एकै व्यक्तिका दुई ट्रान्सक्रिप्ट

काठमाडौं, १९ भदौ । एक व्यक्तिसँग एउटै तहका दुइटा ट्रान्सक्रिप्ट, डिभिजन पनि दुवैमा फरक–फरक । यस्तै तथ्य फेला परेको छ नेपाल संस्कृत विश्वविद्यालय (पहिले महेन्द्र संस्कृत विश्वविद्यालय)बाट स्नातकोत्तर (आचार्य) तह उत्तीर्ण एक व्यक्तिको ।

महेन्द्र संस्कृतबाट नाम परिवर्तन भई नेपाल संस्कृत विश्वविद्यालय भएपछिको ट्रान्सक्रिप्टमा नारायणप्रसाद तिम्सिनाको डिभिजनसमेत फरक पाइएको हो । पुरानै ट्रान्सक्रिप्ट प्रयोग गरेर तिम्सिना वाल्मीकि क्याम्पसमा आंशिक प्राध्यापक छन् । उनले वाल्मीकि विद्यापीठबाट ०५५ मा स्नातकोत्तर तह उत्तीर्ण गरेका थिए ।
महेन्द्र संस्कृत विश्वविद्यालयको नामबाट ०५६ मा दिइएको ट्रान्सक्रिप्टमा प्रथम श्रेणी र नेपाल संस्कृत विश्वविद्यालयले करिब तीन महिनाअघि दिएको ट्रान्सक्रिप्टमा दोस्रो श्रेणीमा उत्तीर्ण लेखिएको छ । प्राप्तांक प्रतिशत पहिलोमा ६५ दशमलव ३८ र पछिल्लोमा ६४ दशमलव ८४ छ । प्रथम श्रेणीका लागि ६५ प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान छ ।
एक हजार तीन सय पूर्णांकमा प्राप्तांक पुरानो ट्रान्सक्रिप्टमा आठ सय ५० र पछिल्लोमा आठ सय ४३ छ । दोस्रो वर्षको राष्ट्रिय विकास सेवा विषयमा पुरानोमा ९० र पछिल्लोमा ८३ नम्बर उल्लेख छ ।
परीक्षा नियन्त्रक श्रीधर अधिकारीले प्राविधिक त्रुटिका कारण तिम्सिनाले पहिले प्रथम श्रेणीको ट्रान्सक्रिप्ट पाएको र पछि सच्याएर दोस्रो श्रेणीको ट्रान्सक्रिप्ट दिइएको बताए । तिम्सिनाले त्रिभुवन विश्वविद्यालयबाट राष्ट्रिय विकास सेवामा परीक्षा दिएको र पछि संस्कृत विश्वविद्यालयबाट समेत दिएको पाइएको नियन्त्रक अधिकारीको भनाइ छ । उनले भने, ‘दुई विश्वविद्यालयबाट एउटै कार्यक्रममा परीक्षा दिएपछि संस्कृत विश्वविद्यालयमा पाएको नम्बर दिइएको हो, पहिलेको ट्रान्सक्रिप्टमा त्रिविको नम्बर दिइएको थियो ।’
त्यसबेला कर्मचारी ‘चिप्लिएर’ त्रिविको नम्बर दिँदा प्रथम श्रेणी हुन गएको उनको भनाइ छ । उनका अनुसार तिम्सिनालाई त्रिविले ९० र संस्कृत विश्वविद्यालयले ८३ नम्बर दिएको थियो । ०५६/५७ तिरै तिम्सिनालाई संस्कृत विश्वविद्यालयको नम्बर दिने निर्णय भएको थियो ।
प्रथम श्रेणीकै कागजात पेस गरी तिम्सिना ०६७ मा वाल्मीकि क्याम्पसमा आंशिक शिक्षकका रूपमा प्रवेश गरेका थिए । उनले ०६६ मा पनि सेवा आयोगमा त्यही कागजात पेस गरेको पाइएको छ ।
तिम्सिनाले भने विश्वविद्यालयले आफूलाई अन्याय गरेको दाबी गरे । ‘म अन्यायमा परेको छु, फरक ट्रान्सक्रिप्ट दिँदा अप्ठ्यारो परेको छ तर मैले कुनै प्रतिवाद गरेको छैन,’ उनले भने ।
यसबारे उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखित जवाफका लागि पत्राचार गरेको विश्वविद्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया