नेपालको विजयी सुरुआत

क्वालालाम्पुर, १९ भदौ । आफ्नो परम्परागत बलिङ ‘स्ट्रेन्थ’ मा फर्कंदै नेपालले सोमबार सिंगापुरलाई पाँच विकेटले पराजित गरी आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–फोरमा विजयी सुरुआत गरेको छ । यद्यपि, गतिलो ब्याटिङ गर्न नसकेको नेपालको इनिङ दुई ब्याट्सम्यान प्रदीप ऐरी र शक्ति गौचनमाथि निर्भर रहयो ।
सेलेंगर क्रिकेट क्लबमा टस जिती पहिला ब्याटिङ गरेको सिंगापुर ३९.५ ओभरमा १११ रनमा सीमित भयो । नेपालका फास्ट बलर अमृत भट्टराईले चार विकेट लिए भने स्पिनरत्रय वसन्त रेग्मीले तीन, सन्जम रेग्मीले दुई र शक्ति गौचनले एक विकेट लिए ।
नेपालले २४.५ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ऐरी र गौचनले छैटौँ विकेटका लागि अविजित ६५ रनको साझेदारी गरेपछि नेपाल ४७–५ को संकटपूर्ण स्थिति टार्दै जितसम्म पुगेको हो । साताँै नम्बरमा ब्याटिङ गर्न आएका ऐरीले ३४ र गौचनले १८ रन बनाए । खेल सकिनुअघि २५ बल मात्र सामना गरेका ऐरीले चार चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै पाँचाँै नम्बरमा ब्याटिङ गर्न आएका गौचनले ५६ बल सामना गर्दै दुईपटक मात्र ‘बाउन्ड्री’ खेले । २५आँै ओभरको पहिलो बलमा छक्का प्रहार गरेका ऐरीले चौथो बलमा दुई रन र पाँचाँै बलमा चौका प्रहार गरी करिब आधा इनिङ बाँकी छँदै नेपालको जित सुनिश्चित गरे ।
प्रारम्भिक ब्याट्सम्यान अनिल मण्डलले खाता खोल्न सकेनन् भने भरखरै आइसिसी यु–१९ विश्वकपमा लयमा देखिएका अर्का प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर सुवास खकुरेल क्याचआउट भएका थिए । कप्तान पारस खड्का ५ रन जोड्दा रनआउट भए भने शरष भेषवाकर ९ रन जोडेपछि क्याचआउट भएका थिए । नेपालले २२ वाइड, २ लेग वाई र एक नोबल गरी २५ अतिरिक्त रन पाएको थियो । एमजाद मेहबुवले तीन विकेट लिएर नेपाललाई दबाबमा राखेका थिए ।
यसअघि आफ्नो पहिलो खेलमा नेपालले बलिङ प्रभाव देखायो । अमृतले सुरुका तीन विकेट लिएर उत्कृष्ट सुरुआत दिलाएको खेलमा त्यसपछि स्पिनर हाबी भएका थिए । म्यान अफ द म्याच अमृतले नौ ओभर बलिङ गर्ने क्रममा २८ रन खर्चिए । एक मात्र विकेट लिए पनि नेपाली बलरमा सबैभन्दा राम्रो बलिङ प्रदर्शन शक्तिको रहयो । उनले नौ ओभरमा चार मेडन राख्दै ८ रन खर्चिएर शक्ति आफ्नो बलिङ औसत ०.८८ बनाउन सफल भए । त्यस्तै ९.५ ओभर बलिङ गरेका वसन्तले एक मेडन राख्दै ३० रन खर्चिए भने चार ओभर बलिङ गरेका सन्जमले एक मेडन राखेर ४ रन मात्र खर्चिएका थिए । ६ ओभर बलिङ गरी एक मेडन राखेर २४ रन खर्चिएका विनोद १० र दुई ओभर बलिङ गरी १२ रन खर्चिएका पारसको नाममा विकेट रहेन ।
पहिलो विकेटका लागि ११ रनको साझेदारी गरेको सिंगापुरका लागि अनिस परमले सर्वाधिक ३१ रनको योगदान गरे । नेपालले दोस्रो खेलमा मंगलबार तान्जानियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन आधारमा सञ्चालन हुने यस प्रतियोगितामा नेपालसहित ६ टिम शीर्ष दुई स्थानमा रहँदै डिभिजन–थ्रीमा प्रवेश गर्न प्रयास गर्नेछन् । सन् २०१५ को एकदिवसीय विश्वकप खेल्न यस प्रतियोगितामा सहभागी सबै टोलीलाई यो प्रतियोगिता अन्तिम अवसरका रूपमा रहेको छ । यता सोमबार नै भएका अन्य खेलमा युएसए र डेनमार्कले पनि जित हात पारे । आ–आफ्नो पहिलो खेलमा युएसएले २९० रनको लक्ष्य पछयाएको मलेसियालाई ७० रन र डेनमार्कले २२५ रनको लक्ष्य पछयाएको तान्जानियालाई ८८ रनले पराजित गर्‍यो । एजेन्सी

प्रतिक्रिया