जितसँगै नेपाल डिभिजन थ्रीको सँघारमा

क्वालालम्पुर : सशक्त प्रतिद्वन्द्वी अमेरिकालाई हाइस्कोरिङ म्याचमा ३२ रनले पराजित गर्दै नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग फोर टुर्नामेन्टमा लगातार चौथो खेलमा पनि विजय यात्रा जारी राखेको छ । शुक्रबार विकेटकिपर–ओपनर सुवास खकुरेलको सानदार शतक र वसन्त रेग्मीले पाँच विकेट ढालेपछि प्रतियोगिताकै अपराजित टोली नेपाल आठ अंकसहित शीर्ष स्थानमा छ । नेपालको निकटतम प्रतिद्वन्द्वी सिंगापुर समान चार म्याचबाट ६ अंकलाई दोस्रो स्थानमा छ ।
यो जितसँगै नेपाल एकातिर फाइनल पुग्ने सम्भावना चुलिएको छ भने डिभिजन फोरमा प्रथम दुई स्थानभित्र रहेर डिभिजन थ्रीमा पुग्ने लगभग निश्चित भएको छ । सहभागी छ टोलीबीच शीर्ष दुई डिभिजन थ्रीमा बढुवा हुन्छन् भने पुछारमा रहेका दुई टोली डिभिजन फाइभमा घटुवा हुने नियम छ । मलेसियली राजधानी क्वालालम्पुरको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले सुवासको ११५ रन र ज्ञानेन्द्र मल्ल ४६, पारस खड्का ४१, अनिल मन्डल २० र प्रदीप ऐरीको १४ रन मद्दतले ५.१६ रनऔसतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाई २५८ रन बनायो । वसन्त रेग्मीले ६ रन, शरद भेषवाकर ०, विनोद दास ७, शक्ति गौचन १ र सन्जम रेग्मीले १ रनको योगदान गरे । सात रन अतिरिक्त प्राप्त भयो ।
प्लेयर अफ दि म्याच सुवासले नेपालको सिनियर क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा १४२ बल खेल्दै १० चौका र दुई छक्का प्रहार गरेका थिए । छिटो रन लिने प्रयासमा खड्का, वसन्त र भेषवाकर रनआउट भएका थिए । अनिल मन्डल १२ रनको निजी स्कोरमा खेल्दा ‘रिटायर्ड हर्ट’ भएका थिए । त्योबेला टिमस्कोर ३०/० थियो र पछि उनी १८०/२ को स्थिति हुँदा फेरि ब्याटिङ गर्न आएका थिए ।
जवाफमा २५९ रनको विशाल विजय लक्ष्य पछ्याएको अमेरिका ४८.२ ओभरमा ४.६७ औसतमा रन बनाउँदै २२६ रनमा अलआउट हुन पुग्यो । अमेरिकाका लागि एसएस नाडकर्णीले ३ छक्का ५ चौकासहित १०६ बलमा ८४ रन बनाए । अन्य खेलाडीमा एस मसिहाले ४१, टिपी एलनले २९, एस टेलरले १७, आर कोन्र्सले १६ र ए त्यागराजनले १२ रन बनाए अन्य कुनै खेलाडीले दोहोरो अंक छुन सकेन । नेपालले नौ अतिरिक्त रन दिएको थियो । नेपालको तर्फबाटबसन्त रेग्मीले चौथो नम्बरमा बलिङ गर्दै १० ओभरमा ३५ रन खर्चेर पाँच विकेट लिए । त्यसैगरी सन्जम रेग्मी र शक्ति गौचनले २–२ तथा अमृत भट्टराईले एक विकेट लिए ।
नेपालले आफ्नो अन्तिम खेल आइतबार डेनमार्कविरुद्ध खेल्ने छ । टिम तालिकामा सिंगापुरसरह ६ अंक जोडेको भए पनि डेनमार्क रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ । त्यसैगरी सिंगापुर र अमेरिका एकआपसमा भिड्ने छन् । डेनमार्कलाई पराजित गर्न सके नेपाल स्वत: डिभिजन थ्रीमा पुग्नुका साथै फाइनल प्रवेश गर्ने छ । अन्यथा परिणाम आएमा विभिन्न टोलीको रनरेटले स्थितिमा प्रभाव पार्ने छ, तापनि अहिलेसम्मको अवस्थामा नेपालकै रनरेट अरू टोलीको तुलनामा धेरै बेहतर छ । सहभागी अन्य दुई टोली मलेसिया र तान्जानिया चार–चार म्याच खेलिसकेर एकै अंक ल्याउन नसकेपछि डिभिजन फाइभमा घटुवा भइसकेका छन् । (एजेन्सी)

सुवासको कीर्तिमान

सुवास खकुरेलले शुक्रबार अमेरिकाविरुद्ध (प्रतियोगिताकै एकमात्र शतक) बनाएको ११५ रनको स्कोर सिनियर क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै निजी स्कोरको कीर्तिमान हो ।
उनलेभन्दा पहिले शक्ति गौचनले २००६ मा डिभिजन टुको छनोटमा इटालीविरुद्ध १०६ रन बनाएका थिए । सुवास र शक्तिबाहेक राजु खड्का र शरद भेषवाकरले पनि अन्तर्राष्ट्रिय सिनियर क्रिकेटमा शतक बनाएका छन् । त्यसो त जुनियर क्रिकेट (यु–१९) मा कनिष्क चौगाईंले १२५ रनको इनिङ खेलेका थिए ।

 

प्रतिक्रिया