भारतको उपाधि हयाट्रिक

मेलबर्न, ११ भदौ । साविक विजेता अस्ट्रेलियालाई पराजित गरी भारतले आइसिसी यु–१९ विश्वकपको उपाधि तेस्रोपटक जितेको छ । बुधबार नवाँै संस्करणको फाइनलमा भारतले तीनपटकको विजेता अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्‍यो । यसअघि सन् २००० र २००८ मा उपाधि जितेको भारतले यसपटक विजेता भएसँगै अस्ट्रेलियाको सर्वाधिक विजेताको कीर्तिमान पनि बराबरी गर्‍यो ।
एक वर्षअघि सिनियर एकदिवसीय विश्वकप जितेको भारतलाई युवा विश्वकप उपाधि दिलाउने क्रममा कप्तान उन्मुक्त चन्द र सन्दीप शर्माले सानदार प्रदर्शन गरे । सन्दीपले चार विकेट लिएपछि अस्ट्रेलियालाई २२५ रनमा समेटेको भारतका लागि उन्मुक्तले अविजित १११ रनको योगदान गरे ।
उन्मुक्तबाहेक समित पटेलले पनि स्तरीय प्रदर्शन गरेपछि भारतले ४७.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । उन्मुक्तले पाँचाँै विकेटका लागि विकेटकिपर समितसँग अविजित १३० रनको साझेदारी गरेका थिए । समितले अविजित रहँदै ६२ रन जोडे । दायाँहाते ब्याट्सम्यान उन्मुक्तले १३० बलको सामना गर्दै ७ चौका र ६ छक्का प्रहार गरेका थिए । ८४ बल खेलेका समितले ४ चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान प्रशान्त चोपडालाई शून्यमै गुमाएको भारतलाई सुरुआतदेखि नै उन्मुक्तले उद्धार गरेका हुन् । प्रारम्भिक ब्याट्सम्यान उन्मुक्तले दोस्रो विकेटका लागि बाबा अपराजिथ (३३) सँग ७३ रनको साझेदारी गरेका थिए तर विजय जोल र हनुमा विहारी दोहोरो अंक नछँुदै पेवेलियन फर्किएपछि भारत एकाएक ९७–४ को स्थितिमा आइपुगेको थियो । उन्मुक्त म्यान अफ द म्याच भए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २२५ रन जोडेको थियो । दुवै प्रारम्भिक ब्याट्सम्यानलाई सन्दीपले दोहोरो अंक नछुँदै आउट गरेपछि घरेलु टोली अस्ट्रेलियाको इनिङ धर्मराउन सुरु भएको थियो । तेस्रो विकेटका लागि ३० रनको साझेदारी भएपछि दुवै ब्याट्सम्यान लगातार आउट भएकाले अस्ट्रेलिया ३८–४ को स्थितिमा पुगेको थियो तर अस्ट्रेलियालाई मध्यक्रमले सम्हाल्यो । कप्तान विलियम बोसिस्टोले पाँचाँै विकेटका लागि ट्राभिस हेडसँग ६५ र छैटौँ विकेटका लागि एस्टन टर्नरसँग ९३ रनको साझेदारी गरेका थिए । बोसिस्टोले अविजित रहँदै ८७ रन जोडे । त्यस्तै हेडले ३७ र टर्नरले ४३ रनको इनिङ खेले । अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यानद्वय केमरुन ब्यानक्रफ्ट २ र विकेटकिपर जिमी पायरसन शून्यमा आउट भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका बोसिस्टो म्यान अफ द सिरिज भए । सन्दीपले १० ओभर बलिङ गर्ने क्रममा दुई मेडन राखेर ५४ रन खर्चिएका थिए ।
सन् २००८ मा दक्षिण अफ्रिकालाई पराजित गरी विजेता बनेको भारत यस प्रतियोगितामा विजेता बन्ने क्रममा एकाएक प्रतियोगितामा फर्किएको थियो । पछिल्लो संस्करणमा क्वार्टरफाइनलबाटै बिदा भएको भारत यसपटक भने कमजोर सुरुआत गरेर उपाधिसम्म पुगेको हो ।
समूहचरणको पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएपछि कमजोर आँकलन गरिएको भारत त्यसपछि कठिन नतिजा हात पार्दै फाइनल प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा पाकिस्तानविरुद्धको खेलमा भारत निकै ‘लक्की’ सावित भएको थियो । सन् १९८७/८८ मा सम्पन्न पहिलो संस्करणको उपाधि जितेको अस्ट्रेलियाले सन् २००२ को पनि संस्करण जितेको थियो । अस्ट्रेलियाले यसपटक भारतसँग फाइनलमा पराजय व्यहोर्नुअघि कुनै पनि खेलमा हार व्यहोरेको थिएन ।
भारत र अस्ट्रेलियाबाहेक पाकिस्तानले दुईपटक र इंगल्यान्डले एकपटक यस प्रतियोगिताको उपाधि जितेका छन् । आइसिसीका १० स्थायी सदस्य र ६ एसोसिएट तथा एफिलिएटेड गरी १६ टिम यस प्रतियोगितामा सहभागी थिए । बंगलादेशका अनमूल हक ६ खेलमा ३६५ रन जोड्दै सर्वाधिक रनकर्ता बने । उनले दुई शतक र एक अर्धशतक प्रहार गरेका थिए । इंगल्यान्डका टोप्ले ६ खेलमा १९ विकेट लिँदै सर्वाधिक विकेटकर्ता बने । म्यान अफ द सिरिज बोसिस्टोले ६ खेलमा दुई अर्धशतकसहित २७६ रन जोडेका थिए ।

प्रतिक्रिया