यस्तो छ पूर्वराजाको घुमफिर कार्यक्रम

पोखरा, ४ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि बिहीबारदेखि साताव्यापी गण्डकी र धौलागिरिको भ्रमणमा आउँदै छन् । पूर्वराजा शाह पोखराको फिस्टेल लजमा बस्ने कार्यक्रम बनेको छ ।

स्वागत समितिका अनुसार बिहीबार दिउँसो १:३० बजे पोखरा विमानस्थलबाट पूर्वराजालाई लेकसाइडस्थित फिस्टेल गेटसम्म पञ्चेबाजा, पञ्चकन्यासहित स्वागत गर्ने तयारी गरिएको छ । स्वागतमा जनसहभागिता बढाउन नागरिक स्वागत समितिले बुधबार कास्कीमा माइकिङ गरेको थियो ।
पूर्वराजा शाहले फिस्टेल लजमा साँझ केही शुभेच्छुक र शुभचिन्तकसँग गोप्य भेटवार्ता गर्नेछन् । भेटवार्तामा मूलधारमा रहेका केही असन्तुष्ट नेता–कार्यकर्तासमेत सहभागी रहने बताइएको छ । संयोजक गणेशबहादुर गुरुङले भेटवार्ता गोप्य नभएको बताएका छन् ।
पूर्वराजा शाह शुक्रबार पोखराबाट धौलागिरिको म्याग्दी बेनी प्रस्थान गर्नेछन् । म्याग्दीको बेनीमा रहेको भर्तिकल बम शिवालय र गलेश्वरमा दर्शन गर्न पुग्ने उनलाई बेनीबजारमा कृष्णप्रसाद शर्माको संयोजकत्व समितिले स्वागत गर्नेछ । त्यस्तै गलेश्वरमा पूर्वराजपरिषद् सदस्य रुद्रबहादुर केसीको संयोजकत्वमा गठित नागरिक स्वागत अभिवादन टोलीले स्वागत गर्ने कार्यक्रम छ । त्यहाँ उनले नागरिकसँग केही समय बिताउनेछन् । शुक्रबार पूर्वराजा शाह बेनीमै बस्ने कार्यक्रम छ । उनले त्यहाँ पनि शुभेच्छुक र शुभचिन्तकसँग भेटघाट गर्नेछन् ।
६ गते शनिबार पूर्वराजा शाह बाग्लुङकालिका र पर्वतको कुष्मामा रहेको गायत्रीमाता मन्दिरमा पूजा गरेर पोखरा फर्कनेछन् । बागलुङ, बेनी र पर्वतमा पूर्वराजाको स्वागतका लागि सहभागी हुन उनका समर्थकले बुधबारदेखि नै माइकिङ गरिसकेका छन् । शाह ७ असोजमा स्याङ्जा जानेछन् । स्याङ्जाको गुणीखोलास्थित धनुषेश्वर महादेव दर्शनका लागि पुग्ने उनले स्थानीय नागरिकसँग भेटघाट गर्नेछन् भने उनलाई सदरमुकामस्थित पुतलीबजारमा नागरिक अभिवादन समिति र शुभचिन्तकले स्वागत गर्नेछन् ।
शाह साँझ पोखरा फिर्नेछन् र उनको समेत लगानी रहेको फिस्टेल लजमै बस्नेछन् । ८ असोजमा शाह तनहुँ पुग्नेछन् भने दमौलीमा पञ्चमन्दिरको दर्शन गर्नेछन् । साँझ पोखरा फर्कने उनी ९ असोजमा विन्ध्यवासिनीको दर्शनमा सरिक हुनेछन् । १० असोजमा उनले बौद्ध मन्दिरको दर्शन गर्ने छन् ।
नेपालको राजनीति तरल अवस्थामा रहेका बेला पूर्वराजाले गर्ने भनिएका यस्ता धार्मिक आवरणका भ्रमणले आफ्नो शक्ति जाँच र शक्तिआर्जन गर्ने माध्यमको रूपमा पनि समय उपयोग गर्ने आशंका गरिएको छ । पूर्वराजा ज्ञानेन्द्रको यो भ्रमण धार्मिक भनिए पनि यसलाई राजनीतिको ‘चलखेल’ को संज्ञासमेत दिइएको छ । शाहले केही समयअघि मध्य तथा सुदूरपश्चिमको भ्रमण गरिसकेका छन् ।
पछिल्लोपटक लुम्बिनी भ्रमणका बेला आफूनिकटबाट पाएको जयजयकारबाट हौसिएका पूर्वराजा शाह लगत्तै युरोप गएका थिए । उनको युरोप यात्रापछिको यो भ्रमणपछि अब मध्यपश्चिम क्षेत्रको भ्रमणमा निस्कने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
‘धर्मको नाममा सक्रिय हुने प्रपञ्च’
पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमणलाई त्यति महत्त्व दिन नहुने तर उनको गतिविधिको निगरानी गर्नुपर्ने दलका नेताहरूको प्रतिक्रिया छ । नेकपा (एमाले) का वैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीले पूर्वराजाको धार्मिक आवरणको भ्रमण अर्थहीन र डेट–एक्सपायर्ड औषधिजस्तै भएको प्रतिक्रिया दिए । उनले पूर्वराजाको धार्मिक आवरणको भ्रमणमा हुने गरेका क्रियाकलाप आपत्तिजनक रहेको भन्दै त्यस्तो क्रियाकलाप रोक्नुपर्ने बताए ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य शुक्रराज शर्माले पूर्वराजाले धार्मिक आवरणमा गर्ने क्रियाकलापले उनको बचेको छवि पनि खत्तम पार्नमा उद्यत हुने टिप्पणी गरे ।
एकीकृत नेकपा (माओवादी) का तमुवान राज्य सम्मेलन आयोजक समिति सदस्य रामजी बरालले पूर्वराजाको भ्रमण संक्रमणकाललाई उपयोग गरेर फेरि राजा बन्ने षड्यन्त्रको रूपमा लिए ।

प्रतिक्रिया