भ्याली पब्लिक र हिम्सको विजयी सुरुआत

काठमाडौं, ६ भदौ । आयोजक भ्याली पब्लिक र हिमालय इन्टरनेसनल मोडल हायर सेकेन्डरी स्कुल (हिम्स) ले सातौँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वायजतर्फ मंगलबार विजयी सुरुआत गरेका छन् । सुन्दरबस्तीस्थित आयोजकको कोर्टमा भएको उद्घाटन खेलमा भ्याली पब्लिकले सप्तगण्डकीलाई २३–१२ ले पराजित गर्‍यो । विजेताका श्रवण चौधरी र सौरव शाहले समान ८–८ अंक जोडे । छिरिङ शेर्पाको ११ अंक सहयोगमा हिम्सले सिद्धार्थ वनस्थलीमाथि २९–२० को जित निकाल्यो ।

ब्वायजकै अन्य खेलमा काठमाडौं भ्याली स्कुल (केभिएस) ले युनिभर्सललाई ४८–८ तथा टिआइएले एन्जल लर्डलाई ३३–३१ ले पन्छाए । केभिएसका आङछिरिङ शेर्पाले २१ तथा टिआइएका सौगात सिंह र केसाङ ठकुरीले ९–९ स्कोर गरे ।
त्यस्तै माउन्ट कैलाशले यङहर्टलाई ४०–२३, बाबाले गोल्डेनपिकलाई ३२–१८ तथा भद्रकालीले ब्रिटिस गोर्खालाई १४–११ ले निराश पारे । विजेता माउन्ट कैलाशका निङमा सोनामले १५, बाबाका राहुल शेर्पाले १२ तथा भद्रकालीका रूपेश खत्रीले ९ स्कोर गरे । गल्र्सतर्फ भ्याली पब्लिक, टिआइए र केभिएसले पनि जितको यात्रा प्रारम्भ गरेका छन् ।
भ्याली पब्लिकले वाग्मतीलाई २९–२२ ले पाखा लगायो । विजयी टिमका जेनिशा गुरुङ र सोनिया लिम्बूले ११–११ अंक जोडे । टिआइएले सिद्धार्थ वनस्थलीमाथि २१–१२ को जित प्राप्त गर्‍यो । विजेताका आकृति गुरुङ र रिया थापाले ८–८ अंक बटुले । अनुपा आइडीको ४ अंक मद्दतले केभिएसले थर्ड आईलाई २०–८ ले पराजित गर्‍यो ।
प्रतियोगिताको आयोजक विद्यालय व्यवस्थापनका अध्यक्ष लीलबहादुर गुरुङ र एलाइड ट्रेड लिंक प्रालिका प्रबन्ध निर्देशक मनीष राजभण्डारीले संयुक्तरूपमा उद्घाटन गरेका थिए । सो अवसरमा आयोजकका संस्थापक प्राचार्य कृष्णप्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो । १९ भदौसम्म सञ्चालन हुने प्रतियोगिताको ब्वायजमा ४० तथा गल्र्समा २४ गरी ६४ टिम सहभागी छन् ।

प्रतिक्रिया