वैदेशिक रोजगारीमा महिलाको दुर्दशा

दोलखा माली–५ वर्ष ३२ की लैकी शेर्पा रोजगारीका लागि विदेश गइन् । उनका सामु अरू विकल्प पनि थिएनन् । पति जाङ्बु शेर्पाको मृत्युपछि दुई वर्षअघि विदेश गएकी हुन् । उनी विदेश गएपछि उनका कलिला चार छोराको पढाइ रोकिएको छ । बौद्ध भुवनेश्वरी मावि मालीका प्रधानाध्यापक आङ्बाबु शेर्पा भन्छन्, ‘आमा या बाबुमध्ये एकजना मात्र वैदेशिक रोजगारीमा गएका छन् भने पनि उनीहरूका बालबालिकाको पढाइ अवरुद्ध हुने गरेको पाइएको छ ।’ बाबु विदेशमा भए आमाले बालबच्चालाई पढाइमा ध्यान दिन नसक्ने, नभ्याउने र नदिने देखिएको छ भने आमा विदेशमा जाँदा त झन् बालबच्चा आमाको ममताबाट नै वञ्चित हुने भएकाले पढाइ अवरुद्ध नै हुने गरेको छ । समाजमा वैदेशिक रोजगारको मोह जति बढ्दो छ, त्यति नै त्यसको असर बालबालिकामा परिरहेको छ । पछिल्लोपटक वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि बढ्दो छ । त्यो पनि भारतीय भूमि हुँदै । असुरक्षित तवर र असुरक्षित गन्तव्य बने पनि वैदेशिक रोजगारी नेपाली महिलाका लागि आकर्षण बनिरहेको छ ।
तर विदेश पुग्नु त्यति सजिलो छैन महिलाका लागि । यतिसम्म कि विदेशमा रहेका पतिसँग बस्न जान लागेका महिलाले समेत विमानस्थलका सरकारी कर्मचारीसँग काठमाडौंको होटलमा रात बिताउनुपरेको समाचार सार्वजनिक भइसकेको छ । केहीदिन अघि मात्र झापाकी एक महिलाको भारतमा हत्या भएको र दुई महिला बेखबर रहेको दु:खद् खबर सार्वजनिक भएको थियो । अवैध रूपमा साउदी अरबमा रोजगारीका लागि लगिएकी झापा गौरादह–४ स्थित खरेलटोलकी वर्ष २५की माया दर्नालको एक महिनाअघि नै मुम्बईमा हत्या भएको हो । उनीसँगै गएका अरू दुई महिला बेपत्ता छन् । १८ जेठमा ज्वाइँ नाताका झापा झिलझिलेका गोपाल सापकोटाले मायासहित सपना श्रेष्ठ र पवित्रा बुढाथोकीलाई साउदीमा राम्रो काममा लगाइदिने भन्दै लगेका थिए । ‘मायाका ज्वाइँले साउदीमा राम्रो हुने र जान पनि धेरै पैसा नलाग्ने भन्दै लगेको’ पवित्राकी सासू तीला बुढाथोकीले बताइन् । मायालाई मुम्बईको कोठीमा राखिएको र त्यहाँबाट भाग्ने क्रममा हत्या भएको हुन सक्ने गाउँलेको अनुमान छ । उसो त केही समयअघि मकवानपुरको विकट राक्सिराङका महिला वीरगन्जबाट उद्धार गरेर फर्काइएका थिए । मकवानपुरको काँकडा–५ की वर्ष २२ की कान्छीमाया तामाङ र नुवाकोट माझी–९ की वर्ष २३ की फूलमाया तामाङलाइ ११ असारमा वीरगन्जमा उद्धार गरिएको हो । फूलमाया, एक छोरा र दुइ छोरीकी आमा हुन् भने कान्छीमाया छोराछोरी गरी दुई सन्तानकी आमा हुन् । दुवै महिलालाई साउदी अरब पठाइदिने प्रलोभन दिएका रसुवा भोर्ले–५ का पहलमान थिङले पर्साको ठोरी हुँदै सीमावर्ती भिखनाठोरी जाने तयारीमा रहेका बेला उद्धार गरिएको हो ।
सदरमुकामदेखि ६० किलोमिटर उत्तर पश्चिममा पर्ने ठोरी नाका हुँदै भारत लैजाने तयारी भएको थियो । घरमा पति र सासूससुराले हेला र यातना दिएका कारण आफूहरू रोजगारीका लागि घरपरिवारलाई जानकारी नदिई हिँडेको दुवै महिलाले बताएका छन् । साउदीमा पुगेर कमाइ गरेपछि महिनाको पाँच हजार रुपियाँ पठाइदिने सर्तमा थिङले लिएर आएको महिलाहरूले बताए । घरमा बालबच्चा छाडेर पतिलाई पनि केही नभनी हिँडेका उनीहरूलाई सुखी संसारले तानेको थियो । बालबच्चा स्याहार्ने, मेसिनझैँ बच्चा पाइरहने र जीवनमा रमाइलोको अनुभूति महसुस गर्न नपाएका सोझा महिलालाई गाउँ पुगेका दलालहरूले सजिलै फकाइफुल्याइ पति र बालबच्चाभन्दा विदेशको जागिर ठूलो भन्ने भ्रममा पारिरहेका छन् । गोठालो जान भनेर घरबाट हिँडेका महिलाहरू एकैपटक भारतीय सहरमा सजिलै पुगिरहेका छन् । पतिलाई सजिलै बिर्सन सक्ने महिलाले बाँकी जीवनको निर्णय एक्लै गर्दा पतिहरू पनि अर्की ल्याउने ध्याउन्नमा लाग्छन् । दुवैको जिन्दगी आÏनै रÏतारमा दौडँदा फेरि पनि बिचल्लीमा तिनै बालबालिका पर्छन् । जुन पाटोमा पति पत्नीले ध्यान दिन सकेका छैनन् । एकजना फेसबुके साथीले केहीदिन अघि मात्रै बुहारी पोइल गएकोमा निकै चिन्ता गरेका थिए । उमेरमा विवाह गरेर घर परिवार छाडेर विदेशी भूमिमा काम गरिरहेका उनले भनेका थिए, ‘यहाँ मरुभूमिमा रगत–पसिना बगाएर दु:ख गरेर पैसा पठायो, घर पुग्दा पत्नी नहुन सक्छे, अबोध छोराछोरीको बिचल्ली भएको हुन सक्छ ।’ उनको भाइ पनि विदेशमा थियो । केही समयअघि भाइबुहारीले पठाएको पैसासहित परपुरुषसँग हिँडिदिएपछि वैदेशिक रोजगारी र त्यसबाट आर्जित रकमले पनि परिवारमा उल्लास ल्याउन छाडेको उनले बताए । उनले आÏनो विवशता सुनाए, ‘उमेरकी पत्नीलाई छाडेर आएको छु । सधैँ चिन्ता लागिरहन्छ कि घर भाँडिने पो हो कि, कुनै पनि बेला उनको मन फेरिएर जीवनमा ठूलै संकट पो पर्ने हो कि ?’
उनी सुनाउँछन्, ‘पैसा पनि कति पठाउँ कति नपठाउँ ।’ उसको नाममा मात्र पठाउँदा भोलि बिचल्लीमा परिने हो कि ? उनको चिन्ता अस्वाभाविक थिएन । दिनहुँ पत्नीसँग पनि फेसबुक र स्काइपमा रत्तिने उनी आÏनै भाइबुहारीले दिएको धोकाले झस्किन्छन् । विदेशमा भाइ दु:ख गरिरहेको छ । कमाएको पैसा र पत्नीसँग अर्कैले रमाइलो गरिरहेको छ । घरमा भएका साना बच्चाहरू बिचल्लीमा छन् । बुढेसकालमा आमाबाबु उस्तै गुनासो गरिरहेका छन् । छोराले त सुख दिएन नै उल्टै नातिनातिना पनि स्याहार्नुपरेको छ । बैदेशिक रोजगारीका लागि लेबनान गएकी काभ्रेकी जमुना मगरको केहीदिन अघि शव आएको छ । परिवारजनले उनको हत्या भएको बताएका छन् भने लेबनान र उनका रोजगारदाताले आत्महत्या भनेका छन् । तथ्यांक हेर्दा प्रत्येक जिल्लाबाट नेपाली भूमि हँुदै र भारतीय भूमि प्रयोग गर्दै पाँच हजारका हाराहारीमा महिला पनि वैदेशिक रोजगारीका लागि भारत जाने गरेको पाइएको छ । तर, उनीहरूले त्यहाँ पाएको सास्ती सुन्न सकिने अवस्था छैन । पछिल्लो पटक भोजपुरबाट बिदेसिनेमा ४० प्रतिशत महिला, युवती छन् । तीमध्ये अधिकांश अशिक्षित र अदक्ष कामदार । रोजगारदाताले दिने यातना सहन नसकेर घरको छतबाट हाम्फाल्न तयार थुप्रै नेपाली महिलाका ताडनाका कथा बेलाबखत सार्वजनिक भइरहन्छन् । रोजगारदाताले दिएको यातना, हिंसा र यौन हिंसाका कारण कतिपय महिला नेपाल फर्केका छन् । तर, उनीहरू नेपाल फर्किएपछि पनि त्यस्तो दु:ख लुकाइरहेका हुन्छन् । कारण उही छ, विदेशी भूमिमा त सुख भएन, नेपालमा त्यहाँका सबै घटनाभन्दा पतिबाट अलग हुनुपर्ला भन्ने डर, बालबच्चाको बिचल्ली, कतिपय महिला अशक्त भएर पनि घर फर्केका छन् ।
ग्रामीण भेगमा जतिसुकै चेतना र शिक्षाका बहस चले पनि अहिले पनि दलालहरूले सोझासाझा महिलालाई भारतीय भूमिमार्फत विदेश पठाउने नाममा मानवतस्करी गर्न छाडेका छैनन् । भारत छिर्नका लागि ग्रामीण भेगका नाका नै काफी छन्, वीरगन्ज, नेपालगन्ज, भैरहवाजस्ता नाका हुँदै छिर्नुपर्छ भन्ने छैन, अघिल्लो सातामात्र पर्सा पोखरियाका तीन दलित महिलालाई भारत लैजान खोज्ने दुई तस्करलाई स्थानीय महिलाले नियन्त्रणमा लिएर प्रहरीमा बुझाए । उनीहरूले बजार नाकाबाट भारत जाँदा समातिने डरले ग्रामीण भेगको बाटो रोजेका थिए । यसरी नै भारतीय भूमिमार्फत अरब र खाडीमा पुग्ने महिलाको संख्या यकिन छैन । त्यो भन्दा पनि ग्रामीण भेगका अधिकांश पुरुष वैदेशिक रोजगारीका लागि विदेश र सहरमा बसेकाले पनि मानव तस्करका लागि ग्रामीण भेग सुनको अन्डा बन्दै गएको छ । मानव तस्करका सञ्जाल ग्रामीण भेगमा अनेक बहानामा पुगिरहेका छन् । हेर्दा कुनै व्यापार व्यवसाय गरिरहेको बहानामा पुगे पनि उनीहरू नै ग्रामीण भेगका महिलालाई भारतीय भूमिसम्म पुर्‍याउने गिरोहका सदस्य पनि हुन सक्छन् । नागरिकता, एमआरपीसम्म बनाएर विदेश पठाउने गिरोह ग्रामीण भेगसम्म पुगिरहेका छन् ।
भारतीय भूमि हुँदै विदेशमा पुगेका महिलाहरू हत्या, हिंसाका सिकार त हुन्छन् नै † उनीहरूको पारिवारिक बिछोड, बालबालिकाको बिचल्ली पनि समस्या बनेको छ । जति महिला तथा पुरुषहरू सन्तानलाई भविष्यमा सुख दिने आशामा विदेश गइरहेका छन्, त्यति नै नेपालमा भने उनीहरूका बालबालिका शिक्षा, स्वास्थ्य, सामाजिकीकरणमा पछौटेपनको सिकार भइरहेका छन् । सहरमा बेचविखन र सचेतीकरणका जति कार्यक्रम बढिरहेका छन्, त्यति नै ग्रामीण भेगमा विवाहिता महिलाको बेचविखन बढ्दो छ । यसले उनीहरूको परिवार र बालबालिकामा परिरहेको असरबारे पनि अब बहस सुरु हुन जरुरी छ । महिला बेचविखनसँगै बालबालिकाको बिचल्लीको विषयलाई पनि सम्बोधन गरिनुपर्छ ।

प्रतिक्रिया