तेर्‍ह गाविस तरकारी पकेट क्षेत्र बन्दै

नेपालगन्ज, २० भदौ । बाँकेको पुरैनी, कम्दी पिप्रहवा, भवानीयापुर, हिरमिनिया, होलिया, बेतहनी, बनकट्टी, पुरैना र उदयपुरलगायत १३ गाविस तरकारीको पकेट केन्द्रका रूपमा विकसित हुने भएका छन् ।
उदयपुर कृषि सेवा केन्दका प्रमुख धनीप्रसाद यादवका अनुसार ती गाविसका ५५ कृषि सहकारी संस्थामा चार हजार पाँच सय ९० किसान सदस्य छन् । एक सय ६७ कृषक समूहमा तीन हजार तीन सय ४६ सदस्य आबद्ध छन् ।
५० हेक्टर क्षेत्रमा लौका, चिचिन्डा, करेला र घिरौलाजस्ता बर्खे तरकारी लगाइने गरिएको छ । कृषि सेवा केन्द्रका अनुसार प्रतिहेक्टरमा ३० मेट्रिक टन तरकारी उत्पादन भइरहेको छ । एक सय ७५ हेक्टरमा प्याज, तीन सय ५० हेक्टरमा आलु, ५० हेक्टरमा हिउँदे तरकारी उत्पादन हुन्छ । आलु प्रतिहेक्टर २६ दशमलव सात मेट, प्याज आठ मेट र हिउँदे तरकारी प्रतिहेक्टर २५ मेट्रिक टन उत्पादन भइरहेको छ ।
तरकारीबाट राम्रो आम्दानी हुनथालेपछि बाँकेका कम्दी र पुरैनी गाविसका अढाईसय बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न भएका छन् । तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् ।
स्थानीयस्तरमा उत्पादन बढेपछि यसले भारतीय बजार रूपैडिहाको तरकारी विस्थापित गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार, यहाँको तरकारी छिमेकी बर्दिया, दाङ र सुर्खेतसमेत जाने गरेको छ । नगरपालिकासँगै जोडिएका पुरैनी र कम्दी गाविसका किसानले धान खेती गर्ने जग्गामा तरकारी लगाएपछि यसले व्यावसायिकता लिएको हो ।
सडक यातायातको सुविधा र तरकारी बिक्री केन्द्र नजिक भएकाले बिक्री बढेको उनीहरू बताउँछन् । पहिलाझँै आफँै बजार खोज्दै जानुपर्ने झन्झट नभएकाले उत्पादन क्षेत्र बढाउँदै लगेको पुरैनी ६ अमरहरुवाका किसान टोपबहादुर रेउकेले बताए । ‘थोक र फुटकर बिक्रेता बिहानै घरमा पुग्ने गरेका छन् ।’ उनले भने ।
एक किसानले सिजनअनुसार तरकारी खेती गरेर घरायसी खर्चका साथै छोराछोरीको पठनपाठनका लागि आवश्यक खर्च जुटाएर वार्षिक एक लाखसम्म बचत गरिरहेका छन् । रेउकेले दुई वर्ष अघिसम्म जागिरका लागि निक्कै दौडधुप गरे । जागिर नपाएर निराश भएका बेला कृषि विकास कार्यालयका प्राविधिकले तरकारी खेतीको सल्लाह दिएपछि उनले यसमा हात हालेको बताए । अहिले मासिक २० हजार बढी बचत गर्ने गरेको उनको कथन छ ।
उत्पादित तरकारी बारीबाटै सहजै बिक्री हुने गरेको छ । तरकारीका थोक तथा फुटकर व्यापारी खरिद गर्न खेतबारीमै आउने गरेको पुरैनी–९ का राधा बर्माले बताइन् । सिजनअनुसार विभिन्न किसिमका तरकारी उन्नत प्रविधिबाट उत्पादन गर्नसके घरमै बसेर आफ्नै खेतबारीबाटै राम्रो आम्दानी गर्न सकिने जिल्ला कृषि कार्यालयका प्रमुख युगलकिशोर तिवारी बताउँछन् ।

प्रतिक्रिया