शीर्ष बैठक पुनः निष्कर्ष विहिन

काठमाडौं, ३१ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बसेको प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष सक्किएको छ ।
नयाँ बानेश्वरस्थित विशेष समितिको कार्यालयमा आज बेलुका बसेको बैठकमा संविधानसभा पुनःस्थापना वा नयाँ निर्वाचन भन्ने दुई विषय छलफल भएको नेताहरुले बताएका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस सभापति सुशील कोइरालाले निकासका लागि दलहरुका बीच बार्ता शुरु भएको भन्दै सबै दलहरु सहमत भए संविधानसभा पुनःस्थापना हुन सक्ने बताए । उनले राजनीतिक सहमति हुन नसके नयाँ निर्वाचन भन्दा अर्को विकल्प नरहेको बताए ।
‘वार्ता र सम्वाद शुरु भएको छ,’ उनले भने, ‘राजनीतिक सहमति हुन्छ भने संविधानसभा पुनःस्थापना हुन्छ अन्यथा नयाँ निर्वाचन गर्नु पर्छ ।’
एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले दलहरुका बीच वार्ताको शुरुवात भएकाले केही दिन भित्र निकास आउने बताए । उनले सहमतिबाटै निकास आउने उल्लेख गरे ।
एमाले महासचिव ईश्वर पोखरेलले सहमतिका लागि दलहरुले गर्ने भालीबाट गर्ने प्रयासले निकासको संकेत गर्ने बताए । उनले भने, ‘अब हेरौं प्रमुख दलहरुले निकासका लागि भोलीबाट केस्तो प्रयास गर्छन् ।’ बैठक पुनः पर्सी मंगलबार विहान बस्ने छ ।
कांग्रेस र एमालेले पहिला कामचलाउ सरकारलाई विस्तापित गर्न माग गरे पनि एमाओवादी र मधेसी मोर्चाले सो विषयलाई पछि प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
बैठकमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया