पाकिस्तानको रोमाञ्चक जित

कोलम्बो, ८ असोज । न्युजिल्यान्डलाई रोमाञ्चक खेलमा १३ रनले पराजित गर्दै पूर्वविजेता पाकिस्तानले आइसिसी टी–ट्वान्टी विश्वकप प्रतियोगितामा विजयी सुरुआत गरेको छ । पाकिस्तानको जितमा मोहमद हफिजले अलराउन्ड प्रदर्शन गरे भने सइद अजमलले चार विकेट लिए ।
१७८ रनको विजयीलक्ष्य पछयाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रन जोडयो । १९आँै ओभरमा लगातार तीन चौका प्रहार गर्दै रोस टेलर आउट भएपछि खेल पाकिस्तानको पक्षमा गएको थियो । रोस टेलर आउट हुनुअघि न्युजिल्यान्डलाई जितका लागि ९ बलमा २२ रन आवश्यक थियो । उमर गुलको बलमा दुई रन लिने प्रयास गर्दा टेलर रनआउट भएका थिए । अन्तिम ओभरमा न्युजिल्यान्डलाई जितका लागि १९ रन आवश्यक थियो तर अजमलले उक्त ओभरमा पाँच रन दिएर दुई विकेट लिए ।
अजमलले चार ओभर बलिङ गर्ने क्रममा ३० रन खर्चिएर चार विकेट लिए । उनले डानिएर भिटोरी (१८) र ज्याकोब ओराम (११) लाई पनि आउट गरेका थिए । हाफिजले चार ओभर बलिङ गर्ने क्रममा कुनै विकेट नलिए पनि १५ रन मात्र खर्चिए । पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको न्युजिल्यान्डको इनिङमा रोब निकोलले ३३, विकेटकिपर ब्रेन्डन म्याकलमले ३२ र रोस टेलरले २६ रनको योगदान गरे । पाकिस्तानका लागि पहिलो विकेट लिएका साहिद अफ्रिदीसँगै उमर गुल र सोहेल तनवीरले पनि समान एक विकेट लिए । न्युजिल्यान्डका दुई खेलाडी रनआउट भएका थिए ।
यसअघि टस जिती पहिला ब्याटिङ गरेको पाकिस्तानले निकै राम्रो ब्याटिङ प्रदर्शन गर्‍यो । पहिलो विकेटका लागि ४७ र दोस्रो विकेटका लागि ७६ रनको साझेदारी भएको पाकिस्तानको इनिङमा नासिर जमसेदले ५६, कप्तान हफिजले ४३, इमरान नाजिरले २५ र उमर अकमलले २३ रनको योगदान गरे । ३५ बल सामना गरेका जमसेदले दुई चौका र चार छक्का प्रहार गरे । उनले प्रारम्भिक ब्याट्सम्यान हाफिजसँग तेस्रो विकेटका लागि राम्रो साझेदारी पनि गरे । ३८ बल सामना गरेका हाफिजले दुई चौका र दुई छक्का प्रहार गरे । जमसेद म्यान अफ द म्याच घोषित भए । पाकिस्तान यस प्रतियोगिताको दोस्रो संस्करणको विजेता हो । न्युजिल्यान्डले पहिलो खेलमा जित हात पारेको थियो । पाकिस्तानले अबको खेल बंगलादेशविरुद्ध खेल्नेछ । क्वार्टरफाइनल प्रवेश गर्ने तीनवटै टोलीको सम्भावना बराबर रहेको छ । यसअघि शनिबार राति भएको खेलमा अस्ट्रेलिया डकवर्थ लुइस नियमका आधारमा वेस्ट इन्डिजलाई पराजित गर्दै क्वार्टरफाइनल पुग्न सफल भयो । पहिलो खेल खेल्ने क्रममा १९१ रन जोडे पनि वेस्ट इन्डिजको बलिङ प्रभावकारी हुन सकेन भने वर्षा पनि उत्तिकै बाधक भयो । एजेन्सी

प्रतिक्रिया