विजेतालाई जनही तीन लाख रुपियाँ

काठमाडौं, २९ भदौ । सरकारले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) वल्र्ड क्रिकेट लिग डिभिजन–फोरको च्याम्पियन तथा डिभिजन–थ्री उक्लन सफल नेपाली राष्ट्रिय टोलीका सदस्यलाई जनही तीन/तीन लाख रुपियाँ दिने बिहीबार निर्णय गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता (साग, एसियाड र ओलम्पिक खेलकुद) बाहेकका प्रतियोगितामा पदक जित्ने तथा विजेता हुने टिम वा खेलाडीलाई सरकारका तर्फबाट यो अहिलेसम्मकै सबैभन्दा उच्च पुरस्कार हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय टिमका १४ सदस्यीय खेलाडी र प्रशिक्षकलाई तीन/तीन लाख रुपियाँ दिने निर्णय गरेको बैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता राजकिशोर यादवले जानकारी दिए ।
यसअघि केही दिनअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिभिजन–थ्री प्रवेश गर्नुका साथै डिभिजन–फोरको च्याम्पियन बनेर राष्ट्रिय गौरव बढाएको भन्दै प्रेषित शुभकामना वक्तव्यमा सफलता दिलाउने टिम तथा त्यसका सदस्यलाई उच्च मूल्यांकन गर्दै  विशेष सम्मानस्वरूप उचित पुरस्कार प्रदान गरिने बताएका थिए ।
दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद (एसियाड) र ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीलाई मात्र सरकारले प्रतियोगितापूर्व नै निश्चित पुरस्कारको घोषणा गरेको छ । यी बाहेकका प्रतियोगितामा भने प्राप्त सफलताअनुसार मात्र सम्बन्धित निकाय र सरकारले पुरस्कार दिने चलन रहेको छ ।
सागमा स्वर्णपदक जित्ने खेलाडीले अहिले तीन लाख रुपियाँ पाउने गरेका छन् । यस अर्थमा नेपाली क्रिकेटरले पाएको पुरस्कार साग स्वर्णपदक विजेताबराबर हो । नेपालले अहिलेसम्म एसियाड र ओलम्पिक खेलकुदमा स्वर्णपदक जित्न सकेको छैन । लगातार चारपटक सागमा स्वर्ण जितेबापत ११आँै सागपछि तेक्वान्दो खेलाडी दीपक विष्टलाई पुरस्कारस्वरूप सरकारले १० लाख र उनको खुट्टाको उपचारबापत अर्को १० लाख गरी २० लाख रुपियाँ दिएको थियो ।
नेपाली खेलकुदमा धेरै अघिदेखि नै अन्तर्राष्ट्रिय सफलता दिलाएलगत्तै तिनलाई सरकारले सम्मान गर्ने गरेको हो । सन् १९७३ को एसियन ट्रयाक एन्ड फिल्डमा जितबहादुर केसीले कांस्यपदक जित्दा उनलाई पछि सरकारले पाँच सय रुपियाँ पुरस्कारस्वरूप प्रदान गरेको थियो । ‘त्यतिबेला एक्कासि सो पुरस्कार रकम घोषणा भएको थियो । यसले निकै हौसला पनि मिल्यो,’ उक्त सफलताका कारण नेपालको पहिलो अन्तर्राष्ट्रिय पदकविजेता खेलाडी बन्न सफल जितबहादुर सम्झन्छन् ।
त्यसपछि सफल खेलाडीलाई सम्मान गर्ने काम भने चली नै रहयो । तर पूर्वघोषणाको चलन भने तेस्रो सागबाट सुरु भएको हो । ‘मैले राजा वीरेन्द्रसँग अनुरोध गरेको थिएँ, उहाँले पछि व्यवस्था गरिदिनुभयो,’ सागमा लगातार तीन स्वर्णपदक जित्न सफल धावक वैकुण्ठ मानन्धर भन्छन् । मरिचमान सिंह प्रधानमन्त्री रहेको उक्त समयमा सागमा स्वर्ण जित्नेलाई एक लाख, रजत जित्नेलाई ६६ हजार र कांस्यपदक जित्नेलाई ३३ हजार रुपियाँ दिने घोषणा गरिएको थियो । घोषणा गरिएको रकमको प्रतियोगिताबाहेक प्रतियोगितामा सफलता हात पार्ने खेलाडीलाई भने लामो समयसम्म राज्यबाट सम्मान वा पुरस्कृत गर्ने गतिविधि भएनन् । तर पछिल्लो समय क्रमश: यो स्थिति हट्दै गएको छ । गत वर्ष एसिसी महिला यु–१९ एलिटकप जितेको नेपाली टोलीका सदस्यलाई पनि सरकारले जनही दुई लाख रुपियाँ प्रदान गरेको थियो । एसिसी यु–१९ महिला एलिटकपमा हयाट्रिक गरेपछि सरकारले उक्त सम्मान गरेको थियो । ‘खेलाडीले मिहिनेत गरेअनुसारको सम्मान पाए,’ नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का भन्छन्, ‘क्षमता बोकेको खेलमा राज्यले बुझेर सम्मान गर्दा नयाँ तथा पुराना सबै खेलाडीलाई उत्साही बनाएको छ ।’ नेपाल क्रिकेट संघ (क्यान) ले पनि भरखरै सफलता हात पारेको उक्त टिमका सदस्यलाई जनही ३० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया