मन र अनुपम सेमिफाइनलमा

काठमाडौं, ५ असोज । हाँडीगाउँका मनबहादुर बुढाथोकी र कोटेश्वरका अनुपम न्यौपाने विशालनगर पुस्तकालय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरूसँगै कोटेश्वरका नीरविक्रम देवकोटा र जी–फोर स्पोटर््स क्लब, दोलखाका पुजन श्रेष्ठ पनि अन्तिम चारमा स्थान बनाउन सफल रहे । बेस्ट अफ थ्रीको क्वार्टरफाइनलका सबै खेलको निर्णय तेस्रो तथा अन्तिम सेटमा मात्र सम्भव भयो ।
हाँडीगाउँस्थित आयोजक विशालनगर पुस्तकालयको कोर्टमा भएको क्वार्टरफाइनलमा मनले ललितपुरका प्रवीण शाक्यलाई २१–१९, २६–२८ र २१–१९, अनुपमले ललितपुरका शशिन डंगोललाई २१–१४, १९–२१ र २१–१६, नीरले नक्सालका राजेन्द्रबहादुर बमलाई २१–१८, १३–२१ र २२–२० तथा पुजनले ताप्लेजुङ युथ क्लबका शीतल सिंहलाई १३–२१, २१–१८ र २१–१७ को सेटमा पाखा लगाए ।
सेमिफाइनलमा मनले नीरसँग खेल्नेछन् भने अनुपमले पुजनको सामना गर्नेछन् ।
पुरुष डबल्समा जी–फोरका उमेश गुरुङ र खेम बुर्जाको जोडीले कोटेश्वरका राजु देउजा र महेश भट्टराईको जोडीलाई २१–१२ र २१–१४, ललितपुरका उज्ज्वल दाहाल र सृजन ताम्राकारको जोडीले हाँडीगाउँका महेश स्वाँर र रमेश डंगोलको जोडीलाई २१–१३ र २१–१७ तथा हाँडीगाउँका रामकृष्ण प्रजापति र दत्त थापाको जोडीले रातेमाटे क्लब, नरेफाँटका विजय थापा र श्याम कट्वालको जोडीलाई २१–१३, १८–२१ र २१–९ ले पराजित गरी सेमिफाइनलमा पुगे । एक क्वार्टरफाइनल हुन बाँकी छ ।

प्रतिक्रिया