चित्रकारलाई खेलकुद पत्रकारिता सम्मान

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो १७औँ स्थापना दिवसको अवसर पारेर बुधबार वरिष्ठ खेल पत्रकार श्याम चित्रकारलाई ‘एनएसजेएफ खेलकुद पत्रकारिता’ सम्मान प्रदान गरेको छ । २०२६ सालबाट स्वतन्त्र पत्रकारिता सुरु गरेका चित्रकार नेपाल टेलिभजन स्थापनाकालका क्यामरा पर्सन हुन् ।
७१ वर्षे चित्रकारलाई वरिष्ठ सञ्चारकर्मी एवं प्राध्यापक रामकृष्ण रेग्मीले सम्मानपत्र प्रदान गरे । चित्रकारलाई सम्मानपत्रसहित नगद १० हजार रुपियाँ प्रदान गरियो । सम्मानपछि भावुक भएका चित्रकारले लामो पत्रकारिता जीवनको कदर गरेकोमा धन्यवाद दिए ।
प्राध्यापक रेग्मीले समाजको प्रतिनिधिका रूपमा पत्रकारितामा लामो योगदान पुर्‍याएबापत मञ्चले गरेको सम्मान समग्र पत्रकारिता क्षेत्रकै कोशेढुंगाको रूपमा स्थापन हुने बताए । रेग्मीले नेपाली खेलकुद पत्रकारिताले एउटा ‘बिट’ को रूपमा आफूलाई स्थापन गरिसकेकाले अबका दिनमा विश्लेषणात्मक समाचारमा जोड दिनुपर्ने र खेलकुद पत्रकारिताका बारेमा नै अध्ययन अनुसन्धानलाई अगाडि बढाउनुपर्ने बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले खेलकुद र खेलकुद पत्रकारिता सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सञ्चारमाध्यम गरी हामीले खेलकुद विकासका लागि चार पक्ष महत्त्वपूर्ण हुने आँैल्याएका छौँ ।’ समाजको राम्रो–नराम्रो सम्पूर्ण पक्षलाई सञ्चारमाध्यमले अगाडि ल्याउने बताउँदै लामाले भने । नेपाल पयर्टन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले नेपाली समाजमा बधाई र धन्यवाद दिनेहरूको संकट चुलिरहेका बेला यस सम्मानले राम्रो परिपाटीको विकास गरेको प्रतिक्रिया दिए ।
उनले राष्ट्रिय विकासकै लागि खेलकुद र पयर्टनबीच सहकार्य हुन सक्ने धारणा राखे । सोही अवसरमा गत असारमा सम्पन्न पल्सर स्पोटर््स अवार्डलाई साथ दिने हंसराज एन्ड हुलासचन्द कम्पनी, आइएसएमई प्रालि, सूर्य नेपाल प्रालि, डिस मिडिया नेटवर्क प्रालि, टिएचटी लाइभ, एभिन्युज टेलिभिजन, राखेप, होटल रोयल सिङ्गी, वेस्टर्न युनियन, न्यु होराइजन कार्पेट प्रालिलाई कदरपत्र प्रदान गरिएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च २७ भदौ २०५२ मा स्थापना भएको थियो । चित्रकारलाई सम्मान गरी मञ्चले पहिलोपटक खेलपत्रकारलाई सम्मान गर्ने काम थालेको हो । (सौस)

प्रतिक्रिया