए । तर आर्सनलले ८२आँै मिनेटमा गोल फर्काएर अंक लिन सफल भएको हो । लाउरेन्ट कोसिएल्नीले आर्सनलका लागि वरावरी गोल फर्काएका हुन् । आइतबार रातिका अन्य खेलमा टोटेनहयामले क्विन्सपार्क रेन्जर्सलाई २–१ ले पराजित गर्‍यो । ३३आँै मिनेटमा सुरुआती अग्रता लिए पनि क्युपिआरले आफ्नै गोलमार्फत खेललाई बराबबरीमा ल्याइपुर्‍याएको थियो । अलेजान्द्रो फर्लिनले ५९आँै मिनेटमा आत्मघाती गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो । (एजेन्सी)

प्रतिक्रिया