“आमा” ले सिएनएनसम्म पुर्‍यायो

सिएनएन हिरो– २०१० को उपाधि माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले जितिन् । सन् २०१२ को यही उपाधिका लागि अर्की नेपाली युवा नारी २८ वर्षे पुष्पा बस्नेतको नाम चर्चामा छ यतिखेर । करिब पाँच महिनाअघि मनोनयनमा परेकी बस्नेत अहिले उत्कृष्ट १० मा छिन् । उनलाई जिताउन भोटिङ भइरहेको छ । प्रारम्भिक बालविकास केन्द्रमार्फत कारागारमा रहेका व्यक्तिका बेसहारा सन्तानलाई पढाउने कार्य गर्दै आएकी उनी सिएनएनबाट टपटेनमा परेको पत्र आएसँगै सौर्यसँग आफ्नो उत्साह बाँड्दै छिन् ।

सिएनएन च्यानल हेर्दै थिएँ, गत बिहीबार राति नौ बजेर ४५ मिनेट जाँदा ब्रेकिङ न्युज आयो । खबरमा म आपैँm थिएँ, ‘सिएनएन हिरो–२०१२ को टपटेनमा पुष्पा बस्नेत मनोनीत ।’ मसँगै टपटेनमा पर्ने अन्य नौजनाको नाम पनि थियो । हर्षविभोर भएँ । चार महिना लामो रिसर्चपछि म सिएनएन हिरोमा मनोनयन भएको औपचारिक पत्र पाएकी थिएँ । सिएनएन हिरोको छनोटमा विश्वका धेरै व्यक्तिको प्रस्ताव गएकोमा आफ्नो नाम उत्कृष्ट दसमा पर्दा मन उत्साहले भरियो ।
आफ्नो कामले अन्तर्राष्ट्रिय स्तरमा पाएको प्रोत्साहनले सबै नेपाली युवाको शिर उँचो बनाएको महसुस गरेँ । यद्यपि, मैले उपाधि जितेकी छैन, उत्कृष्ट दसमा छनोट मात्रै भएकी हुँ । मैले गरेको समाजसेवालाई प्रोत्साहन गर्न अझै धेरै भोटको खाँचो छ । विश्वका विभिन्न मुलुकमा रहेर समाजसेवामा उत्कृष्ट काम गरेका व्यक्तित्वको नाममा म पनि जोडिएकी हुँ । मेरो अहिलेसम्मको भोटिङलाई हेरेर उपाधिका लागि अग्रिम शुभकामना दिने शुभचिन्तक निकै पाइरहेकी छु । डिसेम्बर २ मा घोषणा हुने सिएनएन हिरोमा मेरो नाम लेखिए त्यो आमनेपालीको सफलता हुनेछ । अनि, मजस्ता युवालाई आफ्नै देशमा बसेर केही गर्न थप प्रेरणा मिल्नेछ । तर, अहिले नै सिएनएन हिरोको उपाधि मेरा लागि सुरक्षित भन्न सक्दिनँ । नेपाललाई माया गर्नेहरूको अमूल्य भोटले मात्रै विश्वका उत्कृष्ट समाजसेवीको लिस्टमा फेरि एकपटक नेपालीलाई पुर्‍याउन सक्नेछ ।
म बेसहारा बालबालिकाप्रति समर्पित भएर उनीहरूको उत्थानमा लागिपरेको लगभग पाँच वर्ष पुगेको छ । मेरो संरक्षणमा ८० जना बालबालिका छन् । आमाबाबु कारागारमा थुनिएपछि अनाथ बनेका बालबालिकाकी ‘आमा’ भएर बसेकी छु । सम्झन्छु– मैले यो अभियान नथालेको भए ती बालबालिका अभिभावकत्वको अभावमा कतै बेचिइसकेका वा सडकमा भौँतारिइरहेका हुन्थे होलान् ।
यिनै बालबालिकाले उच्चारण गर्ने ‘आमा’ शब्दले मलाई सिएनएनसम्म पुर्‍याएजस्तो लाग्छ । यो उपाधि जितेँ भने मैले थालेको अभियान अझ सशक्त हुनेछ । देशका अन्य विभिन्न कारागारमा रहेका बालबालिकालाई पनि समेट्ने मेरो सपना पूरा हुनेछ । बालबालिकालाई बाटो देखाउने दीर्घकालीन गृह स्थापित गर्न सक्नेछु । उनीहरूका लागि खाने/लगाउने व्यवस्था गर्न दिनदिनैको पिरलो पनि अलि कम हुन्थ्यो कि †
टपटेनमा परेको खबर सार्वजनिक भएपछि फ्यान पेजका साथै व्यक्तिगत रूपमा पनि भोट पाइरहेकी छु । शुभेच्छुकहरूको भोटले दिने प्रोत्साहन नै सिएनएन हिरो बन्ने आधार हो । त्यही आधारले मेरा ‘छोराछोरी’ को भविष्य व्यवस्थापन गर्ने दीर्घकालीन बाटो खोल्नेछ । मेरो ममतागृह अझ बलियो हुनेछ, जहाँ हामी परिवार बनेर खुसीसाथ रमाइरहेछौँ । मेरो संसारै यही हो । मेरो संरक्षणमा हुर्किएकी जेठी छोरी १७ वर्ष पुगिसकिन्, ६ वर्षको नाबालक छोरो पनि छ । यी सबैको भविष्य मसँग जोडिएको छ ।
अभिभावकत्व चँुडिएका बालबालिकालाई दिएको सहाराकै कारण विश्वका उत्कृष्ट समाजसेवीबीच दरियूँला भन्ने सोचेकै थिइनँ । साथी सविन सिंहले सिएनएन हिरोका लागि मेरो नाम प्रस्ताव गरेका रहेछन् । एकैचोटि मनोनयनमा पारिएको चिठी आउँदा अचम्म लागेको थियो । सविनले मेरा बारे डकुमेन्ट्री बनाएर पेस गरेछन्, जुन मेरो जानकारीमा थिएन । सिएनएन बोर्ड बैठकबाट अनुमोदन भएपछि मात्र मनोनयनमा परेको थाहा पाएँ । तर, मैले जीवनमा कुनै पुरस्कारको आशामा बालबालिकाको संरक्षण गरेकी होइन । सिएनएनमा परिणाम के होला, उत्सुकता त पक्कै छ । परिणाम जे होला, मेरो लक्ष्यचाहिँ स्पष्ट छ, ‘आफ्नो संरक्षणमा रहेका बालबालिकाको उज्ज्वल भविष्यको बाटो कोरेरै छाड्नेछु ।’ प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया