बंगलादेशका इस्लामलाई उपाधि

काठमाडैां, ५ असोज । माउन्ट गौरीशंकर अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि बंगलादेशी एफएम इस्लाम इनामुलले जितेका छन् । प्रतियोगितामा अपराजित रहँदै ८.५ अंक जोड्न सफल इस्लामले बिहीबार सम्पन्न दसौँ चरणको खेलमा नेपालका राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरी खेले । इस्लामले ३० हजार रुपियाँ पुरस्कार पाए । राजेन्द्रप्रसाद दुई वर्षअघि चरिकोटमा सम्पन्न एनसिसी कपका विजेता हुन् ।
नेपालका फिडेमास्टर मनीष हमाललाई पराजित गर्दै अस्ट्रेलियाका आइएम अलेक्जेन्डर बल ८ अंकका साथ दोस्रो स्थानमा रहे । त्यस्तै, भारतका आइएम अतानु लाहिरी पूर्वनेपाल च्याम्पियन शूरवीर लामालाई हराउँदै तेस्रो स्थानमा रहन सफल भए । फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेट मास्टर केशव श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ तथा बद्रीलाल नेपाली समान ७.५ अंक हासिल गर्दै चौथोदेखि सातौँ स्थानमा रहन सफल भए । दसौँ चरणमा विलमलालले भारतका सौभिक चक्रवर्तीसँग बराबरी खेले भने केशवले मदनकृष्ण कायस्थलाई हराए । उता बद्रीलालले भारतका सौरभ आनन्दलाई हराए ।
शूरवीर लामा, मनीष हमाल, भारतका अन्तरिप रोय तथा सौभिक चक्रवर्ती, ध्रुवतारा क्लब झापा नेपालका निरज निरौला, र ललितपुरका राजन पुरी समान ७ अंक हासिल गर्दै आठौँदेखी तेह्रौँ स्थानमा रहे । त्यस्तै मिलन रोका, प्रकाश नेपाल, रवीन्द्र श्रेष्ठ, कृष्ण थापा, सुरज पण्डित, आशीष राज तथा धिरव राजथला समान ६.५ अंकका साथ चौधौँदेखि बीसौँ स्थानमा रहे ।
अनरेटेडतर्फ भारतका आसुतोश कुमार तथा नारायण गाहा पहिलो तथा दोस्रो स्थानमा रहे । रेटिङ समूहतर्फ १९०० देखि २०९९ मा नेपालका मदनकृष्ण कायस्थ, १७५१ देखि १८९९ मा भारतका १० वर्षीय सौरभ आनन्द, १६०० देखि १७५० समूहमा  भारतका अभिषेक सोनु तथा १६०० भन्दा मुनि नेपालका भरत धिमाल अब्बल रहे । उत्कृष्ट स्थानीय खेलाडीको पुरस्कार सेरा ओङजु शेर्पाले हात पारे भने दीपक दाहाल र विक्रमध्वज श्रेष्ठ दोस्रो तथा तेस्रो स्थानमा रहे ।
नेपालका गणेशमान दुवालले भेट्रानतर्फको पुरस्कार हात पारे भने १० वर्षमुनि उमेरसमूहमा भारत सिक्किमका राहुल गुरुङ उत्कृष्ट रहे । उता १३ वर्षमुनि उमेरसमूहमा भारतका सोन्कालन भारती तथा १७ वर्ष उमेरसमूहमा रौनक मण्डल पुरस्कृत भए ।
महिलातर्फ भने भारतकी सिन्जिनी विश्वास र नेपालकी अनुषा पाण्डे सफल रहे । ३० भदौबाट सुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र अस्ट्रेलिया गरी ५ देशका १ सय २६ खेलाडीको सहभागिता थियो । कुल २ लाख २ हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगिता जिल्ला बुद्धिचाल संघ तथा नेपाल चेस क्लब दोलखाले संयुक्तरूपमा आयोजना गरेका हुन् ।

प्रतिक्रिया