एलए/जेटीआई अन्तरस्कुल जुनियर खुलाटेनिस

काठमाडौं, १२ भदौ । गण्डकी स्कुल, पोखराकी गंगा शर्मा र प्यासिफिककी कृपा शर्मा छैटौँ एलए/जेटिआई अन्तरस्कुल जुनियर खुला टेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरूसँगै सेन्ट जेभियर्सका द्वय मन्जिता न्याछो र सुचिता सत्याल पनि सेमिफाइनलमा पुग्न सफल भए । सातदोबाटोस्थित टेनिसकोर्टमा भएको खेलमा गंगाले आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की गीता श्रेष्ठलाई ८–०, कृपाले सेन्ट मेरिजकी प्रिसिता सत्याललाई ८–०, मन्जिताले सेन्ट जेभियर्सकी आकृति आचार्यलाई ९–८ तथा सुचिताले सेन्ट जेभियर्सकी प्रीतिका मानन्धरलाई ९–८ ले पाखा लगाए ।
सोही उमेरसमूहको ब्वायज सिंगल्समा एनटिसीका गणेश कार्कीले एलएका डेभिड ताकोलाई ८–१ तथा केन्द्रीय विद्यालयका अक्षत कार्कीले जेम्सका अक्षय लाम्खोरलाई ८–५ ले पराजित गरे । यु–१४ ब्वायज सिंगल्समा सेन्ट जेभियर्सका क्रिलराज सत्याल, युलेन्सका कस्तुप पाण्डे, एलएका चन्द्रमान रोकाया, एलका साजन राई, मोडर्न इन्डियन स्कुलका विवेक श्रेष्ठ, एलएका सन्देश पौडेल, रुपिज इन्टरनेसनलका एन्डी न्यासनेगर, सेन्ट जेभियर्सका प्रणव खनाल, एलएका दीपेन राणा, ब्रिटिस स्कुलका इमान्युल लिम तथा शुभताराका संरक्षकभूषण वज्राचार्यले जित हात पारे ।
यु–१४ गल्र्स सिंगल्समा चाँदवागकी सचि गुरुङ, सेन्ट जेभियर्सकी सलिनी प्रधान, युलेन्सकी माधवी गिरी तथा महेन्द्र आदर्शकी सञ्चिता राणा विजयी भए । यु–१६ ब्वायज सिंगल्समा ब्रिटिस स्कुलका आइभन हो लिसानेविचले एलएका केविन गुरुङलाई ८–० ले हराए । त्यसै उमेरसमूहको गल्र्स सिंगल्समा एलएकी गीता श्रेष्ठले सेन्ट जेभियर्सकी सुचिता सत्याललाई ९–७, सेन्ट जेभियर्सकी विभूति कार्कीले प्यासिफिककी कृपा शर्मालाई ८–१ तथा सेन्ट जेभियर्सकी प्रीतिका मानन्धरले रातो बंगलाकी रेहना शाहीलाई ८–० ले पराजित गरे ।
हात्तीवनस्थित आयोजक एलएको कोर्टमा भएको यु–१० गल्र्स सिंगल्सको प्रतिस्पर्धामा एलएकी पेमिला लिम्बू, महेन्द्र आदर्शकी विजिता राणा, रातो बंगलाकी श्रयेशा वज्राचार्य, काष्ठमण्डपकी अल्सा रेग्मी तथा रातो बंगलाकी रियाशा वैद्यले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरी अघिल्लो चरणमा प्रवेश गरेका छन् । यु–१० ब्वायज सिंगल्समा एलएका गजिन जितज्वेली, दीपेन राणा र निराजन सुवेदी तथा ओलम्पियाका अन्सुल थापा विजयी भए ।
यु–१२ गल्र्स सिंगल्समा एलएकी आयुशा राई, रातो बंगलाकी रियाशा वैद्य, ब्रिटिसकी खुसी पाण्डे, पेनउडकी इरा राउत तथा युलेन्सकी क्याथी माथेमाले जित हात पारे । यु–१२ ब्वायजमा एलएका स्वराज केसी, एलएका किरण राई, युलेन्सका आर्यन गिरी, एलएका नवीन जोशी तथा रातो बंगलाका देवान्स अग्रवालले आ–आफ्नो खेल जिते । प्रतियोगिताको अखिल नेपाल लनटेनिस संघकी उपाध्यक्ष ज्योति राणाले उद्घाटन गरिन् ।

प्रतिक्रिया