विभूति, आभाष र स्वराज सेमिफाइनलमा

काठमाडौँ, १३ भदौ । आयोजक लिटिल एन्जल्स स्कुल (एलए) का स्वराज केसी छैटौँ एलए/जेटिआई अन्तरस्कुल जुनियर खुला टेनिस प्रतियोगिताको यु–१० ब्वायज सिंगल्सतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
हात्तीवनस्थित घरेलु कोर्टमा स्वराजले आफ्नै स्कुलका विशेषप्रसाद जोशीलाई ८–४ ले पराजित गरे । सोही स्पर्धामा शुभताराका सम्यकभूषण वज्राचार्यले एलएका गजिन जितज्वेलीलाई ८–०, एलएका निराजन सुवेदीले ओलम्पियाका अन्सुल थापालाई ८–६, सेन्ट जेभियर्सका अजित सुवेदीले निहारिका पब्लिक स्कुलका आकाशी मगरलाई ८–३, एलएका किरण राईले रातो बंगलाका शाश्वतलाई ८–१ तथा युलेन्सका आर्यन गिरीले ग्रान्ड एकेडेमीका सुशान्त कुइँकेललाई ८–५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे । एलएका दीप राणा पनि रातो बंगलाका आशीष थापाबाट वाकओभर पाउँदै अन्तिम आठमा पुगे ।
यु–१२ गल्र्स सिंगल्समा युलेन्सकी एनी माथेमाले रातो बंगलाकी रियाशा वैद्यलाई ८–०, महेन्द्र आदर्शकी संगीता राणाले रातो बंगलाकी करुणा गौचनलाई ८–६, रुपिज इन्टरनेसनलकी मायांका राणाले रातो बंगलाकी साङ्गे लोहनीलाई ८–०, ब्रिटिस स्कुलकी खुसी पाण्डेले एलएकी शिवाङ्गी सिंहलाई ८–५, युलेन्सकी मेधावी गिरीले एलएकी पेमिला लिम्बूलाई ८–०, पेनउडकी इरा राउतले एलएकी सोबिया श्रेष्ठलाई ८–१, युलेन्सकी क्याथी माथेमाले एलएकी आयुशा राईलाई ८–१ तथा रुपिजकी माहिका राणाले एलएकी दिवा राणालाई ८–२ ले निराश पार्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१२ ब्वायज सिंगल्समा एलएका नवीन जोशीले एलएकै किरण राईलाई ८–१ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरे । सोही स्पर्धामा शुभताराका संरक्षकभूषण वज्राचार्यले एलएका स्वराज केसीलाई ८–२ तथा एलएका दीप राणाले युलेन्सका आर्यन गिरीलाई पन्छयाउँदै क्वार्टरफाइनलमा पुगे भने एलएका आयुष्मान नान्जुले सेन्ट जेभियर्सका कस्तुप पुरीलाई ८–४ ले हराउँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरे ।
ललितपुरको सातदोबाटोस्थित कोर्टमा भएको यु–१४ गल्र्स सिंगल्सको प्रतिस्पर्धामा रुपिजकी माहिका राणाले ब्रिटिस स्कुलकी शिवालिका राणालाई ८–६, डिएभीकी विजिशा श्रेष्ठले पेनउडकी इरा राउतलाई ८–२, युलेन्सकी एनी माथेमाले युलेन्सकै मेधावी गिरीलाई ८–० तथा सेन्ट जेभियर्सकी विभूति कार्कीले काष्ठमण्डपकी तनिशा खेतानलाई ८–० ले पाखा लगाउँदै सेमिफाइनलमा पुगे ।
यु–१४ कै ब्वायज सिंगल्समा रातो बंगलाका अभय गौचनले एलएका चन्द्रमान रोकायालाई ८–२, एलएका सन्देश पौडेलले मोडर्न इन्डियन स्कुलका विवेक श्रेष्ठलाई ८–५, रातो बंगलाका आभाष मल्लले ब्रिटिसका इमानुएल लिमलाई ८–० तथा रातो बंगलाका सक्षम कार्कीले सेन्ट जेभियर्सका प्रणव खनाललाई ८–२ ले पराजित गरी अन्तिम चारको यात्रा तय गरे ।
यु–१६ गल्र्स सिंगल्समा डिएभीकी विजिशा श्रेष्ठले ब्रिटिसकी शिवालिका राणालाई ८–१, सेन्ट जेभियर्सकी विभूति कार्कीले प्यासिफिककी कृपा शर्मालाई ८–१, सेन्ट जेभियर्सकी प्रीतिका मानन्धरले रातो बंगलाकी रेइना शाहीलाई ८–० तथा सेन्ट जेभियर्सकी मन्जिता न्याछोले एलएकी गीता श्रेष्ठलाई ८–३ ले हराएर सेमिफाइनलमा प्रवेश गरे ।
यु–१६ ब्वायज सिंगल्समा ब्रिटिसका आइभान हो लिसानेविचले एलएका केविन गुरुङलाई ८–० तथा रातो बंगलाका सक्षम कार्कीले युलेन्सका कस्तुप पाण्डेलाई ८–१ ले पराजित गरी सेमिफाइनलमा पुगे । किस्कका यिओराम ली तथा जेम्सका आकाश लामखोरले पनि आ–आफ्ना प्रतिद्वन्द्वीबाट वाकओभर पाउँदै सेमिफाइनलमा स्थान बनाए । यु–१८ ब्वायज सिंगल्समा ब्रिटिसका आइभान हो लिसानेविच अन्तिम चारमा पुगेका छन् । क्वार्टरफाइनलमा उनले सेन्ट जेभियर्सका मजिन न्याछोमाथि ८–१ को सहज जित हासिल गरेका थिए ।

प्रतिक्रिया