पिटरसन टोलीमा परेनन्

लन्डन, ३ असोज । इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) सँग सम्बन्ध सुमधूर नबनिरहेका बेला केभिन पिटरसन भारतविरुद्ध नोभेम्बरमा सुरु हुने टेस्ट शृंखलाका लागि मंगलबार घोषित राष्ट्रिय टोलीमा अटाउन सकेनन् । जोए रुट र निक कम्पटनलाई टोलीमा बोलाइएको छ भने इयान मोर्गन टिममा फिर्ता भएका छन् । मोन्टी पानेसर, ग्रिम स्वान र समित पटेलले इंग्ल्यान्डको स्पिन बलिङ सम्हाल्नेछन् ।

इसिबीसँग विवाद समाधानको छलफलकै क्रममा रहेका पिटरसन यतिबेला श्रीलंकामा जारी आइसिसी टी–ट्वान्टी विश्वकपका लागि ‘टिभी पण्डित’ को काम गरिरहेका छन् । केही महिनाअघि सीमित ओभरको प्रतिस्पर्धाबाट पिटरसनले सन्न्यास लिइसकेका छन् ।
गत साता भएको केन्द्रीय सम्झौतामा इसिबीले अहिलेका राष्ट्रिय क्रिकेटरमध्येका निकै अनुभवी र प्रतिभाशाली यी ३२ वर्षीय ब्याट्सम्यानलाई समेटेको थिएन । यसलगत्तै उनलाई टेस्ट टोलीमा नरहन सक्ने अनुमान गरिएको थियो । ‘इसिबीका प्रबन्ध निर्देशक हयुज मोरिसले विवाद मिलाउन पिटरसन र इसिबीबीच जारी छलफल नटुंगिएको कारण उनलाई आसन्न भारत भ्रमणका लागि छनोट नगरिएको बताए । ‘इसिबी र इंग्लिस क्रिकेट व्यवस्थापन विवादका विषयमा पिटरसनसँग छलफल गरिरहेका छन्,’ मोरिसले भने, ‘छलफल निकै निजी भइरहेको छ र सकारात्मक दिशातर्फ अगाडि बढिरहेको छ । निचोड ननिस्किएकाले पिटरसनलाई टोलीमा समावेश गर्ने विषयमा प्रक्रिया अगाडि बढेन ।’ दक्षिण अफ्रिकाविरुद्ध केही महिनाअघि भएको टेस्ट शृंखला दौरान आफ्ना खेलाडीबारे विपक्षी टिमका खेलाडीलाई एसएमएस आदान–प्रदान गरेको विषयमा पिटरसन विवादमा तानिएका थिए । सोही विषयमा उनलाई उक्त शृंखलाको तेस्रो तथा अन्तिम म्याचमा समावेश गरिएको थिएन ।
पिटरसन र भरखरै सन्न्यास लिएका एन्ड्रयु स्ट्रसको अनुपस्थितिले इंग्ल्यान्डलाई भारतविरुद्धको आसन्न शृंखलामा अनुभवी खेलाडीको खाँचो हुने पक्का छ । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला हारपछि तत्कालीन कप्तान स्ट्रसले सबै स्वरूपको क्रिकेटबाट सन्न्यास लिएका थिए । टेस्ट क्रिकेटमा ८८ अन्तर्राष्ट्रिय म्याच खेल्ने क्रममा पिटरसनले १ सय ५१ इनिङ खेल्दै २१ शतक र २७ अर्धशतक प्रहार गरेका थिए ।
अनुभवी खेलाडीको संकटका बीच राम्रो लयमा नहुँदा नहँुदै पनि इसिबीले मोर्गनलाई टोलीमा समावेश गरेको छ । युएईमा पाकिस्तानविरुद्ध टेस्ट शृंखला खेलेपछि मोर्गनले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् । नयाँ ब्याट्सम्यानद्वय कम्पटन र रुट टोलीमा समावेश भए पनि उनीहरू पहिलो रोजाइमा पर्न सक्ने सम्भावना कम छ । कम्पटनले यस वर्षको इंग्ल्यान्ड क्रिकेट लिगमा सबैभन्दा बढी रन बनाएका छन् ।
इंग्लिस टोलीमा रवि बोपारा र जेम्स टेलर पनि छैनन् । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला र त्यसपछि सोही टोलीविरुद्ध खेलिएको एकदिवसीय शृंखलामा कमजोर प्रदर्शन गरे पनि उनी टेस्ट टोलीमा नरहन सक्ने अनुमान गरिएको थियो ।
इंग्ल्यान्ड टोली : एलिस्टर कुक (कप्तान), जेम्स एन्डरसन, जोन बैरस्ट, इयान बेल, टिम ब्रेनसेन, स्टुवार्ड ब्रड, निक केम्पटन, स्टिभन फिन, ग्रिम ओनिअन्स, इयान मोर्गन, मोन्टी पानेसर, समित पटेल, म्याट प्राअर, जोए रुट, ग्रिम स्वान र जोनाथन ट्रट ।

प्रतिक्रिया