न्युजिल्यान्ड फलोअनमा

हैदराबाद, १० भदौ । स्पिनर रविचन्द्रन आश्विनले टेस्टजीवनकै उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि भारतले न्युजिल्यान्डविरुद्धको दुई टेस्ट म्याचको शृंखलाअन्तर्गत पहिलो म्याचमा शनिबार तेस्रो दिन पाहुना टोलीलाई फलोअनमा पारेको छ । न्युजिल्यान्डलाई १५९ रनमा समेटेको भारत पहिलो इनिङमा २७९ रनले अगाडि रहयो । न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा आश्विनले १६.३ ओभरमा पाँच मेडनसहित ३१ रन खर्चिंदै ६ विकेट लिए । त्यस्तै अर्का स्पिनर प्रज्ञान ओझाले तीन तथा सिमर उमेश यादवले एक विकेट लिए । १०६–५ बाट तेस्रो दिनको खेल थालेको न्युजिल्यान्डले थप ५३ रन जोड्दा बाँकी सबै विकेट गुमाएको हो ।
शनिबार आश्विनले तीन विकेट लिए । अघिल्लो दिन मार्टिन गप्तिल, रोस टेलर र डयानिएल फ्लिनलाई आउट गरेका आश्विनले शनिबार न्युजिल्यान्डका अन्तिमक्रमका तीन ब्याट्सम्यानलाई आउट गरेका थिए । क्रुगर भान विकलाई शून्यमै आउट गरी यादवले दिनलाई गतिलो सुरुआत दिलाउँदा शनिबारको दोस्रो विकेट डौग ब्रेसवेललाई १७ रनमा आउट गर्दै ओझाले लिएका थिए । ओझाले २१ ओभर बलिङ गरी ६ मेडन राख्दै ४४ रन मात्र खर्चिए । पाहुना टोलीका लागि जेम्स फ्रान्कलिनले अविजित ४३ रन जोडे । छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका फ्रयान्कलिनले १२२ बल सामना गरी एक चौका र एक छक्का मात्रै प्रहार गरे । कमजोर इनिङ खेलेको न्युजिल्यान्डले कुनै पनि खेलाडीबाट अर्धशतकीय योगदान पाएन ।
विपक्षी टोली सस्तैमा समेटिएपछि भारतीय कप्तान महेन्द्रसिंह धोनीबाट फलोअनको रूपमा पुन: ब्याटिङ गर्न निम्तो पाएको न्युजिल्यान्डले खराब प्रकाशका कारण खेल रोकिनुअघि एक विकेट गुमाएर ४१ रन जोडेको छ । मौसमका कारण ३७.३ ओभर बलिङ गर्न बाँकी छँदै तेस्रो दिनको खेल टुंगिएको थियो ।
दोस्रो इनिङमा पहिलो ओभर बलिङ गरेका ओझाले गुप्तिललाई १६ रनको स्थितिमा एलबिडब्लु आउट गरेका थिए । ब्रेन्डन म्याकलम १६ र केन विलियमसन ३ रनमा अविजित छन् । न्युजिल्यान्डले पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको थियो । भारतको पहिलो इनिङभन्दा न्युजिल्यान्ड अझै २३८ रनले पछि रहेको छ । स्पिनर सफल भएपछि पहिलो इनिङमा ४३८ रन जोडेको भारतका लागि चेतेश्वर पुजाराले १५९ रनको योगदान गरेका थिए भने विराट कोहली र महेन्द्रसिंह धोनीले अर्धशतकीय इनिङ खेलेका थिए । एजेन्सी

प्रतिक्रिया