संगीना सम्मानित

काठमाडौं, ७ असोज । ‘त्रिशूली–काठमाडौं समाज’ ले तेक्वान्दोकी चर्चित खेलाडी ओलम्पियन संगीना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय जगतमा खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान अभिवृद्धि गर्न योगदान पुर्‍याएबापत संगीनालाई सम्मान गरिएको हो । संगीना पनि त्रिशूलीकै हुन् । समाजद्वारा बालाजुमा आयोजित चौथो त्रिशूली चेलीबेटी भेलामा संस्कृतिविद् सत्यमोहन जोशीले संगीनालाई नगद २० हजारसहित ताम्रपत्र प्रदान गरी सम्मान गरे ।
संगीना छनोटचरण पार गरी ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । छनोटचरण पार गर्दै संगीनाले एथेन्स ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् । संगीना १९९६ मा अस्ट्रेलियामा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा तथा आठौँ र नवौँ दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा पनि स्वर्णपदक विजेता हुन् ।

प्रतिक्रिया