किताब : जीवनको झलक

प्रश्नहरूको भुमरीभित्र :
म अर्धसिल्ली हुँ । मेरो एक नसा सड्केको छ । म सबभन्दा अलग्ग, एकान्तमा बसेर एकतमासले टोलाइरहन्छु र कुन्नि के के सोचिरहन्छु । रुन्चे । सधैँ झोक्राएर बस्ने । घोत्ल्याहा । गोबर गणेश । यस्तो मलाई बुबाले भन्नुहुन्थ्यो । मलाई पनि आफूमाथि शंका लाग्थ्यो–साँच्चै म ठिस त होइन ? किन मेरो दिमागमा नानाथरी प्रश्न विपनामा मात्र होइन, सपनामा समेत सल्बलाई रहन्छन् । म जन्मैदेखि दिमागमा प्रश्नै प्रश्नको पेटारो लिएर आएको थिएँ क्यार । त्यतिखेर जनकपुर पनि एउटा सानो गाउँ नै थियो । चर्पी कसैको घरमा थिएन । जनकपुरभरिका मानिस दिसा–मैदान बस्न कुनै पैनी, आँपघारी, खेत, खुला मैदानमा लोहोटामा पानी लिएर धाउनुपथ्र्यो । म पनि बाह्रबिघा मैदाननेर रहेको जानकी बाग (आँपघारी) मा रहेको पैनीमा बिहान बेलुकी जान्थँे र दिसा बसेको बेलासमेत प्रश्नहरूको महासागरमा पौडिरहन्थँे । उरन्ठ्याउला उन्ठ्याउला प्रश्नहरू † हरियो लहरामा रातो फूल कसरी फुल्दछ ? आँपको रूखमा अम्बा, अमला वा अमारो किन फुल्दैन ? दिन–रातको चक्र कसरी कुन शक्तिले चलाइरहन्छ ? आमाको गर्भमा आउनुभन्दा पहिले कहाँ थिएँ ? मरेर कहाँ जान्छु ? म को हुँ ? अनि प्रश्नकै जालोमा अल्झिएर घर फर्किन्थँे, शौचै नगरी लोहोटा त त्यही पैनीमै छुटेको मलाई होसै हुन्थेन । अनि टोलभरिका मानिसले मलाई सिल्ली देख्नु स्वाभाविक थियो । लोहोटा हराएर शौचै नगरी घर फर्किंदा त बुबाले चड्कन दिन्थे, कन्सिरी तातो हुने गरी । झड्यांग टाउको झनन्न हुन्थ्यो, पृथ्वी आफ्नो धुरीबाट उछिट्टिएर फनन्न घुमिरहन्थ्यो, हुरीमा नाचेको फिर्फिरे भएर ।
मेरा प्रश्न वर्षात्मा गँड्यौला निस्केसरी अवचेतनबाट फुत्त–फुत्त निस्किई चेतनमा स्याउँस्याउँ गर्न थाल्थे । त्यसबेला मेरा काका हाम्रो इलाकामा सबभन्दा बढी पढेका व्यक्तिमध्ये एक हुनुहुन्थ्यो म्याट्रिक पास । उहाँले मलाई साह्रै माया गर्नुहुन्थ्यो र अरूहरूको मप्रतिको व्यवहारबाट दु:खी हुनुहुथ्यो । उहाँको सहानुभूमि पाएर म आफ्ना प्रश्नहरूको पोका उहाँलाई सार्ने हिम्मत गर्थें । उहाँ हाँस्नुहुन्थ्यो । मेरो गालामा मायाले हिर्काउनुहुन्थ्यो– ‘धत् लाटा † अहिल्यैदेखि यसरी सोच्न थालिस् भने तँ पागल हुन्छस् । अलि ठूलो भएर पढेपछि यी प्रश्नको उत्तर किताबमा पढ्न पाउन सकिहालिएला नि †’ काकाको यस्तै वाणी सुनेपछि उत्तर पाउने छटपटी त बढ्न जान्थ्यो, तर कुन कुराले सन्तोष दिन्थ्यो भने यी प्रश्नहरू उरन्ठ््याउला होइनन् । ठूला मान्छेका किताबमा पनि यी प्रश्न हुन्छन् तथा यिनका चित्त बझ्दा उत्तरसमेत दिइएका हुन्छन् । त्यसैले उत्तिमलाल मास्टरले जतिखेर मेरो अक्षरारम्भ गराए, मैले आफ्ना प्रश्नहरूको उत्तर पाउने लोकको यात्रा आरम्भ गरेको पुलकको अनुभूति गरेँ– भविष्यमा यस निठुरी गुरुका लौराका अनगिन्ती चोट नै चेतनाको बन्द ढोकाको साँचो बनेर आउनेछन् र म अनेक यातनापछि नै उत्तर लोकमा प्रविष्ट हुन पाउनेछु, त्यसबेला के थाहा ?
काकाको पाठशाला र विन्देसर माड्सैब :
मैले उत्तिमलाल मास्टर साहेबको पाठशालामा वर्णमालाको ज्ञान प्राप्त गरिसकेपछि काकाले आफ्नै स्कुलमा मलाई पढाउन लैजान थाल्नुभयो । त्यहाँ एकजना भारतवासी माड्सैब हुनुहुन्थ्यो– विन्देसर माड्सैब । अथुलाएको शरीर, गाढा कालो रंग, मोटा मोटा ओठ । ठ्याक्कै हब्सीजस्तो । विद्यार्थीहरूका लागि उनी उत्तम मास्टर भन्दा पनि डरलाग्दा यमराज थिए । हातमा खजुरको छडी हल्लाउँदै स्कुल प्रवेश गरेको देख्ता बच्चाहरू कट्टुमै तुरी गर्थे, कतिका त दिसै निस्कन्थे । हाम्रा लागि त्यो स्कुल यमलोक थियो । तर, गर्ने के ? काका त्यो सानो स्कुलका हेडसर हुनुहुन्थ्यो र विन्देसर माड्सैब उनको सहायक । काका त इलाकामै महाविद्वान् ।
विन्देसर माड्सैब कविता कोर्नुहुन्थ्यो र हामीलाई सुनाउनुहुन्थ्यो । हामी ती महान् कविताका मर्म भुटियाङ बुझ्दैनथ्याँै तैपनि सास रोकेर सुनिरहन्थ्याँै । कविता सकिएपछि थपडी बजाउनुपथ्र्यो– घानमा मकै भुटेझैँ ।
एक दिन मैले र मेरा बालसँगी रामचन्द्रले डराई डराई गुरुज्यूलाई सोधेछौँ– गुरु कविता कसरी लेख्न सकिन्छ ? गुरुले हाम्रो अनुहारतिर एकछिन विस्मयले नियालेर हेर्नुभयो । उहाँका ओठ व्यंग्यले मुस्कुराए । आँखामा व्यंग्यकै चमक थियो । हिन्दीमा भन्नुभयो– अरे कवि बनेगा ? हमीं से कम्पटिसन ? दाल भातका कौर है ? फेरि उहाँले जे भन्नुभयो त्यसको आसय थियो– कुनै निर्जन प्रकृतिको काखमा गई त्यसको सौन्दर्य अवलोकन गर्नुपर्छ । तिमी लट्ठिन्छौ, त्यसमा हराउँछौ । मनमा भावनाका छालहरू उठ्न थाल्छन् । तिनलाई शब्दमा टिप्नुपर्छ । लय मिलाउनुपर्छ । तुक (अनुप्रास) मिलाउनुपर्छ, जस्तै माथिल्लो पंक्तिको अन्त्यमा ‘पानी’ छ भने दोस्रो पंक्तिको अन्त्यमा ‘नानी’ हुनुपर्छ । म (त्यसबेला मेरो नाउँ भोला थियो) र रामचन्द्र तीन बजे भोरमै ओछ्यानबाट सुटुक्क निस्केर, कसैले चाल नपाउने गरी देवी चोकमा भेट्याँै । कतै खस्राङखुसु्रङ सुनियो कि माघको जाडोमा पनि चिटचिट पसिना आउँथ्यो भूत आयो कि भनेर, डरले । तैपनि मुटुलाई दरो पारी बाह्रबिघासम्म पुगियो, जहाँ चितामा केही लाश जल्दै थिए । हाम्रो भयकम्पित अवस्थाको त कल्पना मात्रै गर्न सकिन्छ । लाशबारे केही लेख्न खोज्यौँ, केही फुरेन । आकाशतिर हेर्न थाल्याँै । झन्डै तीन घन्टाको तपस्यापछि बल्ल पूर्वीय आकाशमा सूर्यको बाटुलो, सुनौलो थाल चम्कियो । मेरो मुखबाट बल्ल निस्क्यो– प्रात:समय देखा रविगोला ।
अर्को पंक्ति मरिगए पनि हामीले थप्न सकेनौँ । छ्याङ्ग उज्यालो भइसकेपछि हामी (रामचन्द्र र भोला) निराश भएर घर फर्कियाँै र रुँदै विन्देसर माड्सैबको डेरामा पुग्याँै । उहाँ सहोडाको झिँजो भाँचेर दाँत माझ्दै हुनुहुन्थ्यो । हामीले रुन्चे स्वरमा आफ्नो दुखेसो पोख्यौँ । माड्सैब जोरले खित्का छाडेर हाँस्नुभयो र भन्नुभयो– यसमा दु:खी हुने कुरा के छ ? लौ, तिमीले बोलेको पहिलो पंक्ति भन म दोस्रो पंक्ति हाल्दिन्छु । मैले भनेँ– प्रातसमय देखा रविगोला ।
उहाँले थप्नुभयो– जैसा रामचन्द्र वैसा भोला । हामी गद्गद भयौँ । त्यसपछि त मैले र रामचन्द्रले मिलेर यस्ता मिल्दा अमिल्दा तुकबन्दी कति गर्‍यौँ, कति । पढाइ छाडेर रनवन चहार्ने र मरेका पशुपंछीलाई देखेर म र रामचन्द्र एक अर्कालाई समाती ह्वाँ–ह्वाँ रुने त्यहीबेला थियो । तर, खाँटी कविताचाहिँ आएन ।
सरस्वतीको प्रांगणमा :
काका आफैँले पढाउनुभई मलाई आठ वर्षको उमेरमा एकैचोटि पाँच कक्षामा भर्ना लिइदिनुभयो । रामचन्द्र र मेरो तुकबन्दी चल्दै थियो । त्यसबेला पाँच–पाँच पैसामा कथाका किताबहरू बिक्थे– किस्सा हात्तीमताई, गुलकाबली, अलिबाबा चालीस चोर, सिंहासनबत्तिसी, तोता–मैना.. ।
प्रकाशक– ठाकुर प्रसाद एन्ड कम्पनी, कचौरी गली, बनारस । सस्ता साहित्यबाट छापिएका जीवनीहरू थिए–मोहनदास करमचन्द गान्धी, बुद्ध, महावीर, कार्लमाक्र्स, लियो टल्सटय, डा. राजेन्द्र प्रसाद, जवाहरलाल नेहरू, चर्चिल, रुजवेल्ट, वासिंटन…आदिका । हामी यस्ता किताब पढ्न पाए खान बिर्सन्थ्यौँ । हामी आठौँ कक्षासम्म पुग्दा जनकपुरमा सार्वजनिक पुस्ताकालयको स्थापना भइसकेको थियो । भारतीय राजदूतावासबाट
सहयोगमा चाङका चाङ पुस्तक सहयोगमा आउने गर्थे । हामी परालका कुन्युँभित्र लुकेर कथा, उपन्यास, कविताका पुस्तक पढ्थ्यौँ । प्रेमचन्द, रवीन्द्रनाथ, शरतचन्द्र, इलाचन्द्र जोशी, जयशंकर प्रसाद, दिनकर, महादेवी पन्त, निराला आदिका विश्वविख्यात रचनाहरू हामीले पढ्याँै । देवकीनन्दन खत्री र कुशवाहा कान्तका उपन्यास पढ्ने स्वीकृति बुबाले दिनुभएको थिएन । त्यसैले हामी तिनका सेट झन् लुकेर पढ्थ्याँै– दिनको तीन सय पृष्ठको चन्द्रकान्ता सन्तति, भूतनाथ, इसारा, सौदागर, नीलम, कुमकुम, बसेरा, छैला, परदेशी… । हाइस्कुलसम्म पढेका पुस्तकहरू पछि एमए (हिन्दी) गर्दा उपयोगीसिद्ध भए । मैथिलीका कृतिहरू प्रशस्त पढिए– हरिमोहन झाका मायानन्दका, शैलेन्द्र मोहन झाका । स्कुलमा प्रत्येक महिना कम्तीमा एकपटक सांस्कृतिक गोष्ठीको आयोजना हुने गर्दथ्यो । मैले त्यसमा आफ्ना लघुकथा र कविता लेखेर सुनाउँदा तालीको वर्षा हुन्थ्यो र हौसलाले आकाश छुन खोज्थ्यो । म नवौँ कक्षामा हुँदा (सन् १९६१ मा) जीवनमा पहिलोपटक जब मेरो लघु बालकथा ‘आर्यावर्त’ जस्तो प्रतिष्ठित हिन्दी दैनिकमा प्रकाशित भयो, मेरा खुट्टा भुँइमा थिएनन् । मैले लेखेका रचनाहरू सुनेर साथीहरूसँग बसेर नास्ता गरिरहनुभएका मेरा पिताश्रीले उदास भएर भविष्यवाणी गर्नुभयो– मेरो यो छोरो गरिब हुने भयो । लेखकहरू त खानै नपाई मर्दा रहेछन् ।
मैले क्यासिकल अंग्रेजी उपन्यास थुपै्र पढेको छु । मलाई सेक्सपियर, डब्लु बी यिट्स, टिएस इलियट, जोन किट्स, सेलीहरू साह्रै मनपर्ने साहित्यकार हुन्, जसलाई मैले थुप्रैपटक दोहोर्‍याएर पढेको छु । मैले भर्खरै पढेको हड्सनको ‘अन्डस्ट्र्यान्डिङ कल्चर’ र हनिफ हुसैनको ‘हन्ड्रेड स्ल्पिेन्डिड सन्स’ पढेर सिध्याएँ । मलाई असाध्यै मन परेका विदेशी किताबहरूमा फ्रिड्ज्ट अफ कोब्राको ‘एबिसी अफ फिजिक्स’, ‘द वल्र्ड अफ विज्डम’, राजिब गर्गको ‘वल्र्ड फेमस साइन्टिस्ट’, स्टेफिन हकिङ्सको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’, टोनी मरिसनको ‘बिलभ्डेड’, नोम चोम्स्कीको ‘हेजिमोनी’, सलमान रुस्दीको ‘द सटानिक भर्सेज’ आदि हुन् । नेपाली साहित्यमा नयनराज पाण्डेको ‘उलार’ र ‘लू’, डा. गोविन्दराज भट्टराईको ‘सुकरातको डायरी’, कृष्ण धरावासीको ‘राधा’, महेशविक्रम शाहको ‘छापामारको छोरो’, श्यामलको ‘हतारमा यात्रा’, युग पाठकको ‘उर्गेनको घोडा’मलाई पछिल्लो समय मन परेका किताब हुन् ।
उच्च शिक्षा र चेतनाका नवीन क्षितिज:
म अक्षरलोकमा रमाउने विलक्षण प्राणी थिएँ, क्यारे । भाव सागरमा पौडी खेल्थँे, विचार गंगामा डुब्ने, उत्रिने गर्थें । क्याम्पसमा पढ्दा पनि साथीहरू उति भैदिएनन् । मेरो संगत बोरिङ थियो । कुरा वायवीय र इतरलोकीय थिए । सन् १९६३ सम्म अर्थात् पन्ध्र वर्षको उमेरसम्म पुग्दा पुग्दै उपन्यासहरू लेखिसकेको थिएँ । जुन उपान्यासमध्ये एउटा मैथिली उपन्यास ‘चान अहाँ उदास छी’ को पाण्डुलिपि सुरक्षित छ तर उपन्यास अप्रकाशित नै छ । मेरा कथाहरू हिन्दी र मैथिलीका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुन्थे र चर्चित हुन्थे । यो काल हिन्दी साहित्य, मैथिली साहित्य, नेपाली साहित्य र अंग्रेजी साहित्यको अध्ययनमा अहर्निश आकाण्ठ डुब्ने काल थियो र अहिलेसम्म छ ।
मैले अंग्रेजी, हिन्दी, बंगला, मैथिली, नेपालीका साहित्यिक ग्रन्थहरू (सबै विधाका) मात्रै पढिनँ । दर्शन, संस्कृति, समाजशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञानका अतिरिक्त वेद, पुराणजस्ता ज्ञान विज्ञानका विभिन्न फाँटका ग्रन्थ पनि प्रशस्त पढेँ । जसरी पत्र–पत्र खात–खात मिलेर फूलको सौन्दर्य तिख्रिन्छ, रंगरेखाको अनुपात मिलेर चित्र हाँस्दछ, चरम सत्य पनि ज्ञानको सुन्दर समन्वयबाट प्रकट हुन्छ भन्ने बोधले गर्दा ज्ञानको दुर्दान्त तिर्खाले विषयको सीमा नमानेर लघुजीवन र जीवनेतरका विराट सत्यको खोजी गर्न थालेपछि अतृप्तिमै जीवन रित्तिन थाल्यो । सबभन्दा मूल्यवान् आत्मबोध सत्य ज्ञानको त्यस आयु खण्डमा मात्र प्राप्त हुँदोरहेछ, जब त्यसको उपयोग गर्ने काल कि त समाप्त भइसकेको हुन्छ वा साह्रै कम शेष रहेको हुन्छ ।
मैले कथा लेखेँ, उपन्यास लेखेँ, नाटक लेखेँ, निबन्ध लेखँे, समालोचना लेखेँ, संस्कृतिसम्बन्धी पुस्तक लेखँे, बाल साहित्य लेखेँ, व्याकरण लेखँे, भाषा विज्ञानमा शोधग्रन्थ लेखेँ, गीत, गजल, कविता लेखेँ, प्राचीन ग्रन्थको सम्पादन गरँे, इतिहासिको पुस्तक लेखँे, टेलिसिरियल लेखेँ, अनुवाद गरेँ– दिनरात पढेँ, त्योभन्दा कम लेखेँ र सबभन्दा कम प्रकाशित गरँे । पर्यावरण, संस्कृति, साहित्य, भाषाविज्ञान, राजनीति, कला, शिक्षा, नृवंशशास्त्र एवं समाजशास्त्र, धर्म जस्ता जीवनका अनेकानेक पक्षसित सम्बन्धित विषयमा अग्रलेख लेखेर अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका गोष्ठीहरूमा प्रस्तुत गरँे । मेरा अनुभूतिका सत्यहरू मेरा सिर्जनामा बोल्दछन् । यी समयका दस्ताबेज हुन् ।
‘समयका आँखा’मा चियाउँदा :
भर्खरै मेरो नयाँ कथासंग्रह ‘समयका आँखा’ प्रकाशनमा आएको छ । विडम्बना, विसंगति र बिन्दुपताले भरिएको पारिवारिक, सामाजिक र राजनीतिक अवस्था तथा व्यवस्थाले मानवीय मूल्यमा आघात गर्दै व्यक्ति जीवनमा थप्दै जाने अवसादको अनुभूतिले रन्थनिएर म कथा लेख्न बाध्य हुन्छु । त्यसैले मेरो प्रत्येक कथा आफ्नै वरिपरि घट्ने घटनाहरूले मेरो भाव जगत्मा ल्याएको उद्वेलन र औडाहाबाट तात्कालिक विश्रान्ती पाउने बाध्यात्मक, शाब्दिक प्रयास हो । यी सबै मेरै जीवनका सत्य कथा पनि हुन्, समकालीन परिस्थितिका साक्षीकथा पनि हुन् । ‘ऐँजेरु’, ‘रक्तकमलको देशमा’, ‘लंकाकाण्ड,’ मधेस आन्दोलनको पीडाबाट उब्जिए । संग्रहका ‘मूषकोपाख्यान,’ ‘बौलाहा घण्टा,’ ‘यक्षप्रश्न,’ ‘खलास’ समकालीन राजनीतिक व्यंग्य कथा हुन् । ‘धृतराष्ट्र मर्दैन,’ ‘घर’, ‘बाँस,’ ‘चरा बोल्छ’ले पारिवारिक विघटनका पीडा समेट्छन् । ‘तृष्णा’ यौन मनोविज्ञानमा आधारित छ भने ‘पुरस्कार’ कथाले लेखकको रचनाले पाठकलाई दिने प्रभाव र अनुभूति नै उसको पुरस्कार हो भन्ने सन्देश दिएको छ ।
असंख्य–असंख्य प्रश्नहरू अझै मेरो मानस लोकमा सलबलाउँदै छन् र असंख्य–असंख्य कथाहरू जन्मिन तँछाड मछाड गर्दै छन् । एउटा जब्बर प्रश्न छ– के नेपाल एउटै देश हो अथवा यो एक देशभित्र अनेक देश (राष्ट्रियताको अर्थमा होइन) को साझा नाउँ हो ? ताप्लेजुङ र दरभंगाको फुटबल म्याच हुँदा दरभंगाले जितेपछि जनकपुरवासी खुसी हुने र ताप्लेजुङले जिते दु:खी हुने, दार्जिलिङ र जनकपुरको म्याच हँुदा दार्जिलिङले जित्दा इलाम उफ्रिने र जनकपुरले जित्दा शोक मनाउने तिब्बत र चितवनको म्याच हुँदा तिब्बतले जित्दा लोमान्थाङ गाउँ खुसी हुने र चितवनले जित्दा दु:खी हुने, काठमाडौं र पाकिस्तानको म्याच हुँदा पाकिस्तानले जित्दा नेपालगन्जका मुसलमान खुसी हुने र काठमाडौंले जित्दा उदास हुने अवस्था छ भने नेपाललाई एउटा अखण्ड देश भन्ने अवस्था कहिलेसम्म रहनेछ ? एउटै सहरका नागरिकमध्ये एउटा जामात अखण्ड सुदूरपश्चिमको माग राख्दै नारा जुलुस गर्ने, अर्कोथरी थरुवानका लागि काटाकाट गर्ने, त्यसै सहरको अर्को समूहले ‘एक मधेस एक प्रदेश’को झन्डा बोकेर रडाको मच्याउने दृश्य देख्ता आ–आफैँमा हानाहान गर्ने यी नेपालीहरूले राज्य मागेका हुन् वा आ–आफ्ना छुट्टा—छुट्टै देश ? के संघीयताको उद्देश्य बलियो राष्ट्रको निर्माण होइन ? नुन, मट्टितेल र पेट्रोल–डिजल भारतबाट मगाएझँै अब के नेता पनि बाहिरबाट मगाउनु पर्ला ? प्रो.ले मात्र प्रोफेसर र प्रोपराइटर जस्ता अर्थ बुझाउँथ्यो तर प्रो.इन्डियन, प्रो. चाइनिज, प्रो. अमेरिकनजस्ता पदमा प्रो. ले अर्कै अर्थ दिन थाल्यो । यी विशेषणवाची शब्द कमसे कम नेता वा मिडिया हाउसका लागि नलागे हुन्थ्यो ।
परिवारदेखि विश्व—ब्रह्माण्डका समस्यालाई समेट्ने यस्ता असंख्य यक्ष प्रश्नले मलाई हुँडल्छन् र त्यसैले म बाँचुञ्जेल कथा लेखनको क्रम चलिरहने खतरा छ । अहिलेसम्म त आफ्नो अक्षर–यात्रामा दुई–चार हलुका पाइला मात्र चालेको छु जस्तो लाग्दछ ।

प्रतिक्रिया