मनुष्यको जन्म लिन देवता पनि आतुर

ब्रह्मपुराणको महत्त्वपूर्ण श्लोक हो । यसलाई शंकराचार्यले पनि आफ्नो शंकरभाष्यमा उतारेका छन् । श्लोकमा यस्तो छ, शंकराचार्य स्वयंले भनेका छन्– यो श्लोक केवल सुन्नका लागि होइन, पढ्नका लागि पनि होइन, यो श्लोक त जीवनमा उतार्नका लागि हो ।
सत्वं सहिद पदान्य भूषितं शिष्योर्देवोत्वं
आत्मा वैवाहितां वदान्य सहितां सूर्यो तदेवो त्वां देहं मात्र मदैन्य बन्द
रुचितं कामं च क्रोधं स्व: अश्रुवदितं सदैव सहितं पूर्णत्व मेव श्रियं ।।
मनुष्यले जन्म लिनुपर्दछ भन्ने यस श्लोकको भाव र तात्पर्य हो । यसकारण जन्म लिनुपर्दछ– उसको इच्छा होस् या नहोस् यो उसको आमा–बाबुको संयोगको एक परिणति हो, उसको बाध्यता हो, जुन गर्भमा जन्म लिने उसको इच्छै थिएन, त्यसैमा जन्म लिनुपर्‍यो, उसको हातमा थिएन यो ।  यो एक बाध्यता थियो, एउटा आत्मा विचरण गरिरहेको थियो, एउटा संयोग बन्यो, तपाईंहरू जन्मनुभयो । देवतागण पनि जीवनको आनन्द लिनका लागि मनुष्य रूपमा नै जन्म लिन्छन् । जीवनको आनन्द देवताका रूपमा मिल्न सक्दैन, जीवनको आनन्द राक्षस रूपमा पनि मिल्न सक्दैन । यी दुवैका बीच एउटा अर्को तथ्य छ– जसलाई मनुष्य भनिएको छ । यो मनुष्य जब गर्भमा हुन्छ म के हुँ, कस्तो खालको आत्मा हुँ, अघिल्ला कति जन्मदेखि म कहाँ–कहाँ विचरण गर्दै रहेको छु भन्ने कुरा त्यो बालकलाई सात महिनासम्म सबै भान हुन्छ । यो सबथोक उसलाई जानकारी रहन्छ ।
सात महिनासम्म त ऊ बडो आनन्दले गर्भमा बस्छ, सात महिना लागेपछि जन्म लिनेबेलासम्म अर्को जन्म लिनुपर्‍यो भनेर ऊ अत्यन्त दु:खी र व्यथित रहन्छ । तर, त्यतिबेला आफू स्वयंका बारेमा, आफ्नो आत्माको बारेमा आफ्नो चिन्तनको बारेमा र पूर्वजन्मका जति पनि जीवन भए ती सबैका बारेमा उसलाई भलिभाँती स्मरण रहन्छ । शिवपुराणमा पनि यस्तै प्रकारको वर्णन छ ।
उसले जन्म लिन लाग्दादेखि नै एउटा बन्धनमा लपेटिएको आमाको नाडीले बाँधिएको, जसरी बन्धनमा बाँधिएको एउटा कैदी फ्याँकिन्छ, त्यस्तै प्रकारले ऊ गर्भबाट बाहिर आउँछ । बाहिर आउनासाथ उसले अघिका सारा स्मृति बिर्सन्छ र नयाँ सम्बन्धमा जोडिन्छ । त्यसै बखतदेखि कोही उसको आमा बन्छे, कोही उसको बाबु बन्छ, कोही उसको भाइ बन्छ, कोही उसको काका बन्न पुग्छ, कोही उसका नातागोता बन्न जान्छ, यस कारण ऊ नयाँ परिवेशमा आइपुग्छ, ब्रह्मस्वरूप भुल्न पुग्छ । यो स्मृति– विस्मृतिको क्रिया हो अथवा भनौँ ब्रह्म र मायाको क्रिया हो । जबसम्म गर्भमा रहन्छ तबसम्म ब्रह्मस्वरूप हुन्छ । यसैकारण गर्भलाई ब्रह्म भनिएको हो । जन्म लिँदा नै मायाको आवरणमा बेरिएर बाहिर आउँछ, उसको परिवेशमा भएका जो बाँकी मानिस छन् तीनमा पनि यदि राक्षस प्रवृत्तिका छन् भने ऊ त्यसै प्रवृत्तिमा लिप्टिँदै जान्छ । देवत्व प्रवृत्तिका छन्, असल आमा–बाबु छन्, असल दाइ छन्, आफन्त छन्, जसको घरमा स्तुति हुन्छ, असल कार्य हुन्छ, तब ऊ पनि त्यसै बाटोमा हिँड्न थाल्छ तर घरमा रक्सी खानेहरू छन्, चुरोट खाने, गालीगलौज गर्ने घर छ भने ऊ पनि त्यसै वातावरणमा ढल्न जान्छ, उसको आफ्नो बसमा कहीँ कुनै प्रकारको स्थिति रहँदैन ।
श्लोकमा भनिएको छ– यो जन्म लिन हाम्रो बाध्यता बन्यो । साथसाथै उनले भनेका छन् देवतासमेत मनुष्य रूपमा जन्म लिनका लागि आतुर रहन्छन् ।
उनीहरू कैयौँ–कैयौँ रूपमा जन्म लिइरहन्छन्– कहिले रामका रूपमा, कहिले कृष्णका रूपमा, कहिले बुद्धका रूपमा, कहिले महावीरका रूपमा, कहिले इसा मसिहका रूपमा जन्म लिन्छन्, कहिले सुकरातका रूपमा जन्म लिन्छन् । उनीहरू आ–आफ्नै रूपमा जन्म लिइरहन्छन् ।
जन्म त मनुष्य र देवता दुवैले लिनुपर्छ । परन्तु बाहिर आउँदा म के हुँ र के थिएँ भन्ने कुरा देवतालाई ज्ञान हुन्छ । उनी स्वयंमा अवतारी व्यक्तित्व हुन् । जसलाई त्यस्तो ज्ञान हुँदैन ऊ मनुष्य हुन्छ । देवतालाई मैले जन्म किन लिएँ भन्ने ध्यान रहन्छ । जब उनले जन्म लिन्छन्, किनभने जन्म लिने क्रिया त एकै तरिकाको हुन्छ तर उनको जन्म लिने क्रियालाई अवतार भनिन्छ । उनको जन्म हुँदा आमालाई कुनै असजिलो हुँदैन, कुनै वेदना हुँदैन, आमालाई कुनै पीडा हुँदैन, नौ महिनासम्म कुनै भारको अनुभव हुँदैन । अनुहारमा ओज, चित्तमा प्रफुल्लता र प्रसन्नता छ भन्ने जान्नु कुनै अवतारी व्यक्तित्व मेरो गर्भबाट जन्म लिँदैछ । यदि पेटमा वेदना, पीडा हुन्छ, चिन्ता हुन्छ, तनाब हुन्छ, कष्ट हुन्छ, आमा कष्ट भोगिरहेकी छ भने सम्झनु एक साधारण मनुष्य मेरो कोखबाट जन्म लिँदैछ । यदि आमा राम्रो संस्कारमा हुर्केकी छ भने उसलाई यस कुराको ज्ञान हुन्छ । यस श्लोकमा भनिएको छ– ती अवतारी पुरुषसित जो–जो जोडिएका छन् ती– सानातिना देवतास्वरूप हुन्छन् । तेत्तीस करोड देवता छन् ती सबै देवता कुनै न कुनै गर्भबाट जन्म लिइरहन्छन् । जब कृष्णले जन्म लिए, अरू कैयौँ देवताले पनि जन्म लिए, जो गोप–ग्वाला कहलाए, गोपिनी कहलाए । जो अप्सरा थिए, जो देवता थिए तिनीहरूले गोपीका रूपमा त्यही स्थानको आसपास जन्म लिए । किनभने उनीविना तिनीहरू बस्नै सक्दैनथे । ती विष्णुस्वरूपका साथमा रहेका छन्– जस्तो हामीले पढ्ने गर्छौं । क्षीर सागरमा भगवान् नारायण सुतेका छन्, लक्ष्मी पाउ दबाइरहेकी छन्, देवता अगाडि उभिएका छन् । भगवान् शिव कैलाशमा बसेका छन्, बाँकी सब देवता हात जोडी उभिएका छन् । आपसमा यसरी जोडिएका हुन्छन् कि एकक्षण पनि उनीविना बस्नै सक्दैनन् । त्यसैले उनको जन्मसँगै देवताले पनि अलग–अलग ठाउँमा जन्म लिइरहन्छन् । जन्मेपछि सँगै आइपुग्छन्, जोडिन्छन्, घुमफिर गर्छन् ती अवतारी व्यक्तित्वको साथमा ।
अनुवाद–शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट 

प्रतिक्रिया