एपीएफ महिला भलिबलको उदाउँदो शक्ति

काठमाडौ, २० भदौ । पुरुषतर्फ राष्ट्रिय च्याम्पियन रहेको एपिएफ नेपाली महिला भलिबलको पनि शक्तिशाली टोलीको रूपमा उदाएको छ । लामो समयदेखि नेपाली महिला भलिबलमा दुई टोली पश्चिमाञ्चल र पुलिस मात्र शक्तिशाली रहेको समयमा एपिएफ अर्को शक्तिशाली टोलीको रूपमा थपिएको छ ।
प्रथम एनभिए कप राष्ट्रिय क्लब च्याम्पियनसिपको मंगलबार सम्पन्न महिलातर्फको स्पर्धामा एपिएफले पश्चिमाञ्चललाई २५–२३, २५–२० र २५–१९ ले पराजित गर्‍यो । पहिलो सेटमा सुरुआती अग्रता लिएको पश्चिमाञ्चल ७–४ ले अघि रहेको थियो । त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलमा १८–१८ सम्मको अवस्था थियो । त्यसपछि एपिएफले अग्रता लिँदै खेललाई आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटको सुरुदेखि नै एपिएफले अग्रता लियो भने तेस्रो सेटको सुरुआतमा पश्चिमाञ्चल ८–३ ले अघि बढिसकेको थियो । प्रतियोगिताकै अग्ली खेलाडी सरस्वती चौधरीलाई ओपन स्पाइकरको रूपमा खेलाउने निर्णय सही सावित भएपछि पश्चिमाञ्चल खेलमा फर्कने सम्भावना देखिएको थियो । सरस्वती ब्याककोर्टमा पुगेपछि विस्तारै एपिएफले अन्तर घटाएको थियो । पछिल्लो समयमा भने उनको सर्ट विपक्षीले रोक्न थालेपछि पश्चिमाञ्चलले सहजै पराजय स्वीकार गर्‍यो । यी दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । सेमिफाइनलमा एपिएफले न्यु डायमन्ड तथा पश्चिमाञ्चलले पुलिसको सामना गर्नेछन् । यसअघि धनगढीमा भएको राष्ट्रिय च्याम्पियनसिपमा यी दुई टोलीबीच भएको सेमिफाइनलमा पश्चिमाञ्चल सोझो सेटमा विजयी भएको थियो ।
केही समयअघि मात्र न्यु डायमन्ड छाडेर एपिएफमा आबद्ध रेश्मा भण्डारी तीन महिनाको अन्तरमा सामान्य खेलाडीबाट स्तरीय खेलाडीको रूपमा देखिएकी थिइन् । चार महिनामा एपिएफ टोलीमा अन्य केही फरक पनि देखिएको थियो । फिटनेसमा अघि रहेको एपिएफ टोलीकी भेट्रान लिफ्टर विनिता बुढाथोकी लामो समय पुरानै फर्ममा देखिएकी थिइन् । ६ महिनाअघि र ६ महिनापछि एपिएफको खेल हेर्ने जो कोही पनि प्रशिक्षक कपिल किशोर श्रेष्ठको प्रशिक्षण गर्न बाध्य पारिए । मंगलबारको खेलपछि पुरुषतर्फ क्वार्टरफाइनल समीकरण मंगलबार पूरा भएको छ । एपिएफ क्लबले नेपाल स्पोटर््स क्लब, सुदूरपश्चिमाञ्चलसँग खेल्नेछ भने पश्चिमाञ्चल भलिबल प्रशिक्षण केन्द्रले जी–फोर स्पोटर््स क्लब, दोलखाको सामना गर्नेछ । त्यस्तै नेपाल आर्मी क्लबले भक्तपुर यङ सर्कलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल पुलिस क्लबको भेट विश्वविद्यालय खेलकुद संघसँग हुनेछ ।
लिगको अन्तिम दिन पुलिस, नेपाल स्पोटर््स क्लब, एपिएफ र पश्चिमाञ्चल विजयी भए । समूह ‘घ’ को खेलमा पुलिसले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–११, २५–१४ र २५–२० ले पराजित गरी विजेता भयो । समूहमा दोलखाको जी–फोर उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गर्‍यो । समूह ‘ग’ मा नेपाल स्पोर्ट्स क्लबले काभ्रे–सिन्धु युवा क्लबलाई २५–२७, २५–१५, २५–२१ र २५–२१ को सेटमा हरायो । नेपाल स्पोटर््स क्लब समूह उपविजेता बन्यो । आर्मी विजेता हुँदै यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । एपिएफले भक्तपुरमाथि २५–१६, २५–९ र २५–१९ को जित हात पार्‍यो । एपिएफ समूह ‘क’ को विजेता भयो । उपविजेताका हैसियतले भक्तपुरको पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित छ । समूह ‘ख’ को विजेता बन्न पश्चिमाञ्चलले ढोरपाटन स्पोटर््स प्रशिक्षण केन्द्रलाई २५–१६, २५–२३ र २५–११ ले निराश पार्‍यो । दुई हारसँगै ढोरपाटन प्रतियोगिताबाट बाहिरिएपछि विश्वविद्यालयको क्वार्टरफाइनल यात्रा निश्चित भयो ।

प्रतिक्रिया