७६ वर्षपछि ग्रान्डस्लाम जित्ने पहिलो बेलायती

न्युयोर्क, २७ भदौ । पाँचाँैपटकको फाइनल भिडन्तमा सफल भएपछि एन्डी मर्रेले ग्रान्डस्लाम टेनिसमा बेलायतको ७६ वर्ष लामो निरासापूर्ण यात्रा टुंग्याएका छन् । दोस्रो वरीयताका नोभाक जोकोभिकलाई पाँच सेटमा पराजित गरी मर्रे सन् १९३६ पछि ग्रान्डस्लाम जित्ने पहिलो बेलायती खेलाडी बनेका हुन् ।
सुरुआती दुई सेट जितेर पनि थप तीन सेट खेल्नुपर्ने स्थितिमा पुगेका २६ वर्षीय स्कटिस मरेले जोकोभिकविरुद्ध ७–६, ७–५, २–६, ३–६ र ६–२ ले विजयी भए । ‘अहिलेको क्षणलाई सम्बोधन गर्ने शब्द भनेको रिलिफ हो ।’ ऐतिहासिक सफलता हात पारेपछि २५ वर्षीय स्कटिस मरेले भने, ‘विगतमा म धेरैपटक फाइनल पुगेको थिएँ तर हरेकपटक पराजित भएको थिएँ । यसले गर्दा मानिसहरू मरेले ग्रान्डस्लाम जित्न सक्दैनन् भनिरहेका थिए तर अब कुनै आशंका रहनेछैन ।’
सन् २००८ को युएस ओपनमार्फत पहिलोपटक ग्रान्डस्लाम फाइनल पुगे पनि मरे उपाधि भिडन्तमा रोजर फेडेररद्वारा पराजित भए । त्यसपछि सन् २०१० को अस्ट्रेलियन ओपनमा पनि उनी फाइनल पुगेका थिए यसपटक पनि उनलाई फेडेररले हराए । सन् २०११ को अस्ट्रेलियन ओपनमा उनी पुन: फाइनल पुगे तर यसपटक उनी नोभाक जोकोभिकद्वारा उपाधि जित्नबाट रोकिए ।
यसै वर्षको विम्बल्डनमा उनले फाइनल यात्रा तय गरेका थिए तर पहिले जस्तै फेरि पनि फेडेररले मरेलाई ग्रान्डस्लाम च्याम्पियन हुनबाट रोके । यद्यपि, उनले आफूलाई सदैव एउटा ‘ग्रेट प्लेयर’ का रूपमा छवि स्थापन गरे । यसैक्रममा मरेले केही साताअघि सम्पन्न लन्डन ओलम्पिक खेलकुदमा स्वर्णपदक जिते । यसपटक उनले फेडेररलाई फाइनलमा हराएका थिए, फेडेरर अर्थात् जसले उनलाई तीनपटक ग्रान्डस्लामको फाइनलमा निराश बनाएका थिए ।
यसले समकालीन टेनिसमा ‘विग–थ्री’ को सट्टा ‘विग–फोर’ को चर्चा निकै भयो । विग–फोर अर्थात् फेडेरर, राफेल नाडाल, नोभाक जोकोभिक र यी ठूला खेलाडीको सूचीमा थपिएको नयाँ नाम थियो एन्डी मरे । फेडेरर, नाडाल र जोकोभिकले पछिल्ला ३१ मध्ये २९ वटा ग्रान्डस्लाम जितेका छन् ।
यद्यपि यो विषय निकै विवादपूर्ण रहयो । ग्रान्डस्लाम नै नजित्ने खेलाडी ठूला कसरी हुन सक्छन् भन्ने तर्क टेनिसवृत्तमा व्यापक आए । हुन पनि ग्रान्डस्लाम टेनिस खेलाडीको महानता जाँच्ने गतिलो कसी बन्ने गरेको छ । र, लगातार चार ग्रान्डस्लामको फाइनलमा पुगेका र त्यसक्रममा लगातार तीन ग्रान्डस्लाम जितेका जोकोभिकलाई हराएर युएस ओपन जित्दै मरेले आफ्नो ‘महानता’ का सबै आशंका हटाइदिए ।
‘ओलम्पिक जितेपछि पनि,’ मरेले भने, ‘मैले आफैलाई बारम्बार प्रश्न गरिरहन्थँे, ‘तिमी कहिले ग्रान्डस्लाम जित्छौ ।’ यता जोकोभिकले पनि हार्दिकताका साथ आत्मसमर्पण गरे, ‘यसपटक मरे निर्विकल्प थिए । यस प्रतियोगितामा उनीभन्दा हकदार अरू कोही पनि थिएन ।’
गत जुनमा फेडेररविरुद्ध विम्बल्डन फाइनल हारेपछि मरेले रुँदै भनेका थिए, ‘म नजिकिइरहेको छु ।’ तर गन्तव्यमा कहिले पुगिन्छ भन्ने उनलाई सायदै थाहा थिएन तर जोकोभिकविरुद्धको पछिल्लो भिडन्तमा मरे निकै सशक्त देखिए । पहिलो सेट २५ मिनेट लगाएर जितेका उनी दोस्रोमा ४–० को अग्रता लिन सफल भएका थिए । फ्रेड पेरीले अन्तिमपटक बेलायतका लाग्ीि ग्रान्डस्लाम उपाधि दिलाएका थिए ।
सन् १९६८ मा प्रोफेसनल एरा सुरु भएयता चार ग्रान्डस्लामको फाइनलमा पराजित हुने दुई बेलायती खेलाडीमध्येका एक हुन्– मरे । उनीबाहेक उक्त नतिजा व्यहोर्ने इभान लेन्ड हुन् जो अहिले मरेका प्रशिक्षक छन् ।
यता पछिल्लो दुई वर्ष ग्रान्डस्लाम टेनिसमा निकै सशक्त उपस्थिति देखाएका जोकोभिक भने लगातार दुई ग्रान्डस्लाम फाइनलमा पराजित भए । सन् २०११ को अस्ट्रेलियन ओपन जितेका जोकोभिकले सोही वर्षको विम्बल्डनदेखि यसै वर्षको फ्रेन्च ओपनसम्म लगातार फाइनल यात्रा तय गरेर त्यसक्रममा विम्बल्डन, युएस ओपन र अस्ट्रेलियन ओपन जितेका थिए । यसै वर्षको फ्रेन्च ओपनमा उनी फाइनल पुगे पनि स्पेनिस नाडालले उनलाई उपाधि जित्नबाट रोकेका थिए । एजेन्सी

प्रतिक्रिया